एमाले तराई मधेस विरोधी पार्टी होइन : अध्यक्ष ओली

मङ्सिर ४, विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई मधेस विरोधी पार्टी नभएको बताएका छन् । विराटनगर महानगरापलिका–१० मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रम भएको समयमा मधेसको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि लगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले केही राजनीतिक दलका कारणले मधेसमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पिछडिएको चर्चा गर्दै दाइजो र बोक्सी कुप्रथा अन्त्य गर्न मधेशवादी दललाई कुनै चिन्ता नभएको आरोप समेत लगाए । अध्यक्ष ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज मोरङको गाठगाउँमा सञ्चालनमा आउने, काँकरण्भिट्टादेखि सुनसरीको कोसी पुलसम्मको छ लेनको सडक विस्तार, जोगबनी– कटहरी रेलमार्गको निर्माण, विराटनगरको विमानस्थलको विस्तार र विराटनगरको चक्रपथ कालोपत्रे हुने जानकारी दिए ।
सो अवसरमा उनले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेलाई स्वागत समेत गरेका थिए । नेकपा माओवादी (केन्द्र) मोरङका अध्यक्ष गोपी अछामीको सभापतित्वमा सम्पन्न भएको सो सभामा मोरङ क्षेत्र नं ४ का नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा उम्मेदवार अमनलाल मोदी र क्षेत्र नं ४ प्रदेश (२) का नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले अब बन्ने वाम गठबगन्धन सरकारले विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउने आश्वासन दिएका थिए ।








