एनआईसी एसिया बैङ्कको २० औँ साधारण सभा सम्पन्न, भयो यस्तो निणर्य

“
भदाै ३०, काठमाडाै । एनआईसी एसिया बैङ्क लिमिटेडको २० औँ वार्षिक साधारण सभा आज कार्की ब्याङक्वेट बबरमहल, काठमाण्डौमा सम्पन्न भएको छ । सो सभाले चुक्ता पुँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सोमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् रु. ७ करोड ४ लाख ४८ हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ ।
सभाले बैङ्कको प्रबन्धपत्र र नियमावलीलाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैङ्कको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।
उक्त वार्षिक साधारणसभाले संस्थापक शेयर धनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रसाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र संघई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक राजेन्द्र प्रसाद अर्याल, विनोद कुमार प्याकुरेल र आदित्यकुमार अग्रवाललाई सर्वसम्मतीमा सञ्चालक समितिमा निर्वाचित गरेको छ । यस अघि बैङ्कको ३२० औँ सञ्चालक समितिको बैठकले बैङ्कको स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठलार्इ नियुक्त गरेको थियो ।
साथै साधारण सभा पश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ । बैङ्कले हालकरिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
“








