टुक्रिएको जिल्लामा शाखा माग गर्दै महासंघमा तालाबन्दी

परासी, माघ २२ । नेपाल पत्रकार महासंघ नवलपरासीमा शाखा गठन लगायतका माग गर्दै पेशागत संगठनहरुले तालाबन्दी गरेका छन् ।संघीय संरचना अनुसार नवलपरासी दुई जिल्लामा विभाजन भइसकेको र त्यस अनुरुप जिल्ला शाखा गठनका लागि लिखित माग गर्दासमेत वास्ता नगरेको भन्दै तालाबन्दी गरेको प्रेस चौतारीका जिल्ला संयोजक केशव पराजुलीले बताए ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम नवलपरासी प्रेस चौतारी नेपालका जिल्ला संयोजक केशव पराजुली, प्रेस सेन्टरका जिल्ला संयोजक बेनिमाधव बस्याल, क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष घनश्याम पोख्रेल लगायतको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले तालाबन्दी गरेको हो ।
जिल्ला विभाजन अनुसार शाखा गठनका लागि महासंघमा आवद्ध ४२ जना सदस्यहरु र विभिन्न चार पेशागत संगठनहरुले हस्ताक्षर गरी जिल्ला र केन्द्रमा निवेदन दिदां समेत सुनुवाई नभएकाले तत्काल माग पूरा गर्न आग्रह गरिएको छ ।
विभिन्न ७ सुत्रिय मागमा महासंघका अध्यक्षले आफ्नो अनुकुलमा कार्यक्रम गर्ने, पुस मसान्त भित्र नयाँ सदस्यहरुको आवेदन माग गर्ने केन्द्रको निर्देशनलाई अवज्ञा गर्ने, महासंघका केही पदाधिकारी र सदस्यहरुलाई नै जानकारी नदिई अध्यक्ष आफैले बोलाएर बैठक गर्ने, शाखामा पेश गरेका लिखित निवेदन उपर बैठकमा ऐजण्डा नै नल्याउने र आफु अनुकुलका निर्णय गर्ने जस्ता आरोप लगाउँदै शाखामा तालाबन्दी गरेको माग पत्रमा उल्लेख छ ।
शाखा गठनका लागि तत्काल प्रकृया अघि बढाउनसमेत पत्रकारहरुले केन्द्रीय महासंघ समक्ष आग्रह गरेका छन् ।








