प्रदेश नम्बर १ को मुख्यमन्त्रीका लागि दुई भाईबीच महाभिडन्त : ‘तँ भन्दा म के कम’

काठमाडौँ, माघ २६ । आज शुक्रबार प्रदेश नम्बर १ को संसदीय दलको नेताको चयन हुँदैछ । जसका लागि भीम आचार्य र शेरधन राईबीच भिडन्त हुने भएको छ ।
आज ११ बजे मनोनयन दर्तासँगै दिउँसो चुनाव सम्पन्न हुने भएको छ । पार्टीको केन्द्रीय सचिव तथा प्रदेश १ को संयोजक आचार्य र पोलिटब्युरो सदस्य तथा प्रदेश सह संयोजक राईबीचमा घमासान प्रतिस्पर्धा हुँदैछ ।

संसदीय दलको नेता नै प्रदेश प्रमुख हुने भएकाले प्रदेश १ को मुख्यमन्त्री को बन्ला भन्नेमा सबैको ध्यान केन्द्रीत भएको देखिन्छ । आचार्यलाई माधव नेपाल र झलनाथ खनाल गुटका समूहले पूर्ण सहयोग गर्ने भनेर हल्ला गरिँदै आएको अवस्था छ । झनाथ खनालको भान्जी ज्वाइँ समेत रहेको उनी तत्कालीन खनालको सरकारमा पर्यटनमन्त्री समेत बनेका थिए भने, माधव नेपालको समर्थन पाएर सचिव पदमा निर्वाचित भएका थिए । यसकारण उनी प्रदेश १ को मुख्यमन्त्री बन्नेमा पूर्ण विश्वस्त रहेको उनी निकट एमालेका एक नेताले जानकारी गराए ।
यता, सदैव संस्थापन पक्षबाट साथ पाउदै आएका राई आफू मुख्यमन्त्री बन्ने ढुक्क रहेको बताउँछन् । तत्कालीन ओली सरकारमा सञ्चारमन्त्री समेत भइसकेका उनी नेपाल र खनाल सबैले साथ सहयोग गर्नेमा विश्वस्त रहेको पनि ति नेताले बताए । ‘लगभग उहाँको जित निश्चित छ । भरैँ, निर्वाचनपछि थाहा हुन्छ । तर, यो खेल भने उहाँले नै जित्ने कन्फर्म छ ।’
उता,प्रदेश ३ को संसदीय दलका नेता तथा मुख्यमन्त्रीको दावेदार राजेन्द्र पाण्डेले भने उम्मेदवारी एिनन् । उनले उम्मेद्वारी नदिएसँगैअष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलबीच महाभिडन्त हुने भएको छ । यसअघि मुख्यमन्त्रीको दावेदार रहेका काठमाडौँ महानगरका पूर्व मेयर केशव स्थापित, सानु श्रेष्ठ, रामेश्वर फुयालले उम्मेदवारी दिने चर्चा चलेपनि उम्मेदवारी दर्ता गरेनन् ।








