१४ वर्षिया बालिका बलात्कारी भारतमा पक्राउ, बाबुद्वारा छोरी बलात्कृत

माघ २८, मकालु डेक्स । १४ वर्षिया बालिका बलात्कारका आरोपीलाई भारतको पश्चिम बंगालबाट पक्राउ गरी ल्याईएको छ । पुस १६ गते अङग्रेजी नयाँ बर्षको समय इटहरीको रोयल रिसोर्टमा भएको बलात्कार घटनाको प्रमुख आरोपी विराटनगरका मनिष श्रेष्ठलाई प्रहरीले शनिबार सुनसरी ल्याएको हो ।

चिया बगानमा काम गर्ने आफन्तको घरमा श्रीमतिसहित बसिरहेका उनलाई नेपालबाट गएका प्रहरीले पश्चिम बंगाल प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

पक्राउ परेका उनको परिचयपत्र भारतीय प्रहरीले माग गरेपछि भने काकडभिट्टा नाकाबाट नेपाल भित्र्याउन निकै समय लागेको थियो । पछि सुरक्षा उच्च अधिकारीले भारतीय अधिकारीसँग वार्ता गरेपछि मात्र मनिषलाई नेपाल ल्याइएको हो । पक्राउ परेका मनिषलाई अनुसन्धानको लागि जिल्ला अदालत सुनसरीबाट आइतबार म्याद थप गरिने वरिष्ठ प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए ।

इटहरी २ मा रहेको रोयल रिसोर्ट होटलको कोठा नम्बर ११२ मा १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई खोजी गरेको थियो । मनिष विरुद्ध किशोरीले किटानी जाहेरी दिएकी छन् ।

सुनसरी प्रहरीले आर्थिक लेनदेनमा बलात्कारको घटना दर्ता नगरी मिलापत्र गराई गुपचुप गराएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक चिरञ्जीवी दाहालले आर्थिक लेनदेनमा घटना सामसुम पारेका थिए ।

घटना सतहमा आएपछि वरिष्ठ प्रहरी उपरीक्षक पालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन भएको थियो । समितिले एसपी माझी र प्रहरी निरिक्षक दाहाललाई निलम्बनको सिफारिस गरिसकेको छ ।

यता तेह्रथुममा आफ्नै बाबुले छोरी बलात्कार गरेको घटना दर्ता गरिएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा एक व्यक्तिले १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेको हो । पटक–पटक करणी गरेको भन्दै आमा–छोरीले बुबाविरुद्ध इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएका छन् । गएको भदौदेखि पटक–पटक बलात्कार गरेको भन्दै बालिका र उनकी आमाले इलाका प्रहरी कार्यालय बसन्तपुरमा किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख कुलबहादुर खड्काले बताए ।

बलात्कारपछि १५ वर्षीया छोरी गर्भवती भएकी छिन् । उनको पेटमा ५ महिनाभन्दा बढी समयको गर्भ रहेको छ । गएको भदौ महिनादेखि आफूलाई वुबाले पटक–पटक बलात्कार गरेको बालिकाले बयान दिएकी छिन् । झड्केली छोरी बलात्कार गर्ने वुबाका तीन श्रीमती रहेको प्रहरीले जनाएको छ ।

श्रीमान् पूर्वी तराईमा अर्की श्रीमतीसँग बस्दै आएको आमाको भनाई छ । अर्की श्रीमती ल्याएर तराईमा बस्दै आएका श्रीमान् गएको भदौ महिनादेखि बाक्लै रुपमा आफ्नो घरमा आउजाउ गरिरहँदा छोरीको महिनावारी रोकिएपछि शंका लागेर सोध्दा बुबाले पटक–पटक बलात्कार गरेको छोरीले बताएको आमाको भनाई छ ।

बलात्कृत बालिकाको जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । किटानी जाहेरी आएकाले जवरजस्ती करणीमा मुद्धा दर्ता गरी अघि बढाउने प्रहरीको भनाई छ ।

घटना सार्वजनिक भए लगत्तै तराईमा बस्दै आएका पीडित बालिकाका बाबु फरार भएको प्रहरीले जनाएको छ ।

यता सिरहाको लाहानमा पनि बालिका बतात्कृत भएकी छिन् । घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका छन् । बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ ।

घटनालाई स्थानीयस्तरमै मिलापत्र गर्ने प्रयास भए पनि बालिकाको रक्तश्राव नरोकिएपछि घटना तीन दिनपछि सार्वजनिक भएको हो । उपचारमा रहेकी बालिकाको कुरुवा बसेका आफन्तले बालिकालाई बोल्नसमेत अप्ठ्यारो परेको र चिकित्कसकले पनि नबोल्न भनेको बताएका छन् ।

पीडित परिवारका अनुसार आरोपी युवकले मदिरा सेवन गरेर बलात्कार गरेका हुन् । आरोपी ठाकुर फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए । फरार अभियुक्त ठाकुरविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ । अभियुक्तलाई भगाएको आंशकामा बाबु र दाजुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =