बाढीपीडितलाई ४९ करोड ५० लाख

जेठ २५, नेपालगन्ज । तीनबर्षअघि बाँकेमा आएको बिनाशकारी बाढीका कारण पुर्णरुपमा घर नोक्सान भएका परिवारलाई घर निर्माणका लागि सरकारले आर्थिक सहयोग पठाएको छ । बाढीपीडितलाई घर निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जमा यसबर्ष ४९ करोड ५० लाख रुपिया प्राप्त भएको छ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जकाका ईञ्जिनियर होमनाथ भुसालका अनुसार बाढीपीडतलाई तीनचरणमा रकम उपलब्ध गराइने छ । सुरुमा सम्झौता भएपछि ५० हजार रुपिया प्रदान गरिने छ ।
त्यसबाट घरको जग बनाएको प्राविधिक मुल्यांकनपछि एकलाख ५० हजार रुपिया प्रदान गरिने छ । प्राविधिक मुल्यांकनपछि सो रकमबाट छाना छाउने तहसम्म निर्माण गर्नुपर्नेछ ।
अन्तिममा प्राविधिक मुल्यांकनपछि छाना निर्माणका लागि एकलाख रुपिया प्रदान गरिने छ । तीन किस्तामा गरि घर निर्माणका लागि एक परिवारलाई अनुदानमा तीनलाख रुपिया प्रदान गरिने छ । घर निर्माणका लागि जग्गा नहुँने परिवारलाई सम्झौताकै समयमा जग्गा खरिदका लागि थप ५० हजार रुपिया समेत उपलब्ध गराइने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जका ईञ्जिनियर भुसालले जानकारी दिनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठकको निर्णय अनुसार बाँकेमा पुर्णरुपमा क्षति भएका एक हजार ६५२ घर परिवार रहेको जानकारी दिनुभयो ।
जिल्ला प्रशासनको तथ्यांकमा समावेश हुन नसकेका बास्तविक बाढिपीडित छुटेको भएमा पुष्टि गर्ने आधारसहित जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्णय गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =