नौ दशक उमेरका नेपाली जीविकाका लागि राँगो पाल्दै

हरि बाँस्तोला, पोखरा । सुन्दा अचम्म लाग्न सक्छ, हाम्रो समाजमा ६० वर्ष उमेर काटेपछि आफूलाई अशक्त महसुस गर्ने प्रचलन अत्यधिक रहेपनि यहाँका एक नौ दशक उमेर पुग्नै लागेका ज्येष्ठ नागरिकले भने अहिले पनि राँगो पालनलाई आय आर्जनको प्रमुख स्रोत बनाउँदै आएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १७, हनुमानटोल निवासी ८९ वर्षीय अमरबहादुर नेपाली (ढोडेली)ले राँगो पालनलाई विगत तीन दशकदेखि निरन्तररुपमा आफ्नो आम्दानीको स्रोत बनाएर सबैका लागि अनुकरणीय बनेका छन् । भैँसीले राँगो खोज्यो भने पशुपालक कृषकको माग अनुसार सम्बन्धित व्यक्तिको गोठमा नै राँगो डो¥याएर पु¥याइदिने तथा घरमा भैँसी ल्याउँदा गोठबाट राँगो फुकाउनु नेपालीको दैनिकी हो ।

गत वर्ष राँगोले लगभग १५० भैँसीलाई प्रजनन गराउँदा रु एक लाख ६० हजार आम्दानी गरेका नेपाली यस वर्ष रु दुई लाखभन्दा बढी आम्दानी गर्ने सोचमा छन् ।

“घरमै लिएर आएमा राँगो फुकाइदिन्छु एउटा भैँसी प्रजनन गराएको रु एक हजार लिँदै आएको छु”, उनले भने, “भैँसी पालक कृषकको आग्रह अनुसार राँगो डो¥याएर घरमै पु¥याउँदा भने थप रु २०० लिने गरेको छु ।”

“मैले ३० वर्षभन्दा पहिलेदेखि राँगो पाल्दै आएको छु”, उनले भने, “उन्नत जातको राँगो पालेका कारण स्थानीय जातका भँैसीका सन्तान पनि बढी दुधालु हुने गरेको भैँसी पालक कृषकले भन्दै आएका छन् ।”

एक वर्षअघि रु ५० हजारमा खरिद गरेको उन्नत जातको राँगोले दुई वर्षको अवधिमा रु चार लाखभन्दा बढी आम्दानी दिएको र मासुमा बिक्री गर्दासमेत रु ७० हजार देखि ८० हजारसम्म पर्ने हुँदा राँगो पालनबाट दोहोरो फाइदा हुने गरेको उनले बताए ।

पहिले पहिले घर नजिकैको बिरुवा फाँटमा धान बाली मात्र हुँदा बाँकी अवधिमा चरन हुने र घाँस पनि प्रशस्त पाइने हुँदा स्थानीय बासिन्दाले धेरै सङ्ख्यामा भैँसी पाल्ने गरेको र आसपासमा राँगो पाउन मुस्किल भएकै कारण तत्कालीन समयदेखि नै आफूले राँगो पाल्न सुरु गरेको उनले राससलाई बताए ।

राँगो पाल्न थालेपछि यहाँका भैँसी पालक किसानलाई निकै सुविधा पुगेको बताउँदै नेपालीले भन्नुभयो, “राँगाको माग पनि उस्तै बढी थियो यता आम्दानी पनि हुने, त्यसैले यो पेसालाई निरन्तरता दिँदै आएको हुँ ।”

तीस वर्ष अगाडि राँगो पाल्दा एउटा भैँसी प्रजनन गराएको रु ५० लिने गरेको बताउने उनका स्मरणमा रुपैयाँको सट्टामा दाइँ हाल्दा खलामा नै गएर धान तथा पराल उठाउने गरेको धेरै कुरा अझै ताजै छन् ।

“मैले स्वास्थ्यले साथ दिएसम्म राँगो पाल्ने विचार गरेको छु”, उनले भने, “अहिले पनि आफूलाई आवश्यक रकम खाँचो भएको छैन, नातिनातिना, पनातिपनातिनी घरमा आउँदा आफ्नै कमाइले खुसी बनाउन पाएको छु ।”

राँगोलाई विशेष गरी घाँसका साथै अण्डा, दूध, चोकर तोरीको तेलजस्ता प्रोटिनयुक्त पदार्थ खुवाउने गरेका कारण पालन पोषणमा बढी खर्च आउने गरेको उनलाई राँगोपालनमा सघाउँदै आएकी श्रीमती मंंगलमाया नेपाली बताउँछिन् । अहिले पनि उनका गोठमा सानो र ठुलो गरी दुईवटा राँगा रहेका छन् ।

पाँच वर्षअघिसम्म मौसममा एकै दिनमा चार पाँच वटासम्म भैँसी ल्याउने गरे पनि धान झुल्ने बिरुवा फाँटमा घरैघर भरिएपछि घाँसको अभाव बढ्दै जानुका साथै भैँसी पाल्नेको सङ्ख्या घट्नु र उमेरका कारण पनि अब राँगो पाल्न कठिन बन्दै गएको उनको दुखेसो छ ।

कृत्रिमको तुलनामा प्राकृतिक प्रजनन बढी सफल हुने गरेका कारण अहिले पनि यस क्षेत्रका पशुपालक कृषक भैँसीले राँगो खोज्दा प्राकृतिक प्रजननमा नै जोड दिने गरेका कारण राँगोपालन व्यवसाय फस्टाउँदै गएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =