तरुण दलको स्वास्थ्य शिविरमा ५ सय बढीको स्वास्थ्य परीक्षण

भाद्र २२, धरान । नेपाल तरुण दल सुनसरीले आज बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङको अगुवाईमा भएको स्वास्थ्य शिविरमा बराह नगरपालिका वडा नं. ४ कौवाखोजका स्थानीयहरुको सहभागिता रहेको थियो ।

शिविरमा करिब पाँच सयको हाराहारीमा स्वास्थ्य चेक जाँच गरिएको तरुण दल १ नं. क्षेत्रीय उपाध्यक्ष सम्पूर्ण ताम्राकारले बताए । उनका अनुसार स्वास्थ्य शिविरमा महिला, बालबालिका र बृद्धबृद्धाहरुको उल्लेख्य सहभागिता रहेको थियो । शिविरमा आउनेहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषेशज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए । भने, निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।

नेपाल तरुण दल केन्द्रीय समितिले बाढी पीडित जनताका लागि राहत जुटाउनका लागि तीन साता अघि एक तरुण एक राहत अभियान सङ्कलन गरेसँगै सुनसरी जिल्ला कार्य समितिले सो क्षेत्रमा राहत वितरण, स्वास्थ्य शिविर र पुर्ननिर्माणको कार्य गर्दै आइरहेको छ । बराह नगरपालिकामा गरिएको कार्यक्रम २२ औँ दिनको कार्यक्रम हो ।

तरुण दलले यस अघि सुासरीका विभिन्न क्षेत्रका बाढी पीडितलाई खाद्यान्न, त्रिपाल, लत्ता कपडा तथा औषधोपचार वितरण गरिसकेको छ । तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष विकले बाढी पीडितका लागि आवास निर्माण गर्न तरुण दलले पुर्ननिर्माण कार्यलाई अघि बढाउने तयारी गरेको जानकारी दिए ।








