पहिलो चरणको मतदानमा ६५ प्रतिशत मत खसे, सबैभन्दा बढि बाजुरामा ८० प्रतिशत

काठमाडौं, मंसिर १० । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक जानकारी आएको निर्वाचन आयोगले जनाएको छ।
आइतबार ३२ जिल्लाको ३७ प्रतिनिधिसभा सिट र ७४ प्रदेशसभा सिटका लागि निर्वाचन भएको थियो। निर्वाचन भएका सबै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताए।
यादवका अनुसार रुकुमका दुई मतदान केन्द्रमा मात्रै मतदान स्थगित भएको छ। वाफिकोट गाउँपालिका वडा नम्बर ५ को रत्न मावि (क) र आठबिसकोट नगरपालिका वडा नम्बर ११ को राष्ट्रिय मावि (ख) मतदान केन्द्रको मतदान स्थगित भएको जानकारी आयोगले दिएको छ।पहिलो चरणको निर्वाचनका लागि २ हजार ९१९ निर्वाचन स्थल र ४ हजार ४६५ निर्वाचन केन्द्र तोकिएका थियो।
सबैभन्दा बढी ८० प्रतिशत मतदान बाजुरामा भएको छ।
कूल १११ सिटका लागि ७०२ उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभाको ३७ सिटका लागि २८२ र प्रदेशसभाको ७४ स्थानका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन्।








