डा केसी अदालतमा उपस्थित, वहस आजै !

काठमाडौं, पुस २६ । अदालतको अवहेलना अभियोग लागेका प्रा डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । मंगलबार इजलासमै बयानपछि वीर अस्पतालमा भर्ना भएका उनलाई त्यहाँबाट सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । उनले इजलासमा आफ्नो कुरा राखेपछि बहस सुरु हुने बताइएको छ ।

डा केसीको सुनुवाइ आज हुने भएपछि अदालतबाट आदेश के आउँछ भन्ने निकै चासो देखिन्छ । अदालतको अवहेलनाअन्तर्गत एक वर्ष जेल सजाय वा रु १० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।

उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ । केसीले इजलासमा आफ्नो कुरा राख्ने समेत बताइएको छ ।

यसअघि सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा केसीसँग मंगलबार पनि बयान लिएको थियो । बयान लिँदालिँदै अदालतको समय सकिएपछि सुनुवाइ आजका लागि तय भएको छ ।

डा केसीले हिजो अवहेलना मुद्दामा सात पेज बयान दिएका थिए । केसीको पक्षमा वरिष्ठ अधिवक्ताहरु कृष्ण भण्डारी, दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, ओम अर्याल, लेखनाथ पौडेललगायतले बहस गर्ने बताइएको छ ।

मंगलबार बयान सकेपछि सुनुवाइका लागि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा तोकिएको थियो । तर बयान सक्दा नै समय सकिएको हुनाले सुनुवाइ हुन नसकेको हो ।

अमेरिकाबाट केसीप्रति ऐक्यबद्धता
डा. गोबिन्द केसीको अभियानमा अमेरिकामा रहेका नेपालीहरुले समेत ऐक्यवद्धता प्रकट गरेका छन् । भ्रष्ट्राचार बिरुद्ध बिभिन्न अभियानहरु चलाउँदै आएको संस्था हेम सरिता पाठक फाउण्डेशनले पक्राउ परेका डा. केसीप्रति ऐक्यवद्धता जनाएको छ । अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार अन्त्यका लागि बिभिन्न कार्यहरु गर्दै आएको फाउण्डेशनले सोमबार एक बिज्ञप्ती जारी गर्दै डाक्टर केसीलाई तत्काल रिहाई गर्न माग समेत गरेको छ ।

फाउण्डेशनले जारी गरेको बिज्ञप्तीका अनुसार अदालतप्रति आफुहरुको पनि उच्च सम्मान रहेको र हरेक नागरिकले अदालतको सम्मान गर्नु उसको दायित्व भएको भए पनि जब कोहि ब्यक्तीले अदालतमा रहेर खराब कार्य गर्न खोज्दछ भने उस प्रति औंला ठड्याउनु पनि सचेत नागरिकको दायित्व भएको समेत जनाइएको छ ।
नेपालमा लाखौं मुद्धाहरु लाईनमा भएको बेला गोबिन्द केसीको मुद्धा भने नाटकिय रुपमा अगाडि बढाईएकोमा पनि फाउण्डेशनले आश्चर्य प्रकट समेत गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =