बाराही जङ्गल लजलाई दक्षिण एसियाली अवार्ड

कार्तिक ३०, काठमाडौँ । पर्यटकलाई उच्चस्तरीय सेवा पु¥याए बापत नेपालको एक सुविधा सम्पन्न रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । चितवनस्थित बाराही जङ्गल लजले दक्षिण एसियाकै उत्कृष्ट पर्यटन पुरस्कार ‘साउथ एशियन ट्राभल अवार्ड’ (साटा) जितेको हो ।

सो संस्थाले यसै वर्ष प्रदान गरिएका ‘लिडिङ वाइल्ड लाइफ होटेल रिसोर्ट, लिडिङ इको होटेल रिसोर्ट, लिडिङ लक्जरी होटेल, रिसोर्ट समेत गरी तीन विधाका राष्ट्रिय स्तरका पर्यटन पुरस्कार समेत जितेको छ ।

माल्दिप्सको राजधानी मालेमा हालै आयोजित अवार्ड वितरण समारोहमा बाराही जङ्गल लजलाई एसियाली अवार्ड प्राप्त भएको लजका संस्थापक अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए ।

अवार्ड संस्थाको व्यावसायिक जीवनकै एक महत्त्वपूर्ण कोशेढुंगा भएको र आगामी दिनमा व्यवसायलाई थप उचाइमा लैजान प्रेरणा मिलेको उनले बताए । स्वदेशी तथा विदेशी पाहुनालाई अझै उत्कृष्ट आतिथ्यता प्रदान गर्ने तथा दिगो पर्यटनलाई बढावा दिनका लागि निरन्तरता दिने अध्यक्ष पौडेलको भनाइ छ ।

अवार्डबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा बाराही लजका बजार व्यवस्थापक योगेन्द्र विक्रम थापाले एसियाली अवार्ड रिसोर्टमा आधारित संसारकै उत्कृष्ट पुरस्कार भएको उल्लेख गरे ।

सार्कका अन्तरदेशीय पर्यटक बढाउन तथा एक अर्काबीच भ्रातृत्व कायम गर्न सो अवार्डले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्छ । अवार्डका लागि नेपालका बाराही, अन्नपूर्ण, सांग्रिला लगायत २९ वटा होटेल सहभागी थिए भने भारतबाट ५०० र माल्दिप्सबाट २०० वटा होटेल रिसोर्टले प्रतिस्पर्धा गरेका थिए ।

चितवनको मेघौलीस्थित राप्ती नदी किनारमा रहेको थारू बस्तीमा सञ्चालित बाराही लजले आन्तरिक एवं बाह्य पर्यटकलाई नदीका दुवै किनारबाट देखिने चितवन राष्ट्रिय निकुञ्ज तथा राप्ती किनारका मनमोहक दृश्यको अवलोकन गराउँदै आएको छ ।

लजको भित्री एवं बाहिरी सजावटले थारू जातिको मौलिक संस्कृतिका महत्त्वपूर्ण पक्षसँग पर्यटकलाई परिचित गराउँछ । कूल २० बिघा क्षेत्रफलमा फैलिएको उक्त लजमा ३४ वटा पूर्ण सुविधायुक्त कोठा तथा एक सुइटसमेत रहेको छ । लजका प्रत्येकका कोठाबाट चितवन राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्यको आनन्द लिन सकिन्छ ।

लजले थारू समुदायको मौलिक कला, सीप र संस्कृतिसँग समेत पर्यटकलाई साक्षात्कार गराइरहेको छ । लजको मातृ संस्था होटेल बाराही पोखराको लेक साइडमा करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको छ । काठमाडौँ लगायत पर्यटकीय क्षेत्रमा थप व्यवसाय विस्तार गर्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =