‘तनहुँमा शिक्षकमाथि खुकुरी प्रहार’

मंसिर १०, तनहुँ । तनहुँको श्री कृण्ण मावि अत्रौलीका शिक्षक विदुर सिग्देलमाथि मरणासन्न हुने गरि कुटपिट भएको छ । खुकुरी प्रहारबाट टाउकोमा गम्भिर चोट लागेका घाईते विदुरको पोखरास्थित मणीपाल अस्पतालमा उपचार भइरहेको छ ।
अत्रौली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देल तथा श्रीकृष्ण माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव ध्रुव सिग्देलका छोरा विदुरलाई स्थानीय केही युवाहरुले शनिबार घरैमा आई खुकुरी प्रहार गरेका हुन् ।
घरमा कोही नभएको मौका छोपी छोरालाई ज्यान मार्न खोजिएको पीडितका वुवा प्रअ ध्रुव सिग्देलले बताए । आफुहरु वाम गठबन्धनको खैरेनी बेल्चौतारमा भएको आमसभामा सहभागी हुन गएको मौका छोपी स्थानीय पदम बहादुर थापा, सन्त बहादुर थापा, ईन्द्रबहादुर थापा, महेन्द्र श्रेष्ठ लगायतका ब्यक्तिले आक्रमण गर्न आएको प्रअ सिग्देलले जानकारी दिए । तर, संयोगवश उनीमाथि आक्रमण भएको अवस्थामा आफुहरु घर पुगीसकेकाले ज्यान मार्न नपाएको उनले बताए। आक्रमणकारीहरु पाँचवट मोटरसाईकलमा आएको उनले बताए ।
खुकुरी प्रहार गरिएका विदुरका घर परिवारले गुहार भन्दै चिच्याएपछि गाउँलेहरु जम्मा भएका थिए । विदुरलाई बचाउने क्रममा उनका वुवा ध्रुव सिग्देल, आमा सरस्वती र दाई सुमनसमेत सामान्य घाईते भएका छन् ।

आक्रमणकारीले प्रयोग गरेको लु २७ प १९६४ नम्बरको पल्सर मोटरसाईकल छोडेर भागेकोमा गाउँलेहरुले प्रहरीलाई बुझाएका छन् । सो मोटरसाईकल कब्जामा लिई घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाका राजनीतिक कारणले भएको हो वा अन्य कारणले भन्ने बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । घाईते विदुरको स्वास्थ्यस्थितिमा सुधार आएको पनि प्रहरीले जनाएको छ ।








