कलेज जाने महिलामाथि दुर्ब्यवहार हुने घटना पनि बढे

विष्णु जोशी 

पुस ११, धनगढी ।  निर्वाचनका बेला जनशक्ति अभाव भएको भन्दै धनगढी नगर क्षेत्रमा एकैपटक मोबाइल गस्ती घटाएको नेपाल प्रहरीले निर्वाचन सकिएपछि पनि बजारमा गस्ती बढाउन नसक्दा चोरी, डकैतीका घटनाहरू बढीरहेका छन् ।

नगर क्षेत्रको सुरक्षाको जिम्मा पाएको वडा प्रहरी कार्यालय नगरको सुरक्षा भन्दा पनि असुली धन्दामा लागेपछि उपमहानगर क्षेत्रमा सुरक्षा व्यवस्था नाजुक बनेको नगरबासीले आरोप लगाएका छन् ।

धनगढी उपमहानगरका वासिन्दाले वडा प्रहरी कार्यालय शान्ति सुरक्षाका लागि खटिनुभन्दा पनि हप्ता असुल्नमै ठिक्क भएको आरोप लगाएका हुन । नगर क्षेत्रमा प्रहरीको सक्रियता घटेपछि, मुख्य बजारकै पसलहरुमा चोरी हुन थालेको छ भने सम्साझै लुटपाटका घटना पनि बढीरहेका छन् । अझ बिहानको समयमा कलेज जाने महिलामाथि दुर्ब्यवहार हुने घटना पनि बढेका छन् ।

पछिल्ला केही सातायता धनगढी बजारमा चोरीका घटना बढ्दै गएपनि प्रहरी भने त्यस्ता घटना रोकथाम गर्नुको साटो असुली धन्दामा मात्रै लागेको स्थानीय वासिन्दा महादेव जोशीले अरोप लगाउनुभयो । घटना हुँदा प्रहरीलाई फोन गरेर बोलाएपनि घण्टौसम्म नआउने गरेको उहाँको भनाई छ । प्रहरीले निर्वाचनका बेला विभिन्न अस्थाई बीटहरुबाट हटाईएका प्रहरी अहिले पनि त्यहाँ आउन थालेका छैनन् ।

धनगढीको उत्तरबेहडीमा ओमप्रकाश पन्तको हत्यापछि राखिएको प्रहरी पोस्ट पनि आजभोली खाली छ । तारानगर, हसनपुरको भित्री भाग, शिबनगर र बोराडाँडी तथा विसालनगरको भित्री बस्तीमा प्रहरीको रात्रीकालिन गस्ती शून्य भएको छ । तर सुरक्षाका लागि खटिनुपर्ने प्रहरी, भन्सार छली ल्याएका सामान समात्दै असुली गर्नमै ठिक्क भएको छ ।

अझ अबेरसम्म खुल्ने डान्सबारको बाहिर, अबेरसम्म खुल्ने होटलहरुको बाहिर ढुक्ने गरे पनि दिनदाहाडै हुने आपराधिक घटना रोकथाममा भने निस्क्रिय भएको नगरवासिको आरोप छ । प्रहरीका हाकिमै पिच्छे नगर सुरक्षाको जिम्मा पाएको वडा कार्यालयको प्रमुख फेरिने गरेका छन् । प्रहरीका उच्च अधिकृतहरुकै निर्देशनमा वडा प्रहरीको टोली हप्ता असुल्न खटिने नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्यालले बताउनुभयो ।

रकम असुली गरेर ल्याउने आफू निकटका प्रहरी अधिकारीलाई वडाको जिम्मा दिने गरिएको उहाँको आरोप छ । कैलालीमा जिल्लाका एसपी र डिआईजी फेरीने बिक्तीकै वडाका प्रहरीको पनि सुरुवा हुने गरेको छ । हप्ता असुलेर प्रहरीका हाकिमहरुको सेवा चाकरीका लागि मात्रै आएका वडा प्रहरीका प्रमुखहरुबाट सुरक्षाको प्रत्याभुती पाउन नसकेको आम नागरिकहरूको भनाई छ । राती मात्रै होइन बिहान स्कुल कलेज जाने छात्राहरुमाथि सडक बत्ती निभाएर बाटोमा ढुकेर दुब्र्यवहार गर्ने घटनाहरू पनि बढी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =