इन्द्र बराह एमेच्योर गल्फ हुँने, आर्थिक अभावमा नियमित प्रतियोगिता हुन छाडे

पुस २९, धरान ।गल्फ खेललाई ब्यवसायीक गर्न चौथो इन्द्र बराह एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । धरान स्थित निर्वाणा कन्ट्री क्लब गल्फ कोर्समा बराह ज्वेलरीका संस्थापक तथा गल्फका प्रवर्दक स्वर्गिय इन्द्रकुमार लामिछानेको स्मृतिमा ‘इन्द्र बराह स्मृति कप एमेच्योर गल्फ प्रतियोगिता’ हुने जानकारी दिएको हो । प्रतियोगिता आउँदो माघ ६ गतेदेखि हुनेछ ।
प्रतियोगितामा ४० जना गल्फरहरु सहभागी हुनेछन् । प्रतियोगिताको मुख्य इभेन्टमा प्रथम, दोश्रो, तेश्रो हुनेलाई ट्रफिका साथै बराह ज्वेलरीमा खरिदारी गर्न क्रमशः १० हजार, ८ हजार, ६ हजार, ३ हजार ५ सय रुपैयाँको गिफ्ट भौचर प्रदान गरिने बतार्इएको छ । साथै लङगेस्ट ड्राइभ, एनटीपी, मस्टबर्डिज, बेष्ट स्पोर्टमेनसिप, ६० वर्ष माथीका सिनियर प्रथम एवं इन्द्र स्पेशल बर्डिज ट्रफि प्रदान गरिने पत्रकार सम्मेलनमा बताइएको छ ।

पत्रकार सम्मेलनमा बराह ज्वेलरीका शाखा प्रमुख मानबहादुर दियालीले धरानको गल्फ कोर्षलाई चलायमान बनाउन स्वर्गिय इन्द्रकुमार लामिछाने गम्भिर हुनु भएकोले उनकै स्मरणमा कम्पनीले सहकार्य गरेको बताए । बराहले प्रतियोगीताका लागि २०७० सालमा धरान गल्फ क्लबसँग १० वर्षको लागि सम्झौता गरेको छ । बराहले आयोजक क्लबलार्इ प्रतिवर्ष १ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता छ । आयोजकले उक्त रकमले प्रतियोगिता सम्पन्न गर्न गाह्रो भर्इरहेको भनिरहँदा बराहका विकले समय अनुसार महंगी बढेको आधारमा सम्झौतामा भएको रकममा थप सहयोग गर्ने बारेमा कम्पनीले चाँडै निर्णय गर्ने बताए ।
पूर्वमा गल्फ खेल धरानमा मात्र हुन्छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र रहेको निर्वाणा कन्ट्री क्लब गल्फ एण्ड रिसोर्ट पूर्वाञ्चलमै एक मात्र गल्फ कोर्स हो । यसले पूर्वको गल्फलार्इ चलायमान गराउन र पूर्वमा ब्यवसायिक गल्फ खेलाडी उत्पादनमा टेवा दिर्इरहेपनि भने जस्तो प्रतियोगिताहरू हुन नसकेको बतार्इएको छ ।
आयोजक क्लबका अनुसार अहिले धरानमा बराह ज्वेलरीको इन्द्र बराह मेमोरियल एमेच्योर ओपन, सुनसरी कलेज धरानले प्रायोजन गर्ने सुनसरी टेक्नीकल कलेज एमेच्योर ओपन, उत्तम राईको प्रायोजनमा तृष्ना मेमोरियल एमेच्योर, जीआरयु ब्रेनी गल्फीङ फ्रेन्डसको प्रायोजनमा जीआयु गल्फ टुर्नामेन्ट सञ्चालन भर्इरहेका छन् । वार्षिक मुख्य टुर्नामेन्टमा रामप्रसाद शुशिला राईले प्रायोजन गर्ने अन्तर सदस्यीय टुर्नामेण्ट, मन्थ्ली मोडल छन् । हाल उक्त टुर्नामेन्टहरु मध्ये इन्द्र बराह मेमोरियल एमेच्योर ओपन, तृष्ना मेमोरियल एमेच्यो र साधारण टुर्नामेन्टहरुमा रामप्रसाद शुशिला राई अन्तर सदस्यीय टुर्नामेन्ट र मन्थ्ली मोडल मात्र चालु रहेको छ ।
क्लब द्वारा जारी विज्ञप्ती अनुसार गल्फकोर्षको संरक्षण र गल्फ खेल विकासको लागि धराने गल्फरहरुले समय समयमा सञ्चालन गर्दै आएका दर्जन प्रतियोगिताहरु मध्ये हाल केही बन्द भएका छन् । क्लबले विगतमा हिमालय बैँक कप, खुकुरी कप, धरान डे कप र ग्यालेक्सी कप आदि एमेच्योर गल्फ टुर्नामेण्ट आयोजना गरेपनि ती सबै टुर्नामेण्ट आर्थिक अभावका कारण बन्द भएका हुन् । राष्टिय लेवलमा धरानमा सूर्य नेपाल इष्टर्न गल्फ प्रतियाेगिता हुन्छ ।
क्लबका अध्यक्ष पूर्ण लिम्बुका अनुसार विगतका कार्य समितिले सञ्चालन गर्दै आएका प्रतियोगिता लाई निरन्तरता दिने प्रयास गरिएता पनि त्यस्का संस्थापकहरु संग सम्पर्क गर्ने/गराउने कार्य हुन नसक्दा प्रतियोगिताले निरन्तरता पाउन नसकेको हो । ‘धरान गल्फ खेलका लागि धेरै संभावना भएकाे क्षेत्र भएपनि स्पाेन्सर नहुँदा नियमित प्रतियाेगिता हुन सकिरहेका छैनन् ।’ उनले भने ।
लिम्बूका अनुसार गल्फ खेल खर्चिलो भएकाले केही समय नगरपालिकाको आर्थिक सहयोगमा एमेच्योर प्रतियोगीता गरिएतापनि नियमित प्रतियोगीता गराउन सकिएन । पत्रकार सम्मेलनमा बोल्दै क्लबका सल्लाहकार पूर्वगोर्खा क्याप्टेन विष्णु राईले बराहका संस्थापक स्व. लामिछाने गल्फ खेलको विकासमा लागि पर्ने ब्यक्तित्व रहेको बताए । उनले धरानमा उद्योग व्यापारका अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याउन गल्फ खेलले ठूलो सहयोग गर्ने दावि गरे । ‘विदेशमा गल्फ खेललार्इ ठूलाठूला निती निर्माण गर्ने तथा ब्यापार ब्यसायकाे याेजना बुन्ने प्लेट फर्मका रूपमा पनि लिर्इन्छ, हामी कहाँ यसकाे विकास र विस्तारमा राज्यले नै भनेजति चासाे दिएकाे छैन ।’ रार्इले भने ।
धरानको गल्फ कोर्स सन् १९६२ मा वृटिश घोपा क्याम्प रहँदाको अवस्थामा त्यहाँका उच्च अधिकृत तथा बेलायती शौखीन सैनिक अधिकारीका लागि बनाइएको थियो । दोस्रो विश्वयुद्धमा नेपालीहरूलार्इ ब्रिटिस गोर्खा सेनामा भर्ती गर्न नेपाल आएका ब्रिटिसहरूले धरानमा उक्त कोर्स निर्माण गरेका थिए ।








