दुई सातादेखि फैलिएको भाइरल ज्वरो कालिकोटमा महामारी बन्दै

कालिकोट, माघ ७ । कालिकोटमा दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएको छ । तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका तीनै जना बालबालिका रहेका छन् ।
भाइरल ज्वरोका कारण सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ वडामा मात्रै ८ सय १४ जना बिरामी भएका छन् । वडा २ मा २ सय ७० र वडा ४ मा ५ सय ४४ भाइरल ज्वरोका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. कौशल अलीले जानकारी दिनुभयो ।
डाक्टर अलीका अनुसार बिरामी पर्नेमा अधिकांश बालबालिका रहेका छन् । बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ । शनिबार वडा २ मेग्रमा डा. नहकुल शाहीको नेतृत्वमा ८ जना र वडा ४ ताडी दलित टोलमा जिल्ला स्वास्थ्य प्रमुख डा. अलीको नेतृत्वमा ८ स्वास्थ्यकर्मीले बिरामी पहिचान गरेको निमित्त प्रजिअ राजकुमार दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार भाइरलको महामारी भएकाले थप स्वास्थ्यकर्मी र औषधि माग गर्ने निर्णय भएको छ ।








