यी तिन चरण पूरा गरी सुहागरातलार्इ यसरी बनाउनुहोस रोमान्चक

एजेन्सी । उमेर पुगेका किशोरकिशोरी, तरुणातरुणीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद् र आशंकापूर्ण दुवै हुन्छ । यसबारेमा वयस्क स्त्रीपुरुषका साथीसंगिनीसँग पहिलेदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ तर पहिलो सम्भोग र सुहागरातको कल्पना जति मिठो हुन्छ, यथार्थ त्यसभन्दा धेरै फरक भएको भनाइ सुन्नुपरेको मेरो अनुभव छ ।
जुन अनुभव परस्परमा बराबरी बाँडेर भोग गरिन्छ त्यो सम्भोग हो । यौनसम्पर्क स्थापित हुँदा दुवै पक्षको समान सहभागिता र परस्पर यौन सुखद् आदानप्रदान हुने हुनाले ‘सम्भोग’ भन्नेबित्तिकै यौनसम्पर्क भन्ने बुझिन्छ र यो शब्द पनि त्यही अवस्था बुझाउन प्रयोग हुन्छ । ‘सुहागरात’ हिन्दीबाट नेपाली आयातीत शब्द हो । ‘मधुरात्रि’ चाहिँ अङ्ग्रेजी शब्द ‘हनीमून’ को ठाडो अनुवाद हो ।

पहिलो रात त परिचयको रात हो । प्रेमविववाह नै भए पनि नारी आफ्नो परिवार छाडेर पुरुषका घरमा पहिलो पटक आफ्नो ठाउँ लिन आउँछे । त्यस बेला आफ्नो हैसियतसहितको त्यहाँको वातावरणसँग ऊ अनभिज्ञ हुने हुँदा पुरुषले एकान्त भेट हुनेबित्तिकै सहजभावले सन्चो बिसन्चो र थकाइको भलाकुसारीपछि पारिवारिक वातावरण र सदस्यहरूका बारेमा बताउनुपर्छ । साथै, उसले आफ्नो परिवार र जीवनमा उसको आगमनलाई अत्यन्त उत्साहित मनले स्वागत गर्नुपर्छ । त्यसपछि उसले आफ्नी सुशील र सुन्दरी नवविवाहिता स्त्रीले आफूलाई पतिका रूपमा ग्रहण गरेकोमा कृतज्ञता व्यक्त गर्नुपर्छ ।
आफ्नो परिवारको परिचय दिएर पत्नीलाई परिवारमा स्वागतका कुरा गर्दा र आफूलाई पतिका रूपमा स्वीकार गरेकोमा कृतज्ञता जनाउँदा नारीको संकोच र आशंका भरोसामा परिणत हुन्छ ।
यस समयमा पुरुषले यौनसम्पर्कका लागि हतार नगरी सहज वातावरण बनाउनपट्टि लाग्दा उसले जीवनसाथीको विश्वास र सम्मान जित्छ । जुन दाम्पत्य जीवनमा आवश्यक दीर्घकालिक अनौपचारिक सम्बन्धको सिर्जना र विकासका लागि पनि सहयोगी हुन्छ । यसपछि उसको थकाइ र यस घरमा नयाँपनका कारणले धेरै दबाब नदिई दुवैको सुविधामा एकअर्काका जीवनका अनुभव साट्दै प्रथम रात्रिको आशंका र द्विविधापूर्ण भेटको अन्त्य भयो भने पुरुषलाई मानसिक कुमारीत्व समर्पणको अमूल्य उपहार प्राप्त हुन्छ ।
सुहागरातलाई एकदिने कर्मकाण्डभन्दा दाम्पत्य जीवनको उद्घाटनको समयमा हुने विशिष्ट मानसिकताको समुचित व्यवस्थापन गर्ने समयका रूपमा लिने हो भने यसमा सहभागी स्त्रीपुरुषहरूको मानसिक अवस्थालाई तीन चरणमा बाँडेर अध्ययन गर्नु राम्रो हुन्छ– आश्वासन, मित्रता र यौनसम्पर्क । अर्काे कुरो, पहिलो परिचयबाहेक अरू दुई चरणको तालिका र समयसीमा तोक्ने जिम्मा वयस्क दुलाहादुलहीलाई नै दिनुपर्छ । पहिलो रात्रिको संवादले र त्यसपछि पाइने शारीरिक विश्रामले दम्पतीलाई मानसिक र शारीरिक रूपमा पनि ताजा बनाउँदै एकअर्काप्रति आश्वस्त पार्छ ।
त्यसपछि दोस्रो चरण सुरु हुन्छ– मैत्रीभावको चरण । यसमा दम्पतीका बिचमा खुलेर दोहोरो संवाद हुन्छ । एक अर्काको अतीत र वर्तमानसमेत खोतल्ने कोसिस हुन सक्छ । ख्यालठट्टाको आदानप्रदान पनि हुन सक्छ । जति बोले पनि बोल्ने कुरा चाङ लगाएर बाँकी बसेजस्तो लाग्छ । पुरुषको जन्मजात स्वभावले गर्दा उसलाई नारीले थाहा नपाएको जस्तो लाग्नेबित्तिकै आफ्ना आँखाका तराजुमा पत्नीको शारीरिक नापतौल गर्न रोक्दैन तर पत्नीका मनमा भने शारीरिक पक्षले अझै प्राथमिकता सूचीमा ठाउँ पाएको हुँदैन ।
ऊ विश्वासको आधार पत्ता लगाउने काममै व्यस्त हुन्छे, ऊ नापतौलमै मस्त हुन्छ । ऊ दिगो आश्वासन खोज्छे, ऊ छिटो उड्न खोज्छ । यी दुवै खोजको बिचबाट तात्कालिक समझदारीको बुँदा जन्मन्छ– त्यो हो मित्रवत् सम्बन्धको समझदारी ।
पुरुषस्त्री बिचका सबै प्रणय सम्बन्धहरू परिचयबाट मित्रताको बाटो हुँदै यथार्थ यौन सम्बन्धसम्म पुग्छन् । सुहागरात र अन्य सबै किसिमबाट विवाहअघि स्थापित हुन सक्ने सम्भोगका बेलाको मनः स्थितिमा सामान्यतया के फरक हुन्छ भने सुहागरातमा प्रक्रिया पूरा गर्नेको आग्रहभन्दा प्रक्रियाको महत्त्व बलियो हुन्छ, जसले गर्दा आग्रहलाई प्रक्रियाले अगाडि तान्नुपर्छ । त्यसैले प्रक्रियालाई फास्ट फरवार्ड गरिएको भिडियो वा सिडी प्लेयरजस्तो गरी अघि बढ्न दिनु हुँदैन । अरू अवस्थामा विवाह अघि स्थापित हुन सक्ने यौन सम्बन्धमा तुलनात्मक रूपमा आग्रह अघि बसेर प्रक्रियालाई फास्ट फरवार्ड गरिएको सीडी प्लेयरजस्तो गरी तान्छ ।
अरू अवस्थामा स्थापित हुने प्रथम यौन सम्बन्धमा जस्तो स्वतन्त्र हरिणीको चालको अल्लारेपनको रोमान्सको सट्टा सुहागरातमा स्थापित हुने यौन सम्बन्धमा हस्तिनीको जस्तो ओजपूर्ण लचकता हुनुपर्छ । यसबेला ‘सुनको फुल पार्ने कुखुरीलाई एकैदिनमा काटेर खानुभन्दा हुर्काएर राख्नु’ उपयुक्त हुने उक्तिलाई सामान्य मान्छेको बुद्धिले पनि गम्भीरताका साथ आत्मसात् गर्नैपर्छ ।
सुहागरातको तेस्रो र अन्तिम चरण ‘प्रणय निवेदन र स्वीकृति’ हो । सुहागरातका प्रत्येक चरण कति लामा हुनुपर्छ र कहिले कुन चरण सिद्धिएको हो कसरी बुझ्ने भन्ने प्रश्नको उत्तर संसारको कुनै पनि ज्योतिषी वा चिकित्सा विशेषज्ञले दिन सक्ने उत्तर होइनन् । सेकेन्ड, मिनेट, घण्टा, दिन अनि महिनामा पनि हुन सक्ने यो उत्तर दिने अन्तिम अधिकारी नवविवाहित दम्पती आफैँ हुन् । के कुरो सत्य हो भने सबै दम्पतीले यो सत्कर्म गर्न तीन वटै चरणलाई टेकेर जानैपर्छ, छोटो बाटो छैन । त्यस्तो बाटो खोजियो भने दुर्घटना हुन सक्छ ।
प्रणय निवेदन गर्ने व्यक्ति यो सम्पूर्ण रथको सारथि अर्थात् ‘पुरुष’ हो । सङ्केतले, व्यवहारले वा वचनले उपयुक्त समयमा उसले यो कार्य गर्नुपर्छ । स्त्रीको प्रारम्भिक प्रतिरोधबिना यस निवेदनमा स्वीकृति प्राप्त हुँदैन ।








