कांग्रेसले जिते मुलुक जित्ने भएकाले जनता कांग्रेसलाई मत हाल्न आतुर
२०७४ जेठ १५ गते

लोकेन्द्र थापा । नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह निर्वाचन प्रचार उपसमिति संयोजक रमेश लेखकले कांग्रेस माथि अपार विश्वास र साथ रहेकाले स्थानीय तह निर्वाचनमा जित सुनिश्चित भएको बताउनुभएको छ ।
स्थानीय तह निर्वाचन लक्षित नेपाली कांग्रेसको क्षेत्रीय मिडिया डेस्कको आज नेपालगन्जमा उद्घाटन गर्दै पूर्व मन्त्री लेखकले कांग्रेस बिना अग्रगामी परिवर्तन र विकास सम्भव नभएको आमजनताले बुझेको भन्दै यो निर्वाचनमा कांग्रेसले जित्ने उद्घोष गर्नुभयो । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस हार्नुपर्ने कुनै कारण र आधार नभएको भन्दै पहिलो पार्टी बन्ने दावी गर्नुभयो । कांग्रेसले जिते मुलुक जित्ने, राष्ट्रिय एजेण्डा स्थापति हुने भएकाले जनता कांग्रेसलाई मत हाल्न आतुर भएको उहाँको तर्क थियो ।
पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेस हारेकोले संविधान आएन, दोस्रो निर्वाचनमा कांग्रेसले जितेकाले संविधान आयो, पूर्वमन्त्री लेखकले भन्नुभयो । नेकपा एमाले र माओवादीले कांग्रेसले के गर्यो ? भन्ने प्रश्न गरे, डटेर जवाफ दिन समेत आफ्ना नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । लोकतन्त्रमा विश्वास राख्ने पार्टी कांग्रेस रहेको भन्दै उहाँले जंगलमा बसेर मारकाट गर्ने माओवादीलार्इ विचारको राजनितिमा ल्याएको कुरा भनिरहनु नपर्ने उहाँले बताउनुभयो ।
बाकेमा कांग्रेसको बेग्लै इतिहास र योगदान भएको उल्लेख गर्दै केन्द्रीय सदस्य समेत रहेका लेखकले योग्य र जुझारु व्यक्तिले टिकट पाएकाले कांग्रेसका उम्मेदवारले जित्ने सुनिश्चितता रहेको उल्लेख गर्नुभयो । कांग्रेसका उम्मेदवारलाई कांग्रेसकाले नै हराउनु् कांग्रेसलाई हराउनु् भएकाले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो । यसैबीच नेपाल प्रेस यूनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले कांग्रेसकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पुरा गर्ने बताउनु भयो । उहाँले संविधान संशोधन गरेर भएपनि सबैको स्वीकार्य संविधान बनाउने दायित्व कांग्रेसको भएको बताउनु भयो ।
यसैबीच नेपाली कांग्रेसले नेपालगन्जमा क्षेत्रीय मिडिया डेस्कको स्थापना गरेको छ । नेपाली कांग्रेसका स्थानीय तह निर्वाचन प्रचार उपसमिति संयोजक रमेश लेखकले आज एक भव्य समारोहबीच उद्घाटन गर्नुभएको हो । नेपालगञ्ज उपमहानगरपालिका पुर्व लाइन स्थापीत डेस्कमार्फत स्थानीय तह निर्वाचन प्रचार प्रसारका कार्यहरु गरिनेछन् ।
कांग्रेसका गतिविधि, कांग्रसका उम्मेदवारको प्रचारप्रसारलाई प्रभावकारी बनाउन कांग्रेसले बाँके सहित देशभर ६ स्थानमा क्षेत्रीय मिडिया डेस्क स्थापना गरेको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । पत्रकार श्रीराम सिग्देल संयोजक र शुक्रऋषि चौलागाई सह संयोजक रहेको मिडिया डेस्क सञ्चालनमा ल्याइसकिएको छ । डेस्कमा ६ जिल्लाका प्रेस यूनियनका जिल्ला अध्यक्ष सदस्य रहेका छन् ।
प्रेस यूनियन बाँके अध्यक्ष जयनारायण शाह, प्रेस यूनियन बर्दिया अध्यक्ष बिनयराज भण्डारी, प्रेस यूनियन दाग अध्यक्ष सुशिल बस्नेत, प्रेस यूनियन प्यूठान अध्यक्ष श्रीराम भण्डारी, प्रे स यूनियन रुकुम अध्यक्ष कृष्ण प्रसाद गौतम, प्रेस युनियन रोल्पा अध्यक्ष कविता उपाध्याय रहेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








