जनता कलेजको भवन निर्माणमा अनियमितताको आरोप

कार्तिक ५, सुनसरी । सुनसरीको इटहरी स्थित जनता उच्च माध्यमिक विद्यालयमा निर्माणाधिन भवनमा भ्रष्टाचार भएको बताइएको छ । दुई वर्षदेखि निर्माणाधीन आठकोठे दुईतले भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको पाइएको हो ।

उच्च माविका कक्षा सञ्चालन भइरहेको स्थानमा २०७२ सालमा आएको विनाशकारी भूकम्पले भवन काम नलाग्ने अवस्थामा पु¥याइदिएपछि शिक्षा मन्त्रालयबाट भवन निर्माणका लागि आएको ६० लाखमा अनियमितता भएको विद्यालयमा कार्यरत शिक्षकहरूले आरोप लगाएका छन् । विद्यालय भवन निर्माण गर्न बोलपत्र आह्वान गरेर प्रतिस्पर्धाद्वारा ठेक्का लगाउनुपर्ने भए पनि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले आफुखुसी ठेक्का दिएको विद्यालयमा कार्यरत एक शिक्षकले बताए । ‘प्रतिस्पर्धामा ठेक्का दिनुपर्नेमा व्यवस्थापन समिति र प्रधानाध्यापकले जिल्ला बाहिरका ठेकेदारलाई आफुखुसी ठेक्का दिएका छन् ।’ उनले भने ।

भवन निर्माणमा कमसल निर्माण सामग्री प्रयोग हुँदा समेत व्यवस्थापन समिति मौन बसेको छ । स्थानीयवासीले समेत व्यवस्थापन समितिले ठेकेदारसँग मिलेर कमसल सामग्री प्रयोग गर्दै भवन बनाएको दाबी गरेका छन् ।

विद्यालय भवन निर्माण गर्दा भुईँ तलाको जमिनमुनि सप्तरीमा निर्माण भएको इँटा प्रयोग गरिएको छ । जमिन माथिको भागमा समेत गुणस्तरहीन रड र इँटा प्रयोग भइरहेको पाइएको इटहरी १ का गणेश अधिकारीले बताए । ‘भवन निर्माण गर्दा लागत स्टिमेट र मापदण्ड अनुरूप काम भएको छैन । यसमा ठेकेदार, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको प्रत्यक्ष संलग्नता छ ।’ उनले भने ।

विद्यालय भवन निर्माणमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बुढाथोकी र प्रधानाध्यापक छत्रपति ढुंगेलबीचको आपसी मिलेमतोमा कमजोर भवन बनाउने खेल भइरहेको एक विद्यार्थीले भने । भवन निर्माणमा भएको अनियमितताका विषयमा विद्यालयका प्रधानाध्यापक छत्रपति ढुंगेलसँग कुरा गर्न उनीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

जनता उच्च माविमा यस अघि पनि शिक्षक नियुक्तिमा समेत अनियमितता हुने गरेको थियो । शिक्षक नियुक्ति गर्ने विषयमा अनियमिता भएको भन्दै विवाद उत्पन्न भएको थियो । विद्यालयमा रिक्त रहेको ३ पदमा शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समितिले तालाबन्दी विद्यालयमा तालाबन्दी नै गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =