नवलपरासीमा फरक शैलीले मतदाता रिझाउदै

नवलपरासी । दोस्रो चरणको स्थानिय चुनाव नजिकिदै जादा उम्मेदवारहरू मतदाता रिजाउन लागिपरेका छन् । नवलपरासीमा त झन् फरक शैलीमा उम्मेदवार मत माग्न व्यस्त भएका देखिन्छन् । घरदेखि किसानले काम गर्ने खेतमा गएर पनि मतदाता रिझाउन उम्मेदवार पछि परेका छैनन् । आजभोलि खेती गर्ने याम सुरु भएकाले उम्मेदवारहरू खेतमा गएर किसानको काममा सघाउ पु¥याउन लागिपरेका छन् । यसैगरी, नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार नरेन्द्रकुमार गुप्ताले फरक शैलीमा मतदाता रिझाउन लागेका छन् । खेतमा तयार भएको धानको बीउ काढ्न व्यस्त किसानसँगै पुगेका उम्मेदवार गुप्ता खेतमा पुगेर केही समय किसानलाई बीउ काढेर सहयोग गरि मत माग्न व्यस्त देखिन्छन् । गुप्ता त एक प्रतिनिधी पात्र मात्र हुन्, अन्य उम्मेदवारहरू पनि किसानलाई रिझाउन यस्तै तरिका अपनाइरहेका छन् ।

दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ५ यतिबेला निर्वाचनमय बन्दै गएको छ । नवलपरासीमा पहिलो चरणमा निर्वाचन भई बाँकी रहेको प्रदेश नं ५ अन्तर्गतका सातवटा स्थानीय तहमा निर्वाचन माहोल तातेको हो । करिब १९ वर्षपछि हुन लागेको निर्वाचनका लागि जिल्लामा क्रियाशील ठूलादेखि साना दल सम्मका उम्मेदवार आफ्नो पक्षमा मतदाता रिझाउन लागिपरेका हुन् । यद्यपि, सो निर्वाचनमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी राजपाले भने भाग लिएको छैन । विशेषगरी नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र०, राप्रपा, नेकपा माले र मधेस केन्द्रीत दलमध्ये नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति, मधेस तराई फोरम लगायतका दल चुनावी अभियानमा छन् । विभिन्न सभा, जुलुस, घरदैलो लगायतका प्रचार प्रसारमुखी कार्यक्रममार्फत सबैजसो राजनीतिक दलका नेता तथा कार्यकर्ता मतदातालाई रिझाउन घरदैलोमा पुुगेका छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन लागेको नवलपरासीका सातवटा स्थानीय तहमध्ये तीन नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् । सबैजस्तो स्थानमा ठूला शीर्ष राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमबीच प्रतिस्पर्धा हुने अवस्था छ ।

प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहमध्ये तीन नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् । नगरपालिकातर्फ रामग्राम, सुनवल र वर्दघाट र गाउँपालिकातर्फ पाल्हिनन्दन, सरावल, प्रतापपुर र सुस्तामा दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।  प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहमा कुल एकलाख ८३ हजार १३ मतदाता संख्या रहेका छन् जसमध्ये ९३ हजार १७७ पुरुष, ९९ हजार ८३१ महिला र पाँचजना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =