सावधान ! दसैंमा रोग हेरेर मासु खाउँ

नेपालीहरूको घरआँगनमा दसैँले पाइला टेकिसकेको छ । दसैँ भन्ने बित्तिकै हामीहरू खानपान, मनोरञ्जन र टिका जमरालाई लिन्छौं । त्यसमा पनि खानपानमा हामी अत्याधिक रुचि राख्छौं । हामी कहाँ हरेक महिना कुनै न कुनै चाडपर्व भित्रने गर्दछ । तर, वर्ष दिनमा आँने दसैँ तिहारको रौनक भने अर्कै हुन्छ । दसैँ भन्नासाथ मासुका विभिन्न परिकार खाने प्रचलन छ ।

हुन त अहिलेको समय पहिले जस्तो छैन । पहिले मासु खान दसैँ नै कुर्नुपर्दथ्यो तर अहिले धेरैजसो मानिसको भान्सामा दिनहुँजसो मासु पाक्छ । यति हुँदा हुँदै पनि अरू बेलाभन्दा दसैँमा मासुको विभिन्न परिकार बनाएर खाने चलन छ ।

मानिसहरू पनि दसैँ नै हो भनेर खानसक्ने गरी मासु खान्छन् । दसैँमा विशेषगरी रातो मासु पाक्ने भएकाले जतिसक्दो खाँदा स्वस्थ मानिसलाई नै असर पुग्छ भने रोगीलाई थप असर गर्दछ । तसर्थ, आफ्नो रोगको प्रकृति हेरेर कति मासु खान मिल्छ, त्यो बुझेर खाएमा स्वास्थ्यमा प्रतिकूल असर पर्दैन ।

– स्वस्थ मानिसले दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ ।
– कोलेस्ट्रोल भएका मानिसले बोसो नभएको मासु खानुपर्छ ।
– कोलेस्ट्रोलका रोगीले खसीको मासुको साटो ह्वाइट मिट नतारीकन थोरै तेल हालेर पकाएर खाँदा फाइदाजनक हुन्छ ।
– यदि रातो मासु खाएपनि त्यो छाला र बोसोरहित हुनुपर्छ ।
– दसैँमा धेरैको घरघरमा खसी काट्ने भएकाले आन्द्रा, भुँडी, कलेजोदेखि सबै भाग खाइन्छ । खसीको मासुमा चिल्लोको मात्रा धेरै हुने भएकाले भरसक कम खाँदा नै राम्रो । सकेसम्म ग्रेभी मासु खानुहुँदैन ।
– मोटापना भएका व्यक्तिले एकदिनमा मासुको ३-४ पिसमात्र मासु खान मिल्छ ।
– दसैँमा टन्न मासु खाने र बसीबसी तास खेल्ने हाम्रो बानी स्वास्थ्यको दृष्टिकोणले निकै घातक हो । मासु खाने र यसका साथै शारीरिक व्यायाम गर्ने गर्नुपर्छ ।
– यदि रक्तअल्पत्ता छ भने कलेजो खाँदा फाइदा हुन्छ ।
– युरिक एसिड भएका मानिसहरूले रातो मासुको साटो माछा खानु लाभदायक मानिन्छ ।
– ग्याष्ट्रिक्सका बिरामीले तारेको, पोलेको मासुभन्दा पनि नुन, पानी, जिरा, लसुन, अदुवा हालेको मासु खानु बेस हुन्छ ।
– मधुमेहका बिरामीले समय समयमा खाना खानुपर्ने भएकाले दसैँको बेला पूजाआजा तथा पकाउने कुरामा व्यस्त भए पनि बेलाबेलामा खानेकुरा खानुपर्छ । दूध, फलफुल तथा चिनी नहालेको कालो चिया खाइरहनुपर्छ । मधुमेहका रोगीले पनि भरसक रातो मासु नखाँदा नै राम्रो । मासुबाहेक दाल, गेडागुडी, पनिर, दूध, दही, तोफु खादि खाँदा राम्रो ।
नानी शोभा शाक्य (डाइटिसियन, त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्ज)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =