यस्ताे सैलुन, जहाँ तरबार र आगोले काटिन्छ कपाल

एजेन्सी । संसारमा जतिसुकै भव्य वा निम्न स्तरको सैलुन नै किन नहोस् जहाँपनि कपाल कैँचीले नै काटिन्छ । तर, संसारमा एउटा यस्तो सैलुन पनि छ जहाँ कैँचीले होइन, आगो र तरबारले कपाल काटिन्छ ।
स्पेनमा यस्तो डरलाग्दो सैलुन छ । हेयर स्टाइलिस्ट अल्बर्टो ओलमेडोले सञ्चालन गरेको सैलुनमा तरबारका साथै आगो निकाल्ने टर्च अर्थात् ब्लो टर्चबाट कपाल काटिन्छ ।तरबार र आगोसँगै स साना कैँची पनि प्रयोग गर्छन् उनी । ब्लो टर्चको प्रयोग ग्राहकको रुचि अनुसार गरिन्छ । अर्थात् कपालमा आगो लगाउने नलगाउने भन्ने कुरा सोधेर मात्रै ब्लो टर्चबाट कपाल डढाइन्छ ।

अल्बर्टोले कपालको मामिलामा सधैँ नयाँ नयाँ प्रयोग गर्ने गरेका छन् । उनले पुरानो स्टाइललाई सधैँ अपनाउँदैनन् र नयाँ नयाँ स्टाइलमा कपाल काटिदिन्छन् । उनी आफ्नोमा आउने ग्राहकसँग पहिले कुराकानी गर्छन् । कुराकानीबाटै थाहा पाउँछन् की ऊ कस्तो व्यक्तित्व भएको मानिस छ । अनि सोही आधारमा उक्त ग्राहकको हेयर स्टाइल छनोट गर्छन् र कपाल काटिदिन्छन् । अहिलेसम्म आफूले कैयौँ मानिसलाई नयाँ हेयर स्टाइल दिएको दाबी उनको छ । त्यसैले होला उनको सैलुनमा ग्राहकको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ ।








