संविधान दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना,भारत,अमेरिका र जापानबाटपनि शुभकामना आयो

काठमाडौं, असोज ३  । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको आज (मंगलबार) दुई वर्ष पूरा भएको छ । दुईपटक संविधानसभाको चुनाव र निकै लामो रस्साकस्सीपछि संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ साल असोज ३ गते संविधान जारी भएको हो ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आएका केही मधेसकेन्द्रीत दलले संविधान संशोधनको माग गर्दै आएका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा संशोधन प्रस्ताव पेस गरेपनि दुई तिहाई मत नपुग्दा संशोधन प्रस्ताव पारित हुन सकेन । सरकारलाई आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको चुनाव सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकोमा तीन चरणमा स्थानीय तहको चुनाव पूरा भएको छ । 
संघ र प्रदेशको चुनावको तयारी पनि भइरहेको छ । प्रदेश नम्बर २ मा सोमबार चुनाव भएसँगै यसको मतगणना सुरु भैसकेको छ । संविधान संशोधनको माग गर्दै पहिलो र दोस्रो चरणको चुनावमा सहभागी नभएको राष्ट्रिय जनता पार्टी नेपाल राजपाले पनि चुनावमा भाग लिएपछि संविधान कार्यान्वयन अघि बढेको छ । संविधानले तय गरेको सिमाभित्र संविधान जारी गर्न दलहरु तयार भएका छन् । सरकारले मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधि सभा चुनावको घोषणा समेत गरिसकेको छ ।
यस्तै संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरि माघ ७ गतेभित्र सबै तहको चुनाव सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी परमादेश जारी गरेको छ । सर्वोच्चले निर्वाचन कानुन निर्माण लगायत आवश्यक पूर्वाधार तय गर्न बाध्यकारी बनाएसँगै सरकार थप दबाबमा परेको छ । अब तीन महिना मात्र बाँकी रहँदा संविधानको सफलताको लागि युद्धस्तरमा जुट्नुपर्ने बाध्यता छ ।
संविधानको धारा २९६ (१) ले संविधान कार्यान्वयनका लागि माघ ७ गतेभित्र सबै तहको चुनाव सम्पन्न गर्न अन्तिम सीमा तोकेको सन्दर्भमा सरकारले राज्यलाई चाहिने आवश्यक कानुन त्यो समयभित्र संसद्बाट पारित गरिसक्नुपर्छ । संसद्मा विचाराधीन एंव दर्ता हुन बाँकी मस्यौदा माघ ७ गतेसम्म पारित भैसक्नुपर्नेछ । माघ ७ गते संसदको आयु सकिने भएकाले प्रस्तावित विधेयक त्यो दिनसम्ममा पारित नभए स्वतः निष्क्रिय हुनेछ । सरकारलाई संघीयताको पूर्ण कायान्वयन, मौलिक हक रक्षा र देशको आर्थिक विकाससँग सम्बन्धीत थुप्रै कानुन संक्रमणकाल अघि नै पारित गर्नुपर्ने चुनौती छ । संविधान जारी भएको सम्झनामा सरकारले असोज २ गते संविधान दिवस मनाउने निर्णय पनि गरेको छ । त्यसकै लागि सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

राष्ट्रिय एकता, अखण्डता, सहकार्य र सद्भाव कायम हुन सकोस्ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले दिनुभएको शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महत्वपूर्ण ऐतिहासिक दिन भएको उल्लेख गर्नुभएको छ ।
आजको दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा मिल्ने र यसप्रति सबै नेपाली कृत्संकल्पित हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानले धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै सबै तह, तप्का, वर्ग र क्षेत्रका नागरिकको अधिकार प्रत्याभूत गरेको उल्लेख गर्नुभएको छ ।

देश आर्थिक समृद्धिको यात्रामा जाने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धी संस्थागत भएको स्वर्णिम दिन संविधान दिवसका अवसरमा देशविदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको  छ ।
शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका प्रमुख पक्ष स्थानीय तहको चुनाव सम्पन्न भइसकेको र प्रदेश र संघको चुनाव घोषणा भइसकेको बताउँदै संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश नं २ मा उत्सवका रूपमा सम्पन्न स्थानीय तहको चुनावमा भाग लिई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्ने मतदातामा बधाई ज्ञापन गर्नुभएको छ ।
स्थानीय तहमा जस्तै प्रदेश र संघको निर्वाचनमा उत्साहका साथ सहभागी भई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्न आग्रह गर्दै उहाँले संविधानको पूर्ण कार्यान्वयनसँगै राजनीतिक संक्रमण पूर्ण अन्त्य भई देश आर्थिक समृद्धिको यात्रामा दु्रततर गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

संविधान जीवन्त राख्न असल राजनीतिक संस्कार, नागरिक सचेतना र सुशासन अपरिहार्यः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति समेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना गर्दै यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ । संघीयता, शक्ति पृथकीकरण र सन्तुलन, आवधिक निर्वाचन, मानवाधिकार, सहभागितामूलक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायपालिका, संयुक्त राष्ट्र संघको बडापत्रप्रतिको सम्मान एवं समाजवादोन्मुख अर्थतन्त्रलगायत गुणलाई संविधानले अंगीकार गरेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले सन्देशमा यसको सफल कार्यान्वयनका लागि यसले निर्दिष्ट गरेको लोकतान्त्रिक संस्थाहरूको सबलीकरण गर्दै अगाडि बढ्नु आवश्यक रहेकामा जोड दिनुभएको छ । स्थानीय, प्रान्तीय र संघीय तहको निर्वाचनसँगै मुलुक संक्रमणकालीन अवस्था पार गर्दै राजनीतिक स्थायित्व र आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्रीको भनाइ छ ।

शान्ति र समृद्धिको दिशामा नेपालको प्रगतिमा सहयोग कायमै रहन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ ।
“यो दिन तपाईँको देशका लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईँहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन्”, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको ट्रम्पको सन्देशमा भनिएको छ ।
गएको साल यो महत्वपूर्ण दिन मनाएयता नेपालले महत्वपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्दै सन्देशमा  भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाएको र लाखौँ नेपालीको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको उल्लेख छ ।

नेपालको स्थायित्व, शान्ति र समृद्धिका पक्षमा भारत सधैँ रहिरहने प्रतिबद्धता

नेपालको संविधान दिवसका अवसरमा छिमेकी देशभारत, चीनलगायतले शुभकामना सन्देश पठाई संविधानको सफलताको शुभकामना व्यक्त गरेका छन् । यस अवसरमा भारतका राष्ट्रपति श्रीरामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउनुभएको छ । आफ्नो शुभकामना सन्देशमा भारतीय राष्ट्रपति कोविन्दले नेपाल र भारतबिच अनुपम बहुआयामिक सम्बन्ध रहिआएको र त्यो सांस्कृतिक सम्बन्धसँग जोडिएको बताउनुभएको छ ।
त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीको सन्देशमा दुई देशबीच लामो समयदेखि जनस्तरको गहिरो सम्बन्ध रहेको बताउँदै नेपालको स्थायित्व, शान्ति र समृद्धिका पक्षमा भारत सधैँ रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यसैगरी चीनका राष्ट्रपति सि चीन फिङ  र प्रधानमन्त्री लि छख्याङले संविधान दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीका नाममा छुट्टाछुट्टै शुभकामना सन्देश पठाई यस अवसरमा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत पुगोस् भनी कामना गर्नुभएको छ ।
त्यसैगरी माल्दिभ्सका राष्ट्रपति अबदुल्ला यामिन अबदुलले  आफ्ना समकक्षीसमक्ष शुभकामना सन्देश  पठाउँदै यस अवसरमा दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जापानी  सम्राट् अकिहितोले  नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना सन्देश पठाई नेपाली जनताको खुशी र समृद्धिको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =