चितवनका सागर आलेले भने, ‘बिन्ती ! भ्रामक नफैलाइदिनू’

किशोर खनाल, भरतपुर । चितवनका सागर आलेमगर नेपाल आइडलको मुखैमा पुगेका छन् । अर्थात् नेपाल आइडलको प्रतिस्पर्धीबाट टप चारसम्ममा पुगेका सागर आले यति बेला थप चिन्तित र भावुक बनेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा अफवाह फैलाइएको हुँदा आफू चिन्तित बनेको उनी बताउँछन् । पछिल्लो समय चर्चामा आइरहेको रियालिटी सो नेपाल आइडलमा भोटको माध्यमबाट अगाडि बढ्दै आएका सागर आले यति बेला नेपाल आइडलको टप चारमा पुग्न सफल भएका छन् ।

आले रियालिटी सोको एक पटक मात्र ‘डेन्जर जोन’ अर्थात् ‘बटम थ्री’मा परेका छन् । ‘सागर आले एमालेका कार्यक्रममा गीत गाउन गयो, एमालेको कार्यकर्ता हो भनेर सामाजिक सञ्जालहरुमा भ्रामक फैलाइएको छ । तर, म कुनै दलमा आबद्ध छैन’ काठमाडौँमा रहेका सागर आलेले टेलिफोनमा भने, ‘पहिला एमालेको कार्यक्रममा जाँदाखेरी गीत गाएको थिएँ, त्यति बेला मेरा फ्यानहरुले फोटो खिचेका थिए । त्यही फोटो हालेर अहिले भ्रामक फैलाइएको छ । म एमाले होइन । मञ्च पाउँदा जुनसुकैको कार्यक्रममा पनि गीत गाउने गरेको थिएँ ।’

सागर आलेको घर भरतपुर महानगर वडा नम्बर १३ पटिहानीमा पर्छ । उनी भरतपुर–१० मा रहेको सप्तगण्डकी क्याम्पसबाट १२ कक्षाको परीक्षा दिएर बसेका हुन् । अमर उच्च माध्यमिक विद्यालय पटिहानीबाट स्कुले जीवन सकेका सागरले कक्षा ८ देखि नै गीत गाउन थालेका हुन् ।

स्थानीय स्तरमा भएका विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा भाग लिँदै आएका सागर पछिल्लो पटक ‘भर्सटायल’ गायकको रूपमा चिनिँदै आएका छन् । ‘म नेपाल आइडल भए पनि वा नभए पनि म आफू गायन कलामा अब पोख्त भइसकें । नेपाल आइडलले जुन प्लेट फर्म दियो, यो नै मेरा लागि अब काफी भएको छ । गायनमै मैले अब धेरै गर्नसक्छु तर बिन्ती भ्रामक कुरा सामाजिक सञ्जालमा नफैलाइदिनुहोला’ सागर आलेले भने ।

आलेले लोक, पप, आधुनिक, रकजस्ता सबै खालका गीत गाउन सक्छन् । यसअघि भएका चितवनका विभिन्न कार्यक्रमहरूमा उनले आफ्नो गायन कला देखाइसकेका छन् । यसअघि भएको चितवन आइडलमा सागर आठौँ भएका थिए । विग आइकनमा उनी फस्ट रन र अप भएका थिए । नेपाली तारामा टप २० को सेलेक्सनबाट सागर आले आउट भएका थिए ।

‘जर्जबाट राम्रो रेस्फोन्स पाइरहेको छु, मलाई धेरै फ्यानहरुले सहयोग गरिरहेका छन्, अझै गर्छन्’ उनले भने । सागर आलेले फेसबुकमा स्टाटस लेखेर आफूविरुद्ध फैलाइएको भ्रामक खबरलाई चिर्ने कामसमेत गरेका छन् । ‘म एक कलाकार हुँ, त्यो पनि तपाईँहरूले बनाइदिएको कलाकार । म अनुरोध गर्छु कलाकार कुनै दल, जाति, वर्ग वा धर्म विशेष हुँदैनन्’ आलेले फेसबुकमा स्टाटस लेखेका छन् । उनी आफू नेपाली हुनमा नै गर्व रहेको बताउँछन् ।

‘मलाई त्यो सामाजिक एकताको परिधिभन्दा परको संस्कारमा नधकेल्नुहोला । कुनै दल विशेषभन्दा पनि नेपाली हुनमा नै गर्व छ’ उनको स्टाटसमा भनिएको छ, ‘तपाईँहरूको मायाबिना म केही कोही पनि होइन, म जहाँ छु, जे छु सबै तपाईँहरू सबैको साथ सहयोग र मायाले हो र अझै आशा पनि लिएको छु । यी सबै कुराको गुण तिर्न मसँग हृदयदेखिको आभारबाहेक अर्को कुनै शब्द वा उपाय छैन । तर यति भन्छु, देश र जनताले दिएको अपार मायाको म सधैँ कदर गर्नेछु ।’
यस्तो स्टाटस लेखे फेसबुकमा सागरले

देश तथा विदेशमा रहनु हुने तपाईँ सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदी बहिनीहरुमा म सागर आलेको नमस्कार, सामाजिक सञ्जालमा आएका खबरहरुको बारेमा केही कुरा लेख्नु पर्छ जस्तो लाग्यो र दुई चार लाइन लेख्दैछु जे जस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।

तपाईँहरूको माया बिना म केही कोही पनि होइन । म जहाँ छु जे छु सबै तपाईहरु सबैको साथ सहयोग र मायाले हो र अझै आशा पनि लिएको छु । यी सबैकुराको गुण तिर्न आज मसँग हृदयदेखिको आभार बाहेक अर्को कुनै शब्द वा उपाय छैन नै तर यति चाहिँ भन्छु देश र जनताले दिएको अपार मायाको सधैँ कदर गर्नेछु । अलिकति प्रसङ्ग बदलौँ, केहिदिन यता केही मिडियाहरुमा सागर आले एमालेको कार्यक्रममा गए भन्दै धेरै पहिले जुन बेला मलाई गीत गाउँनको लागि स्थानीय रूपमा बोलाइएको थियो, त्यतिबेलाको फोटोलाई लिएर समाचार बनाइएको रहेछ । त्यो पनि एक जना मेरो फ्यानले फोटो खिच्छु भनेर उनले खिचेको फोटो हो ।

अब रह्यो कुरा पार्टीको, म अहिले सम्म कुनै पार्टी वा दलमा आबद्ध भएको छैन । समाजमा विवाद ल्याउने भ्रामक कुरा, बिन्ती नफैलाई दिनुहोला । जसले समाचार बनाउनु भयो कृपया सत्यतथ्य बुझेर मात्र यस्ता कुराहरू लेखिदिए समाजमा सहिकुराको संप्रेषण हुन्थ्यो ।

अन्त्यमा, म एक कलाकार हुँ त्यो पनि तपाईहरुले बनाइदिएको फेरी पनि अनुरोध गर्छु कलाकार कुनै दल, जति, वर्ग वा धर्म विशेष हुदैनन भन्नेकुरा राम्रो सँग ज्ञात छ । मलाई त्यो समाजिक एकताको परिधि भन्दा परको संस्कारमा नधकेल्नु होला । कुनै दल विशेष भन्दा पनि नेपाली हुनुमा नै गर्व छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seven =