गठबन्धनमा टिकटकाे किचलाे बढ्दाे

असाेज २५, काठमाडौँ । प्रमुख वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनाेट गर्न हम्मे हम्मे पर्न थालेकाे छ । तालमेल हुँदै पार्टी एकतासम्म गर्ने घोषणा गरेका प्रमुख वामपन्थी दलहरू उम्मेदवार छनौट गर्न सकिरहेका छैनन् । चुनावी तालमेल र एकताको घोषणा गरेको एक साता भन्दा बढी भइसक्दा समेत दलहरुलार्इ उम्मेदवार चयन गर्न सकस परिरहेकाे छ । उम्मेदवारका आकाक्षी धेरै भएकोले व्यवस्थापनमा कठिनाइ परेको दलका नेताहरू बताउँछन् ।

एमाले माओवादी र नयाँ शक्तिका नेता रहेको उम्मेदवार चयनसम्बन्धी कार्यदलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । जबकि दुई पार्टीका अध्यक्षले तीन दिन भित्र उम्मेदवारी टुंगो लगाउन शुक्रवार कार्यदललाई निर्देशन दिएका थिए । गठबन्धनमा सहभागी नयाँ शक्ति र हृदयश त्रिपाठीसहितका नेतालाई क्षेत्र छुट्याएपछि बाँकी रहेको क्षेत्रमा माओवादीले ४० र एमालेले ६० लिनेसहमति भएको थियो । तर, त्यसलाई व्यवस्थापन गर्न दुई दललाई समस्या परेको छ ।

चुनावी तालमेलका लागि सिट बाँडफाँड गर्दा ०७० सालको चुनाव र स्थानीय तहमा पाएको मतलाई आधार मान्ने सहमति भएको छ । माओवादी केन्द्र र एमालेबीच भएको सहमति अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ९९ र माओवादी केन्द्रले ६६ सिट पाउनेछन् । तर, नयाँ शक्ति र हृदयश त्रिपाठीसहितका नेतालाई पनि सिट दिनु पर्ने छ । जसअनुसार ती दलले १२ सिटको दाबी गरेका छन् जुन माओवादी र एमालेको ६०/४० बाट घट्ने छ ।

एमाले र माओवादी केन्द्रले उम्मेदवार चयनमा आ–आफ्नो दाबी पेस गरिरहेका छन् । प्रदेश नम्बर १ मा रहेको २८ सिट मध्ये माओवादीले ८ सिटको दाबी गरेको छ । तर, स्थानीय तहमा उसले प्राप्त गरेको आधारमा बढीमा ४ सिट दिन सकिने एमाले नेताले बताएका छन् ।

प्रदेश नम्बर दुईमा एमाले भन्दा माओवादी केन्द्रले स्थानीय तहका बढी क्षेत्रमा जीत निकालेकाे छ । त्यसका कारण दुई नम्बर प्रदेशमा उसले धेरै क्षेत्रमा दाबी गरेको छ । ३२ क्षेत्रमध्ये माओवादीले १७ सिटको दाबी गरेको एक एमाले नेताले बताए ।

प्रदेश नम्बर तीनमा एमालेले स्थानीय तहको चुनावमा राम्रो नतिजा निकालेको थियो । त्यस कारण तीन नम्बर प्रदेशमा एमालेले धेरै स्थान गुमाउन चाहेको छैन । राजधानी काठमाडौँ सहित प्रभाव क्षेत्रहरू समेत रहेका कारण माओवादी केन्द्र र एमाले दुवैले तीन नम्बर प्रदेशमा विशेष ध्यान दिएका छन् ।

प्रदेश नम्बर तीन अन्तर्गतका ३३ निर्वाचन क्षेत्र मध्ये १२ सिटको दाबी गरेको छ । तर, एमाले भने स्थानीय तहमा पाएको मतलाई आधार मान्दै १० स्थानीय तहभन्दा धेरै दिन नसकिने विषयमा छलफलमा छ । एमालेका एक नेताका अनुसार माओवादी प्रभाव क्षेत्रहरूमा एमालेले पाउने आधारलाई मान्ने हो भने तीन नम्बर प्रदेशमा माओवादीले १२ सिट पाउन सक्छ । १६ सिट रहेको प्रदेश नम्बर ४ मा एमालेले १२ सिटको दाबी गरेको छ भने माओवादीले ७ सिटमा दाबी गरेको छ ।

पाँच नम्बर प्रदेशमा रहेको २२ सिट मध्ये एमाले १५ सिटमा दाबी गरेको छ । १२ सिट रहेको प्रदेश नम्बर ६ मा एमाले र माओवादी केन्द्रले स्थानीय तहमा बराबर जस्तो जीत निकालेका छन् । जसका कारण दुवै दलले बराबर पाउने सम्भावना छ । प्रदेश नम्बर ७ मा माओवादीले ६ सिटमा दाबी गरेको छ । कुल १६ सिट रहेको ७ नम्बरमा माओवादीको अवस्था कमजोर रहेको भन्दै एमालले धेरै दिन नसकिने बताएको छ ।

प्रतिनिधिसभाको लागि उम्मेदवार चयनमा व्यस्त रहेको दलहरूले मुख्यमन्त्री विषयमा पनि छलफल सुरु गरेका छन् । ७ प्रदेशमध्ये माओवादी केन्द्रले तीन प्रदेशमा दाबी गरेको छ भने एमालेले ४ प्रदेश पाउने गरी छलफल सुरु भएको छ । तेस्रो चरण अन्तर्गत दुई नम्बर प्रदेशमा भएको चुनावमा एमाले भन्दा माओवादी केन्द्र अगाडि भएपछि माओवादीले दुई नम्बर प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ जसमा एमाले पनि सकारात्मक छ । माओवादी केन्द्रले ५ नम्बर प्रदेशमा र ६ नम्बरमा मुख्यमन्त्रीमा दाबी गरेको छ । तर, एमालेले ५ नम्बर प्रदेशमा सहमति जनाउन नसक्ने एमालेका एक नेताले बताए ।

मुख्य मन्त्रीको रूपमा दलहरूले हेभी वेटका उम्मेदवारलाई नउठाने अवस्था बनेको छ । अधिकांश शीर्ष नेता प्रतिनिधिसभा तर्फ केन्द्रित भएका छन् । प्रतिनिधिसभालाई माथिल्लो र प्रदेश सभालाई तल्लो तह मान्ने मानसिकताका कारण नेताहरू प्रदेश सभामा जान चाहेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =