किशोर थापाका आँखा अगाडि मेयर विद्यासुन्दर शाक्य : ‘नमच्चिने पिङको सय झड्का’

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरको कमाण्ड सम्हालेको एक सय दिन पार गरिसकेको छ । मेयरमा निर्वाचित हुनुपूर्व नै शाक्यले १०१ कामको सूची तयार नपारेका पनि होइनन् । तर,भलै उनी कहाँ अड्किन पुगे । झण्डै २० वर्षपछि भएको स्थानीय तहको चुनाव उल्लासपूर्ण सम्पन्न भयो । जब, बैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदै थियो त्यतिखेर देशकै सबैभन्दा ठूलो महानगर काठमाडौंमा जनताको मुख्य चासो जानु स्वभाविकै थियो । मुख्य चासो त, काठमाडौं महानगरको मेयरमा बुवासँग छोरी सरहकी रञ्जु दर्शनाले उम्मेदवार दिएसँगै थप चासोको विषय बन्यो । रञ्जुसँग मेयरमा उत्रने साझा पार्टीका उम्मेदवार किशोर थापा पनि एक हुन् । तर, दुवैले मेयर शाक्यसँग प्रतिस्पर्धामा जित हात पार्न सकेनन् । हाल थापाभन्दा दर्शनाले मनग्गे भोट ल्याउन सफल भएसँगै पाँच बर्षपछि हुने स्थानीय तहको निर्वाचनमा रञ्जुको जित सुनिश्चित भन्ने हल्ला चलिनै रहेको छ । यसै सेरोफेरोमा आधारित रहेर किशोर थापाका आँखा अगाडी मेयर विद्यासुन्दर शाक्य :
निर्वाचित मेयरले सय दिनमा १०१ काम गर्छु भन्नु भएको थियो, मलाई लागेको थियो, नमच्चिने पिङको सय झड्का । काठमाडौंवासीले न्यूनतम अपेक्षा गरेका थिए । उनीहरूको जीवनमा सानोभन्दा सानो परिवर्तन हुने ठानेका थिए, जुन पूरा भएको म देख्दिनँ । मैले आफ्ना समर्थक, मतदातासँग कुरा गर्दा पनि निराशा पाएको छु ।
उहाँहरूले सम्मान कार्यक्रममा भाग लिएको, फुलका माला र खादाहरु पहिरिएको धेरै देखेँ । केही वडाध्यक्षरसदस्यहरु भेट्दा भन्नु भयो, हामीलाई फुर्सद नै छैन, कहिले तिज, कहिले सम्मान कार्यक्रम, कहिले के । राम्रोसँग वडामा बस्न र मेयरलाई भेट्न पाएका छैनौँ भन्नु भयो । त्यसको अर्थ उहाँहरूको तीन महिना सम्मान कार्यक्रम, फूलमाला, खादा लगाउँदा र भोज खाँदैमा बितेको छ । जितेको खुसीयालीमा यो सबै कुरा त हुने नै भए तर सय दिनसम्म खुसीयाली मात्र मनाएर यो सहरको उन्नति हुने अवस्था छैन ।
म आफैँ पनि सफाइ अभियानमा लागेको व्यक्ति भएकाले क्लिन द सिटी अभियानलाई एकदमै सकारात्मक रूपमा लिन्छु । यो अभियान निरन्तर चल्नुपर्छ भन्ने मेरो मान्यता छ । तर, त्यसको व्यवस्थापन राम्रो भएन ।
जस्तो– म हरेक साता वागमती वा शाखा नदीहरुको सरसफाइमा जुटिरहेकै छु । पछिल्लो शनिवार मात्र बल्खु खोलाको शुभारम्भ गरेका छौँ, अर्को साता मनोहराको थाल्छौं । म आफैँ यो अभियानमा लागेको हुनाले उहाँले चाहेको भए त मलाई ‘ब्रान्ड एम्बेसडर’ नै बनाउन सक्नुहुन्थ्यो । म सहयोग गर्न पनि तयार छु । सफाइ अभियान मेरो मिसन हो । यसमा मेरो अनुभव पनि छ र मेरा पछाडि हजारौँ समर्थक छन् । उनीहरूलाई क्लिन द सिटीमा परिचालन गर्न सकिन्थ्यो । तर, उहाँले कहिल्यै मेरो भूमिका खोज्नु भएन ।
हामी अरूजस्तो खुट्टा तानेर बस्ने व्यक्ति होइनौं । उहाँ मेयरमा निर्वाचित भएपछि सपथ ग्रहण कार्यक्रममा मैले भनेको थिएँ, यहाँले थाल्ने कुनै पनि राम्रा काममा निःशर्त सहयोग गर्छु । रञ्जु दर्शनाले पनि भन्नुभएको थियो । अहिले हामी एउटै पार्टीमा छौँ र हामीहरू उहाँलाई सहयोग गर्न तयार छौँ ।
उहाँहरूको तीन महिना सम्मान कार्यक्रम, फूलमाला, खादा लगाउँदा र भोज खाँदैमा बितेको छ । जितेको खुसीयालीमा यो सबै कुरा त हुने नै भए तर सय दिनसम्म खुसीयाली मात्र मनाएर यो सहरको उन्नति हुने अवस्था छैन
हामीले सम्झिरहका छौँ तर उहाँले सम्झिनु भएन भन्नुपर्दा मलाई धेरै दुःख लागेको छ । उहाँले सुरुमा सबैसँग सरसल्लाह गरेर अगाडि बढ्छु भन्नु भएको थियो ।
हाम्रा ४२ हजार मतदाता छन्, उहाँहरूको म्यान्डेटबाट हामी टाढा रहन सक्दैनौं । र, हामी निर्वाचित जनप्रतिनिधिहरुको सफलतामा सहभागी हुन चाहन्छौँ । उहाँजस्तो अनुभवी राजनीतिज्ञले त्यस्तो ( मोबाइल खरिद ) निर्णय नलिएको भए हुन्थ्योजस्तो लाग्छ । जनप्रतिनिधिलाई मात्र होइन, आम मानिसलाई पनि मोबाइल अनिवार्यजस्तै भइसकेको छ । त्यसैले मोबाइल सेट किन्ने निर्णयलाई हामीले ज्यादै नराम्रो रूपमा लिनु हुँदैन । तर, पहिलो बैठकमै मोबाइल बाँड्ने निर्णय गर्दा जनतामा राम्रो सन्देश गएन । उहाँले त्यसभन्दा बढी सकारात्मक निर्णय गर्न सक्नुहुन्थ्यो ।
आम जनताको अपेक्षा हाम्रा जनप्रतिनिधि किफायती होउन्, उनीहरूको जीवनशैली सरल होस्, जनतालाई बढीभन्दा बढी सेवा सुविधा दिउन् भन्ने छ । आफ्नै लागि मोबाइल र गाडी किन्ने निर्णय गर्दा नकारात्मक सन्देश गएकै हो । त्यस्तो मलाई लाग्दैन । म काठमाडौँ महानगरका अधिकृत तहका हरेक कर्मचारी चिन्छु । वागमती सफाइ अभियानमा वडाका धेरै कर्मचारीसँग काम गर्यौँ । उहाँहरूलाई कसरी परिचालन गर्ने भन्ने अहम् प्रश्न हो । कर्मचारीहरू कुन परिस्थितिमा काम गर्छन् र कुनमा गर्दैनन् भन्ने बुझ्नुपर्छ । काम गर्ने पनि हुन्छन्, ठग्ने पनि हुन्छन् । हरेक संस्थामा मिहिनेत गर्ने कर्मचारी २० प्रतिशत हुन्छन् । उनीहरूलाई साथमा लिएर जान सके सफल भइन्छ ।
केशव स्थापितले यही कर्मचारीतन्त्रलाई काम गराएकै हो । तत्कालीन सरकारमा हुँदा हामीलाई काजमा लगेर काम गराउनुभएको हो । त्यस्तै नेतृत्व क्षमता देखाउन सक्नुपर्छ । कर्मचारीको विज्ञता र क्षमता कम छैन । त्यो संयन्त्रलाई हाँक्नचाहिँ सक्नुपर्छ ।
हो, यो सय दिन पूर्ण रूपमा खेर गयो । बडो निराशाजनक स्थिति छ । उहाँ विगतमा वडाध्यक्ष भएर काम गर्नुभएको व्यक्ति । अहिले राम्रो मत ल्याएर जित्नुभयो । आम महानगरवासीले केही आशा र अपेक्षाका साथ उहाँलाई जिताए । तर, उहाँले कामै सुरु गर्न सक्नुभएन ।
हो, कामको परिणाम देखिन समय लाग्छ । मैले भन्ने गरेको छु, आज गरेको कामको परिणाम एक वर्षपछि देखिन्छ र तीन वर्षपछि जनताले लाभ पाउँछन् । तर, केही न केही सुरु गर्न सकिन्थ्यो । धुलो(मैलो, खाल्डाखुल्डी सामान्य कुरा हुन्, त्यसलाई सुधार गर्न सकिन्थ्यो । फुटपाथलाई व्यवस्थित गर्न सकिन्थ्यो । खोलाछेउका झुपडी बस्तीमा केही न केही सुधारका काम गर्न सकिन्थ्यो । महानगरपालिकाको आफ्नो नियन्त्रणमा भएका काम गर्न धेरै खर्च लाग्दैन, डीपीआर बनाउनु पर्दैन ।
विगतमा काँग्रेसको मेयर र उपमेयर हुँदा झगडा परेको पनि मैले देखेको थिएँ । अहिले त झन् उहाँहरू फरक पार्टीको हुनुहुन्छ । एउटै पार्टीमा त झगडा भयो भने फरक पार्टीमा झन् के होला रु पार्टीगत रूपमा उहाँहरुका प्राथमिकता फरक हुन सक्छन् । तर, महानगरवासीको अपेक्षाअनुसार काम गर्न उपमेयरले पनि भूमिका निर्वाह गर्नसक्नु हुन्छ । काँग्रेसबाट त थुप्रै वडाध्यक्ष निर्वाचित भएका छन्, उहाँहरूको साथ लिएर दबाब दिन सक्नुहुन्थ्यो । त्यसो गरेको देखिएन, सुनिएन ।
मैले चुनाव जितेको भए एक सय दिनमा के गर्न सक्थे होला भन्दा पनि हामीलाई जसरी पनि गन्तव्यमा पुग्नुछ । चालकले गाडी हाँकेन भनेर हामी यथास्थितिमा बस्ने होइन, गाडीलाई धकेलेर होस् वा तानेर, अगाडि बढाउनैपर्छ,पहिलो काम फुटपाथलाई सुधार गर्थेँ । किनभने त्यो पूर्ण रूपमा महानगरको प्रत्यक्ष नियन्त्रणमा हुन्छ । फुटपाथ सुधार गर्ने भनेको तुरुन्तैै टायलहरु हटाएर अर्को चिल्लो टायल राख्ने होइन । भएकै चिजलाई राम्रोसँग सम्म पारेर बुढाबुढी र केटाकेटीसमेत हिँड्न सक्ने बनाउँथे । बाटो सफासुग्घर राख्थेँ । हजारौँ स्वयंसेवक परिचालन गरेर शनिवार एक बिहान दुई घण्टा सरसफाई गराउँथेँ । तीन महिनाभित्र काठमाडौँमा जति पनि फुटपाथ छन्, सबै सफा गर्ने थियौँ ।
दोस्रो कुरा, सार्वजनिक यातायातमा १३ रुपैयाँ लिनुपर्ने ठाउँमा १५ लिइरहेका छन् । कतिपय यात्रुलाई भाडा १३ रुपैयाँ हो भने नै थाहा छैन । १५ रुपैयाँलाई १३ मा झार्न ठुलो कसरत गर्नु पर्दैन, कार्यान्वयनमा कडाइ गरे पुग्छ ।
तेस्रो, म ठाउँ(ठाउँमा अत्याधुनिक बस स्ट्यान्ड बनाउने थिएँ । त्यसो त, कति ठाउँमा त्यस्ता बस स्ट्यान्डहरु बनेका पनि छन् । महानगरले आफैँ गर्न सक्ने कामहरुमा पनि पहल भएन, अहिले ।
अबको पाँच वर्षमा यो सहरलाई रूपान्तरण गर्नैपर्छ । यस्तो अस्तव्यस्ततामा कति दिन बस्ने रु भोट दिएर जिताउनेले पनि जनप्रतिनिधिलाई दबाब दिनुपर्यो । सँगसँगै हामी पनि प्रतिपक्षको हिसाबले यो कुरा जोडदार रूपमा उठाउँछौं । हामी सहरलाई अस्तव्यस्त राख्न दिँदैनौं । केही न केही सकारात्मक काम गरेर देखाउँछौ ।
कतिपय कुराका लागि नीतिगत निर्णय गर्नुपर्छ, त्यसमा उहाँले राजनीतिक लाभ(हानिको कुरा गर्नुभएन । कतिपय अवस्थामा साधन-स्रोतहरू हामीलाई उपलब्ध गराइदिनुपर्छ । कतिपय अवस्थामा प्राविधिक सहयोग पनि गर्नुपर्ने हुन्छ ।नेपालमा विभिन्न ठाउँमा बाटो बिग्रिएर गाडीलाई यात्रुहरुले डोरीले तानेको हामीले देखेकै छौँ । हामीलाई जसरी पनि गन्तव्यमा पुग्नुछ । चालकले गाडी हाँकेन भनेर हामी यथास्थितिमा बस्ने होइन, गाडीलाई धकेलेर होस् वा तानेर, अगाडि बढाउनैपर्छ ।
उहाँहरुलाई हामी दबाब पनि दिन्छौं । यसबीचमा उहाँहरूले राम्रा काम सुरु गर्नुभयो भने त्यसमा सहयोग पनि गर्छौँ । भएन भने केही न केही गर्छौँ, महानगरवासीलाई बन्धक बनाएर पाँच वर्षसम्म राख्दैनौं । यो बन्धनबाट मुक्त गर्छौ हामीलाई कसैको छायाँ बन्नु छैन । देखिने गरेर हामी नेतृत्व लिन्छौं ।
विवेकशील पार्टीसँग हामीले चुनावअघि नै मिल्न चाहेका हौँ, कोसिस पनि गरेका हौँ । तर, पर्याप्त समय पाएनौं । प्राविधिक रूपमा पनि सम्भव भएन । तर, मैले र रञ्जु दर्शनाले पाएको भोट हेर्ने हो भने परिवर्तनकारी जमात हाम्रो पछाडि छ भन्ने बुझेका छौँ । तर, परिवर्तन चाहनेको सङ्ख्याभन्दा नचाहनेको सङ्ख्या अलि बढी देखियो ।
हो,बेलाबेला म सडकमा हिँड्छु र सार्वजनिक बस चढ्छु, धेरै जनासँग कुराकानी हुन्छ । पुराना पार्टीहरूलाई भोट हालेर गल्ती गरियो भन्ने धेरैको महसुस पाएको छु । एक ठाउँमा सरसफाई अभियानका क्रममा जाँदा स्थानीयवासीको समूहले मसित क्षमायाचना गर्नुभयो । उहाँहरूले महसुस गर्नुभयो, म अहिले पनि सडक बढारेर हिँडेको छु । खोलानालामा डुबेर काम गरिरहेको छु । मेरो काम गराई देखेर उहाँहरूले भोट नदिएकामा पछुतो मान्नुभएको छ । तर, चुनाव भनेको यस्तै हो । यसमा धेरै फ्याक्टरले काम गर्छ । चुनावमा नजिते पनि मैले आफ्नो भूमिका छाडेको छैन ।
विद्यासुन्दर जी व्यक्तिगत रूपमा असाध्यै राम्रो मान्छे हुनुहुन्छ । केही गर्नुहुन्छ भन्ने आशा थियो । तर, सय दिनमा कुनै लक्षण देखाउनुभएन । आगामी दिनमा उहाँको टिमले नयाँ कार्यक्रम सुरु गर्दैछ भने ठिक छ । त्यो हामीले चाँडै नै देख्न पाउनुपर्यो ।
तर, सेवा, सुविधा लिएर, देश-विदेश भ्रमण गरेर, फुलमाला र खादा लगाएर पाँच वर्ष बिताउनुभयो भने हामीले राजनीतिक रूपमा पनि केही पहल गर्नुपर्ने हुन्छ । हामीले दबाब दिने मात्र होइन, महानगरवासीको जीवनमा केही परिवर्तन गर्नैपर्ने छ । तीन महिनाको समय बितेको छ, अब अर्को तीन महिना कुर्छौं । यसबीचमा केही कार्यक्रमको खाका आउँछ भन्ने अपेक्षा गरेको छु । आएन भने उहाँहरूले यो सहरमा केही गर्नुहुन्न भन्ने निष्कर्षमा पुग्छु ।
हामीले उहाँहरुका लागि ग्रेस पिरियड दिएका हौँ । अरू दल भए अहिले नै टायर बालिसक्थे, चक्का जाम गर्थे । हामी त्यस्तो काम गदैनौं । हामी सुसंस्कृत राजनीति गर्न अगाडि बढेको छौँ । त्यसैले ६ महिना ग्रेस पिरियड दिएका हौँ । यसबीचमा हाम्रो सहयोग माग्नुभयो भने हामी दिन्छौं । हाम्रो सुझाव र सल्लाह लिएर कुनै काम गर्नुभयो भने त्यसको उत्तरदायित्व लिन्छौं । त्यसको दोषीको भागिदार हामी पनि हुन्छौं । -अनलाइनखबरबाट








