विद्यार्थीको कपाल काट्न आदेश दिने शिक्षक ‘टोले गुण्डा’ लगाएर कुटिए

काठमाडौं, पुस २२ । काठमाडौँको शंकरापुर गाउँ पालिका ३ स्थित कालिकाचरण माध्यमिक विद्यालय नाङ्लेभारेमा कक्षा १०मा पढ्ने एक विद्यार्थीले टोले गुण्डा लगाएर आफ्नै शिक्षकमाथि कुटपिट गरेका छन् । आक्रमणबाट गम्भिर घाईते शिक्षक सुरेश ठगुन्नाको कान्तिपुर मेडिकल कलेजको आइसीयु कक्षमा उपचार भइरहेको छ ।

कक्षा १० मा अध्ययनरत बिद्यार्थी प्रविण तामाङलाई कपाल धेरै लामो भएको भन्दै शिक्षक ठगुन्नाले काटेर आउनु भनेका थिए । तर उनले कपाल नकाटेपछि उनलाई प्रधानाध्यापकको कार्यकक्षमा बोलाएर सम्झाइएको थियो ।

बिद्यार्थी तामाङले अनुशासन उलंघन गरेको भन्दै प्रधानाध्यापक प्रमोद प्रधानले सम्झाइरहेका बेला एक्कासि तामाङले बोलाएका टोले गुण्डाहरुले कार्यालय भित्रै प्रवेश गरी ठगुन्नामाथि आक्रमण गरेका थिए ।

शिक्षक ठगुन्नालाई स्थानीय टोले गुण्डा गणेश लामा, दिनेश वाइवा र प्रदिप तामाङले आक्रमण गरेको बिद्यालय प्रसाशनले जानकारी दिएको छ । विद्यालयका अनुसार उनीहरु कार्यालय प्रवेश गरेर कुर्ची टेबल र लट्ठीलगायतले आक्रमण गरेका हुन् ।

गुण्डाहरुको आक्रमणबाट घाइते शिक्षकको टाउको र गालाको हड्डीमा गम्भीर चोट लागेको छ । घाइते ठगुन्नालाई उपचारका लागि सुस्मा कोइराला मेमोरियल अस्पताल साखुमा लगेपनि त्यहा उनको उपचार सम्भब नभएपछि कान्तिपुर मेडिकल कलेज सिनामंगल रिफर गरिएको हो ।

उक्त घटनापछि बिद्यालय क्षेत्रको बाताबरण त्रासमय बनेको छ भने स्थानीय अभिभावकहरु आक्रोशित भएका छन् । विद्यालयले कार्यालय परिसरमै प्रवेश गरी यसरी आफ्नो शिक्षकमाथि आक्रमण गरिएका कारण दोषीलाई पक्राउ गरि कारबाही नगरेसम्म बिद्यालय अनिश्चितकालिन बन्द रहने सूचना जारी गरेको छ ।

कुटाई खाने शिक्षक काँग्रेस समर्थक रहेका र कुटपिट गर्नेहरु एमाले समर्थक रहेकाले घटनालाई राजनीतिकरण गर्न खोजिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seventeen =