‘एसइईमा छात्रातर्फ भूमिका नेपाल पहिलो’

किशोर खनाल, भरतपुर । धेरै वर्ष पहिले सरकारले एसएलसीमा बोर्ड टपर (टप टेनसम्म) हुनेहरुको घोषणा गर्थ्यो । तर, केही वर्ष यता सरकारले यस्तो घोषणा गर्न छाडेको छ । जिल्ला शिक्षा कार्यालयले समेत यस पटक जिल्ला पहिलो, दोस्रो र तेस्रो भनेर घोषणा गरेन । पहिलेको एसएलसी विगत दुई वर्षदेखि एसइईमा परिणत भएको छ । यस वर्षको एसइईमा रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कुलका आदर्श पाण्डेयले ४ जीपीए ल्याए । उक्त स्कुलले आदर्शलाई नेपाल पहिलो भनेर दाबी ग¥यो । बाजागाजा सहित नगर परिक्रमा गरायो । आदर्शको भन्दा बढी जीपीए आयो भनेर न अरू कुनै विद्यालयले दाबी ग¥यो, न त विद्यार्थीले नै । त्यस्तै रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतनकी छात्रा भूमिका आचार्यले ३.९५ जीपीए ल्याइन् । एकता शिशुले भूमिकालाई छात्रातर्फ चितवन प्रथम भनेर दाबी ग¥यो । विज्ञापन मार्फत मिडियामा सार्वजनिक समेत   ग¥यो । यो दाबीमाथि अर्को कुनै दाबी परेन । जिल्लामा कुनै दाबी नपरेपछि एकता शिशुले भूमिकालाई छात्रातर्फ नेपाल पहिलो भनेर दाबी ग¥यो । एकताको यो दाबीमाथि अर्को कुनै दाबी परेको छैन । भूमिका र उसको परिवारले पनि एकता शिशुले गरेको दाबीलाई मान्दै आएका छन् ।

‘हामीले भूमिकालाई छात्रातर्फ नेपाल पहिलो भनेर दाबी ग¥यौँ, विज्ञापनमार्फत मिडियामा सार्वजनिक ग¥यौँ, हाम्रो दाबीमाथि अरू कुनै स्कुलले दाबी गरेन । त्यसैले भूमिका छात्रातर्फ नेपाल प्रथम नै हुन्’ एकता शिशु निकेतनका प्राचार्य बालहरि देवकोटाले भने, ‘भूमिकाको भन्दा बढी जीपीए अरूले ल्याएका भए त दाबी गर्थे होलान् । दाबी नगरेपछि छात्रातर्फ भूमिका नै नेपाल पहिलो हो ।’ प्राचार्य देवकोटाले आफूले परीक्षा नियन्त्रण कार्यालयमै बुझेको र भूमिकाको जति जीपीए छात्रातर्फ अरू कसैको नआएको बताए ।

‘डाक्टर बनेर दुर्गममा सेवा गर्छु’
‘म कहिल्यै पनि घोक्ने हिसाबले पढिनँ, जति पढ्थें बुझेरमात्र पढ्थें । बेलुका छिटो सुत्थें, बिहान चाँडै उठेर पढ्थें ।’ यो भनाइ यस वर्षको एसईईमा ३.९५ जीपीए ल्याएकी भूमिका आचार्यको हो । उनी रत्ननगर–१० मा रहेको एकता शिशु निकेतनबाट एसईई उत्तीर्ण गरेकी हुन् । भूमिकाले नेपाली बाहेक सबै विषयमा ‘ए प्लस’ ग्रेड ल्याएकी छन् । नेपाली विषयमा समेत उनको ‘ए’ आएको छ । शान्ता वातावरणमा बुझेर पढ्ने बानी भएकी भूमिका नर्सरीदेखि नै एकतामा पढ्न थालेकी हुन् । भूमिकाले भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएकी छन् । ‘म भविष्यमा डाक्टर बनेर दुर्गममा गएर सेवा गर्छु’ भूमिकाले भनिन्, ‘हाम्रो देशमा धेरै दुर्गम ठाउँ छ । ती दुर्गम ठाउँमा न अस्पताल छ, न त डाक्टर नै पुग्छन् ! म भविष्यमा डाक्टर बनेर दुर्गमका दुःखी मानिसहरूको सेवा गर्छु । दुर्गम ठाउँका बिरामीहरुको उपचारमा खटिन्छु ।’ पढ्नको लागि अभिभावकले राम्रो वातावरण बनाइदिन अत्यन्तै जरुरी रहेको भूमिकाको भनाइ छ । उनी भन्छिन्, ‘पढाइको मर्म अभिभावकले बुझेको हुनुपर्छ, आफ्ना सन्तानलाई अभिभावकले असाध्यै पढ्ने वातावरण बनाइदिनुपर्छ ।’ परिवारले पढ्ने वातावरण बनाएकै कारणले आफूले सफलता हासिल गरेको उनी बताउँछिन् ।

भूमिका भन्छिन्, ‘विद्यार्थीले एउटा लेखकको मात्र किताब पढ्नुहँदैन, एउटै किताब भए पनि धेरै लेखकको पढेमा बढी ज्ञान हुन्छ ।’ भूमिका आचार्यले आफू छात्रातर्फ नेपालकै उत्कृष्ट नतिजा ल्याएको बताउँछिन् । रत्ननगर १ सौराहा चोक निवासी भूमिका भन्छिन्, ‘यसको श्रेय म मेरा अभिभावक, एकता शिशु निकेतनका सम्पूर्ण गुरुहरु र साथीहरूलाई दिन चाहन्छु ।’ भूमिकाका बुबा एकनाथ आचार्यले छोरीले अभिभावकसहित स्कुलकै नाम राख्न सफल भएकी बताउँछिन् । ‘मैले छोरीले जुनसुकै शैक्षिक सामग्री मागे पनि पु¥याइदिन्थे । पढ्ने वातावरण बनाइदिन्थे, यसको पढाइलाई नजिकबाट हेर्थे र साथ दिन्थे’ भूमिकाका बुबा एकनाथले भने, ‘मैले छोरीलाई कहिल्यै ट्यूसन कोचिङमा जोड गरिनँ, स्कुलकै भरमा र घरमा गरेको अध्ययनले मेरी छोरीले अभिभावक, स्कुल एवम् र रत्ननगरकै गरिमा बढाइन् ।’ भूमिकाका बुबा एकनाथ आचार्यले छोरीलाई चितवन, काठमाडौँ र पोखराका कलेजहरुले अफर गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘दिनमा ५÷६ वटा कलेजका सञ्चालकहरु घरमै आएर शुभकामना दिँदै भूमिकालाई पढाउन अफर गरेका छन् । तर छोरीको पढ्ने इच्छा जहाँ छ, त्यहीँ पढाउँछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =