सुत्केरीको मृत्युपछि लुम्बिनी अञ्चल अस्पतालमा तनाव, अस्पताल भन्छ : ‘ह्दयघात’

बुटवल, माघ २२ । लुम्बिनी अञ्चल अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्युपछि अस्पतालमा तनाव भएको छ ।
हिँडेरै अस्पताल पुगेकी माथागढी–४ झडेवा पाल्पा घर भई हाल बुटवल– ५ अमरपथ बस्दै आएकी ३२ वर्षिया भगवती अधिकारीको सुत्केरी गराउने क्रममा मृत्यु भएको हो ।
भगवतीका आफन्तले डाक्टरहरुको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् । उनीहरुले दिनभर अस्पताल परिसरमा प्रदर्शनसमेत गरिरहेका छन् ।
घटनाको छानविन नभएसम्म शव नउठाउने भगवतीका श्रीमान पशुपति अधिकारीले बताए ।

हृदयघातका कारण मृत्यु भएको अस्पतालको दाबी
प्रसुतीका लागि आइतबार ६ बजे अस्पताल पुगेकी भवगतीलाई अस्पताल भर्ना गरेर सलाइन चढाइयो । सलाइनको पहिलो बोत्तल सकिएपछि दोस्रो लगाउने क्रममा उनी बेहोस हुन पुगिन् । त्यसपछि आइसियुमा सारिएकी भगवतीको राति ११ बजेतिर मृत्यु भएको हो ।

अस्पतालले उनको मृत्युको कारण हृदयघात रहेको जिकिर गरेको छ । सुत्केरी व्याथासँगै हृदयघात भएका कारण उनको निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। कृष्ण खनालले बताए ।

अनुसन्धान गरेर अस्पताल दोषी देखिए क्षतिपूर्ति दिन तयार रहेको उनको भनाइ छ । ‘मृत्युको कारणबारे विश्वास नलागे छानबिन टोली बनाएर छानबिन गरौं,’ उनले भने, ‘छानविनपश्चात दोषी ठहरिए अस्पताल प्रशासन क्षतिपूर्ति दिन तयार छ ।’








