‘आर्थिक सम्बृद्धिका निम्ति मेरो उम्मेदवारी’

असार ६ । असार १४ गते हुन गइरहेको दोस्रो चरणको चुनावका निम्ति प्रदेश नं ७ कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिकामा नेकपा एमालेका तर्फबाट कर्णबहादुर हमालको उम्मेदवारी परेको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनरत हमाल कृष्णपुरको आर्थिक सम्बृद्धिलाई आफ्नो मूल नारा मान्नुहुन्छ ।

कृष्णपुर नगरपालिका विकासको प्रचुर सम्भावना बोकेको नगर हो । तर, खानेपानीको अभाव, बेरोजगारी, भुमिसुधार तथा सडक सुविधाको भने निकै समस्या रहेको छ ।

आफूले यी समस्याहरूको गहिरो अध्ययन गरेको तथा समस्या निर्मुल गर्नका निम्ति तत्कालीन, अल्पकालिन एवम् दीर्घकालीन गरेर तीन तहमा योजना निर्माण गरेको उम्मेदवार हमालले बताउनुभयो । ‘१ वर्ष भित्र तत्कालीन, ३ वर्ष भित्र अल्पकालिन तथा ५ वर्ष भित्र दीर्घकालीन योजनाको कार्यान्वयन गरिसकिने छ । आर्थिक सम्बृद्धिका निम्ति मैले उम्मेदवारी दिएको हु र कृष्णपुरलार्इ नमुना नगरपालिका बनाउनु मेरो अठोट हो ’ उहाँले दाबीका साथ भन्नुभयो ।

हाल कृष्णपुर नगरपालिकामा अधिकांश जनता जग्गाधनि प्रमाणपत्र विहिन छन् । यो समस्यालाई एक वर्षभित्र समाधान गर्ने उहाँको प्रतिबद्धता रहेको छ । त्यस्तै, सामुदायिक क्याम्पसमा +२ सम्म अध्ययन निःशुल्क गर्ने, कृषिमा आधुनिकिकरण गर्ने, सिंचाइका प्रबन्ध मिलाउने, सडक स्तरोन्नति गर्ने जस्ता काम उहाँको प्राथमिकतामा रहेको छ ।

२८ वर्षदेखि राजनीतिक जीवन बिताइरहनु भएका हमाल आफूले चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । ‘मसँग पर्याप्त जनमत छ, साथै राजनीतिमा लागेदेखि मैले यस क्षेत्रको निम्ति धेरै कार्यहरू गरेको छु । म सम्बद्ध मेरो दलपनि मतप्राप्तिका लागी महत्त्वपूर्ण माध्यम रहेको छ ’ उहाँले जिकिर गर्नुभयो ।

यस बाहेक सौर्य ऊर्जा प्रवर्धन गर्ने, सामुदायिक क्याम्पसमा स्नातकोत्तर अध्ययन सामेल गर्ने, व्यावसायिक शिक्षालाई प्राथमिकता दिने, ५० शैंयाको अस्पताल निर्माण गर्ने, नदी कटान रोक्ने, खानेपानिका ट्याङ्कि निर्माण गर्ने, घरेलु उद्योगको विकास गर्ने र रोजगारीका अवसर सृजना गर्ने जस्ता योजनाहरू उहाँका चुनावी एजेण्डा रहेका छन् ।

‘सके विनियोजित बजेटले नसके दाताबाट सहयोग मागेरै भए पनि मेरा प्रतिबद्धता पुरा गर्छु । मेरो क्षेत्रका जनता मेरा न्यायाधिस हुन्, उहाँहरूको आशालाई कुनै हालतमा पनि यथार्थमा परिणत गर्छु’ उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =