साझा यातायातको ‘सेमी लो फ्लोर’ बस खरिद गर्ने सम्झौता

१ असार, काठमाडौं । साझा यातायातले १२ वटा डिलक्स बस खरिदका लागि सम्झौता गरेको छ । नेपालमै पहिलोपटक भित्रिने ‘सेमी लो फ्लोर’ बसका लागि आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिएको साझाले जनाएको छ । बस किन्नकै लागि काठमाडौं महानगरपालिकाले साझा यातायातसँग ५ करोड बराबरको सेयर किनेको छ ।

साझाले गरेको टेण्डरमा ५ करोड रुपैयाँमा १२ वटा डिलक्स र एउटा सेमी फ्लोर बस दिने गरी अशोक ले-ल्याण्डसहित तीन कम्पनीले प्रस्ताव हालेका थिए । जसमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने आशेक ले-ल्याण्डकै बस ल्याउने गरी आईएमई अटोमोटिभ्ससँग सम्झौता भएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाडेयले जानकारी दिनुभयो ।

अब महानगरपालिकाले पूर्व समझदारी अनुरुप ५ करोडको चेक उपलब्ध गराउना साथ बस ल्याउन प्रतिपत्र थालिने पाडेयले बताउनु भयो । ‘हामी काठमाडौं महानगरले दिने भुक्तानीको प्रतिक्षामा छौं’ पाण्डेले भने, ‘जति छिटो रकम आउँछ, हामी त्यति नै छिटो गरेर बस भित्र्याउँछौं र सेवा थाल्छौं ।’ एलसी खोलेपछि अर्डरअनुरुपको बस बनाउने काम सुरु हुनेछ ।

स्थानीय तहको मितेरी यातायात

साझा यातायातले अब किन्ने डिलक्स बसलाई अन्तर नगर यातायातका रुपमा सञ्चालन गर्ने बताइएको छ । काठमाडौं महानगरबाट अन्तर महानगर/उपहमहानगर/नगरस्तरीय यातायातका रुपमा साझाका सुविधा सम्पन्न बसहरु किन्न लागिएको हो । यसलाई यातायात मार्फत काठमाडौं महानगरलाई अन्य स्थानीय निकयासँग ‘मितेरी’ अर्थात मित्रता जोड्ने माध्यमका रुपमा पनि विकास गर्ने साझाको योजना छ । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिृकत ईश्वरराज पौडेलले अब केही दिनमै साझालाई ५ करोड रुपैयाँ हस्तान्तरण गरिने बताउनु भयो ।

कस्ता हुन्छन् डिलक्स बस ?

स्तरीय फोल्डिङ सिटसहितको बसमा ४० सिटे हुनेछ । डिलक्स बसमा उपलब्ध हुने सबै सुविधा हुनेछ । कुन-कुन शहरमा साझाका नयाँ बसहरु चलाउने भनेर निर्णय भने भएको छैन । बस आएपछि काठमाडौं महानगरसँग छलफल गरेर रुट टुंग्याइने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताउनु भयो । शहरी यातायातलाई सुधार्न सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गर्न साझाले लामो दूरीका बस सेवामा पनि आफ्नो मानक यिनै बसमार्फत कायम गर्ने विश्वास गरेको छ ।

त्यस्तै साझाले काठमाडौंभित्र सञ्चालन गर्न लगाउने गरी ‘सेमी लो फ्लोर बस’ किन्न पनि सम्झौता गरेको छ । साझाले पछिल्लो पटक महानगरलाई १० करोडको सेयर दिएर ल्याएको ३० वटा अपाङ्गमैत्री बस काठमाडौंका विभिन्न रुटमा चलिसकेका छन् ।

‘सेमी लो फलोर’ बस के हो ?

साझाले पहिलो चरणमा एउटा बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना बनाएको छ । लो फ्लोर सको ग्राउण्ड क्लेयरेन्स एकदमै कम हुन्छ । त्यसैले एकदमै मिलेको र सम्म सडकमा मात्र यो बस चल्छ । यो बस समान्य भन्दा बढी महंगो हुन्छ । यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई कुनै लिफ्टको जरुरत पर्नेछैन ।

साझाले अहिले ल्याएको बसमा म्यानुअल लिफ्ट छ । जसमा अपाङ्गता भएका व्यक्तिहरुलाई चढाउने र ओराल्ने समयमा समयमा मान्छेले मेहेनत गरेर जोड्नुपर्छ । तर, लो फ्लोरको बसमा चढ्न ओर्लन कुनै असहज हुने छैन ।

समान्य बसमा कम्तिमा ९ सय मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स हुन्छ । कतिपयमा त त्यो भन्दा पनि उच्च हुन्छ । तर, लो फ्लोरको बसमा ४ सय मिलिमिटरको क्लेयरेन्स हुन्छ । यस्ता बस सुविधा सम्पन्न र उत्तिकै आरामदायी पनि हुन्छन् । तर, चल्नका लागि भने खाल्डाखुल्डी र उबडखाबड नभएको चिल्लो सडक भने चाहिन्छ । अब साझाले किन्ने यो बस एयरपोर्ट क्षेत्रमा चलाउन सकिने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =