अनुदानको प्रलोभन देखाएर कृषकबाट ठगी

असाेज २२, झापा । ‘कृषि अनुदान उपलब्ध गराइदिन्छु’ भन्दै एक जनाले कृषकबाट रु २० लाखभन्दा बढी रकम ठगी गरेकोे छ । इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना कृषकबाट उक्त रकम ठगी गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जनाकारी दिनुभयो ।
“कृषकलाई बंगुरपालन, कुखुरापालन, गाईपालन, अलैँची खेती लगायतका शीर्षकमा अनुदान मिलाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको छ”– प्रनि विष्टले भन्नुभयो, “मोटो रकमको प्रलोभन देखाएर ठगी गरेको पाइएको छ ।”
पीडक विनोद राईले आफ्नो नाम, ठेगाना गलत बताएको पनि उहाँले बताउनुभयो । “हामीले पीडक राईको परिचयपत्र फेला पारेका छौँ”– प्रहरी निरीक्षक विष्टले भन्नुभयो, “अनुसन्धान भइरहेको छ, छिट्टै दोषी समातिन्छ ।”

घटना विवरण अनुसार गत शुक्रवार बिर्तामोडमा कृषकलाई बोलाएर प्रतिव्यक्ति रु २० हजारदेखि रु एक लाख लिएर फरार भएको पीडित पुरन राईले बताउनुभयो ।
विनोदले आफूहरुलाई विश्वासमा लिएर ठगी गरेको बताउँदै उहाँले भन्नुभयो, “डेनमार्क सरकारले अनुदान दिन्छ भनेर राम्रो कृषकको खोजी गर्दै विनोदले एक महिनासम्म लगातार आएर अलैँचीे बिरुवाको उचाइ, गोलाइ नाप्ने गरेको थियो । हामी विश्वासमा प¥र्यौं, मान्छे ठग रहेछ थाहै पाएनौं ।”
कृषि उत्पादनको बृहत् योजना बाँड्दै बसेका राईले अनुदानका लागि आफैँले अशायपत्र (प्रपोजल) समेत बनाइदिएका थिए । त्यसवापत हरेक किसानबाट रु ५०० शुल्क लिएको पीडित पुरनले बताउनुभयो । अशायपत्र स्वीकृत पाएका किसानले तीन प्याकेजमा रु तीन लाख, रु छ लाख र रु १२ लाख अनुदान पाउने आश्वासन पाएको पीडितको भनाइ छ ।
अनुदानबापत किसानले अग्रिम २० प्रतिशत रकम बुझाउनुपर्ने सर्त थियो । सोही सर्तअनुसार कृषकले रकम बुझाएका हुन् । किसानले बुझाएको रकम लिएर राई फरार भएपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको छ । रासस








