सिंहदरबारमा काम चलाउ मन्त्रीको आतंक, कर्मचारीहरु भागाभाग !

काठमाडौँ, माघ २२ । अहिले सिंहदरबारमा आतंक छ काम चलाउ सरकारमा आसिन मन्त्रीहरुको । कर्मचारीहरुलाई हुने र नहुने सबै खाले काम अह्राउन थालेपछि मन्त्रालयका उच्च तहका कर्मचारीहरुको रुवावासी र भागाभाग मच्चिएको छ । मन्त्रीले कर्मचारीलाई हुने नहुने काम अह्राउन थालेसँगै मन्त्रालयका सचिव र सहसचिवहरु उनीहरुका अगाडि देखा पर्न छाडेर घुमफिर गरिरहेको देख्न सकिन्छ ।

हो, अहिले अधिकांश मन्त्रालयका सचिव र सह–सचिवहरु घर विदामा त कोही विदेश भ्रमणमा मस्त छन् । कोही सविचहरु चाहिँ विदेश भ्रमणबाट फर्केर मन्त्रालयमा काम गर्न नआई घर बिदामै बसेका छन् । कारण, काम चलाउ मन्त्रीले जथाभावी आफूहरुलाई काम अह्राएसँगै उनीहरु त्यसरी तित्तर वित्तर हुुुनुपरेको बताउँछन्।

कृषिमन्त्री रामकृष्ण यादवले नचाहिँदो काम अह्राएको भन्दै त्यसको दबाब छल्न सचिव डा. सुरोज पोखरेल दुई हप्तासम्म झापा, ताप्लेजुङ हुँदै पूर्वका विभिन्न भेगमा फिल्डैमा बिताए । र, एक हप्ता पछि त्यहाँबाट फर्किए तर काममा गएनन् । घर विदामै बसे । सचिवहरु धमाधम बिदामा बसेसँगै सह सचिवहरु पनि मन्त्रीको अनावश्यक दवाव छल्न त्यसै दिनदेखि घर विदा र विदेश भ्रमणमा निस्किएका छन् ।

यसरी काम चलाउ सरकारको दबाब छल्न विदेश भ्रमणमा निस्कने सह–सचिवहरुमा प्रशासन प्रमुख काशिराज दाहालदेखि विज्ञान कोइरालाहरुसम्म छन् । यस्तै, कृषिका सह सचिव डा. योगेन्द्र कुमार कार्की आफन्त विरामी भएको कारण देखाँउदै घर विदामा बसिरहेको बताए । यता कृषि मन्त्रालयका सचिव डा. सुरोज पोखरेलको कमाण्डमा आठ सदस्यीय टोली फागुन पहिलो साता अस्ट्रेलिया जाने तरखरमा छन् । कृषिकै अन्य सह सचिवहरुको नेतृत्वको टोली केही समयदेखि भियतनाम भ्रमणमा मस्त छन् । उनीहरुको स्वदेश फर्किने छाँटकाँट देखिदैन ।

उता, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली साउदी अरबको भ्रमण जान हतार गरिरहँदा आयोगका सदस्य अशोक झा ब्राजिल र वृन्दा हाडा अफ्रिका जाने दिन गनिरहेका छन् । मन्त्रालयका तल्ला तहका कर्मचारीले बताएअनुसार उनीहरु पनि यो साता नै विदेश भ्रमणमा निस्किने छन् । महालेखा परीक्षक कार्यालयका कर्मचारीहरु विदेश भ्रमणमै छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरु तीन पटक सम्म विदेश भ्रमणमा गएर फर्किएका छन् । त्यस्तै, अर्थ, स्वास्थ्य, सहरी विकास, वातावरण मन्त्रालयका दर्जनौं कर्मचारी विदेश जाने तयारीका लागि झोलीझाम्टा कसिरहेका छन् ।

यसरी सबै मन्त्रालयका सविचहरु मन्त्रीको दबाब छल्न विदेश भ्रमणमा निस्किएसँगै पर्यटन मन्त्रालयका सहसचिव डन्डु घिमिरे पनि आफ्नो नेतृत्वको टोली बनाएरै अस्ट्रेलिया जाँदै छन् भने सहसचिव आलोक श्रेष्ठ नेतृत्वको टोली चाहिँ न्युजिल्यान्डबाट भर्खरै फर्किएर घर बिदामा बसेको स्रोत बताउँछ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोली अमेरिका, शिक्षा सचिव मधुप्रसाद रेग्मीको टोली फ्रान्स, सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको टोली चाहीँ केही समयदेखि नै अस्ट्रेलिया भ्रमणमा छन् । परराष्ट्र सचिव शंकरदास वैरागी र मन्त्रालयका सहसचिव ब्राजिल घुमेर भर्खरै फर्किएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवको टोली चीनको ग्रेटवाल तिर घुमिरहेका छन् ।

केही दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु पनि स्वास्थ्यमन्त्री दीपक बोहराको अनावश्यक दवाव छल्न विदेश भ्रमणमा निस्किएका छन् भने तल्ला तहका कर्मचारीहरु र मन्त्रीबीच लुकामारी खेल सुरु भएको छ । मन्त्री मन्त्रालयमा छिरेसँगै कर्मचारीहरु लाखा पाखा लाग्ने गरेका छन् । कोही कार्यक्रम छ भन्दै निस्कने क्रम बढ्दै गएको छ । मन्त्रालय स्रोतका अनुसार दशवटा टोली बनाएर हालै मात्र त्यहाँका कर्मचारीहरु विभिन्न मुलुकमा भ्रमणको सिलसिलामा पुगेका छन् । यसरी विदेश भ्रमणमा निस्कनेहरुमा विभिन्न सातवटा महाशाखाको प्रमुखहरु छन् । केही महाशाखाको टोली विदेश भ्रमणमा निस्कने तयारी गर्दैछन् । केही कर्मचारीहरु घर विदा लिएर बस्न थालेका छन् । यो विषयमा बुझ्न स्वास्थ्य सचिव पुष्पा चौधरीसँग पटक पटक सम्पर्क गर्दा आफू मिटिङमा व्यस्त भएको भन्दै पन्छिईन ।

यसरी कामचलाउ सरकारका मन्त्रीहरुले कर्मचारीलाई चाहिदो नचाहिदो काम अह्राएसँगै उनीहरु यस्तो हर्कतबाट मुक्ति पाउन कोही घर बिदा त कोही विदेश भ्रमणमा छन् । मन्त्रीको दबाव छल्न विदेश भ्रमणमा रहेका सचिव र सह सचिवहरुले राज्यको कति ढुकुटी दोहन गर्लान् ? यो भन्न सकिने अवस्थामा छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =