बम विस्फोट गराउनेलाई कारबाही कहिले ?

विद्यानाथ अधिकारी

केही दिन यता उम्मेदवार लक्षित बम विस्फोट लगायतका हिंसात्मक घटना अब सर्वसाधारण नागरिकको हत्यामा परिणत हुन थालेको छ । निर्वाचन बिथोल्ने उद्धेश्यले जनमानसमा आतङ्क सृजना गर्नकै लागि गरिएका बम विस्फोटले नागरिकलाई अंगभंग बनाउनुका साथै ज्यानै समेत लिन थालेको छ । मङ्गलवार दाङको तुलसीपुरमा बम विस्फोट घटनामा परी गम्भीर घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भयो । दाङ तुलसीपुर–१२ का २३ वर्षीय म्यादी प्रहरी चौधरीको बुधवार उपचार गर्दागर्दै मृत्यु भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शीर्ष नेता दाङको तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्न आएको बेला बम विस्फोट गराइएको थियो । बम विस्फोटमा म्यादी प्रहरीसहित आठ जना घाइते भएका थिए ।

लगातार बम विस्फोट लगायतका घटना हुँदा समेत सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । अहिले गृहमन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले लिएका छन् । उनको कार्यकुशलताको कमी र    नालायकीपनका कारण राज्यले शान्तिशुरक्षा कायम गर्न चुकेको छ ।                                                                    

यस्तै, बुधवार उदयपुरमा बम विस्फोट हुँदा उम्मेदवारसहित सात जना घाइते भएका छन् । उदयपुरगढी नगरपालिका–६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का काँग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका हुन् । कार्कीसँगै अन्य दुई जना गम्भीर घाइते भएका छन् भने चार जना सामान्य घाइते भएका छन् । कार्की निवर्तमान सांसद समेत हुन् । २०७० को चुनावमा विजयी भएपछि उनी सांसद बनेका थिए ।

पछिल्लो समय देशका विभिन्न भागमा बम विस्फोट लगायतका हिंसात्मक घटनाहरू दोहोरिरहेका छन् । पहिलो चरणको निर्वाचन आउन भन्दा केही दिन अघि देखिनै आतङ्कको वातावरण सृजना गरिएको छ । उम्मेदवारहरुलाई लक्षित गरी बम विस्फोट लगायतका घटनाहरू लगातार भइरहेका छन् । यस्ता घटना शीर्ष नेतादेखि सबै दलका उम्मेदवारहरु विरुद्धसमेत लक्षित छ ।

विस्फोटबाट सर्वसाधारण नागरिक नै मारमा परेका छन् । विस्फोटको श्रृंखला सुरु भएदेखि अहिलेसम्म एक जनाको ज्यान गएको छ भने दर्जनौं नागरिक घाइते भएका छन् । मारिएका म्यादी प्रहरी बेरोजगारको चपेटामा परेर एक–दुई महिनाका लागि मात्रै भए पनि जागिर खान म्यादीमा भर्ना भएका सामान्य युवा हुन् । उनी जस्ता सर्वसाधारणमाथि आक्रमण गरेर कसैको राजनीतिक उद्धेश्य पुरा हुन सक्दैन । पछिल्ला केही वर्षयता सर्वसाधारमाथि आक्रमण गरेर आफ्नो लक्ष्य पुरा भएको ठान्ने अनौठो संस्कार विकास हुँदै गएको छ ।

पहिलो चरणको निर्वाचनका क्रम सुरु भएदेखि नै देशका विभिन्न भागमा बम विस्फोट गराइयो । गत कार्तिक २३ गते रोल्पामा माओवादी नेता वर्षमान पुनमाथि आक्रमणबाट सुरु भएको उम्मेदवार लक्षित आक्रमण काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि एमाले अध्यक्ष केपी ओलीमाथि सम्म आक्रमण भएको छ । अझ मङ्गलवार त प्रधानमन्त्री उपस्थित कार्यक्रममै विस्फोट गराइयो । निर्वाचनकै दिनमा पनि धादिङ, बझाङ, जाजरकोट, नुवाकोट, दार्चुला, बुटवल रोल्पा, दोलखा, कपिलवस्तु, बागलुङ, ताप्लेजुङ लगायतका स्थानमा भेटिएको बमलाई सुरक्षाकर्मीले निस्क्रिय पारेका थिए ।

यसरी लगातार बम विस्फोट लगायतका घटना हुँदा समेत सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । अहिले गृहमन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले लिएका छन् । उनको कार्यकुशलताको कमी र नालायकीपनका कारण राज्यले शान्तिशुरक्षा कायम गर्न चुकेको छ ।

लगातार आतंककारी क्रियाकलाप भइरहँदा समेत गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री निरिह देखिएका छन् । उनको यही निरिहपनले गर्दा सर्वसाधारणले ज्यान गुमाउनुपर्ने र अंगभंग हुनुपर्ने अवस्था आएको छ । मान्छे मर्दा र उम्मेदवार घाइते हुँदा समेत राज्यले यस्ता आतंकपुर्ण गतिविधि गर्नेहरुको पहिचान गर्न सकेको छैन । यी घटनाको छानबिन समेत गरिएको छैन ।

उम्मेदवार र सर्वसाधारणमाथि आतङ्क सृजना गर्ने समूहमाथि राज्यले कडा व्यवहार अपनाउन सक्नुपर्छ । उनीहरूलाई राज्यले दिएको एक प्रकारको छुटको सुविधाका कारण यस्ता घटना लगातार बढीरहेका छन् । यही ढङ्गले राज्यले छुट दिँदै जाने हो भने आगामी मङ्सिर २१ गतेको निर्वाचन थप हिंश्रक बन्न सक्छ । सर्वसाधारणको जीउ धनको सुरक्षा सँधैको चुनौती बन्न सक्छ । यसप्रकारका व्यवहारलाई समयमै नियन्त्रण गर्न सक्नुपर्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =