गोपाल किरातीलाई कारवाही गर्न १८ पिविएमको माग

काठमाडौं, माघ २३ । माओवादी केन्द्रका नेता एवम् प्रदेश १ का इञ्चार्ज गोपाल किराती (साइँला)लाई कारवाही गर्न १८ जना पोलिटव्यूरो सदस्यहरुले माग गरेका छन् । १८ पोलिटव्यूरो र एकजना सचिवालय सदस्य गरी १९ जना नेताहरुले प्रचण्डलाई पत्र नै लेखेर किरातीलाई कारवाहीको माग गरेका हुन् ।

आगामी २५ र २६ गते तय भएको प्रदेश सचिवालयको बैठक किरातीको नेतृत्वमा नबस्ने भन्दै उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गरिदिन अनुरोधसमेत गरेका छन् ।

किरातीलाई कारवाहीको माग गर्दै प्रचण्डललाई पत्र लेख्नेहरुमा सचिवालय सदस्य टंक आङवोहाङ, पोलिटव्यूरो सदस्यहरु श्रीप्रसाद जवेगु, हेमराज भण्डारी, पेसल खतिवडा, मुकसामहाङ मेन्याङवो, झलकसिंह दर्लामी, शेरबहादुर बस्नेत, धर्मशिला चापागाईं, हर्क नेम्वाङ, राजु आचार्य, गोपी अछामी, रामकुमारी चौधरी, बाबुराम गौतम, सुदन किराती, विरेन्द्र शर्मा, गणेश उप्रेती, डम्बर सुवेदी, दुर्गा चापागाइँ र अरुण सुन्दास रहेका छन् ।

पत्रमा लेखिएको छ, ‘क. साइँलाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्णयको उल्लंघन गरेको, जिम्मेवारी बहन नगरेको र वाम गठबन्धनविरुद्ध बिभिन्न कृयाकलाप गर्दै हिँडेकोले उहाँकै नेतृृत्वमा उक्त बैठक बस्नु अनुचित देखिन्छ ।’ पत्रमा थप लेखिएको छ, ‘निर्वाचनमा पार्टीको निर्णय उल्लंघन गर्ने, जिम्मेवार ठाउँमा रहेर जिम्मेवारी पूरा नगर्ने, गठबन्धनविरुद्ध जाने कुनै पनि पार्टी सदस्यमाथि अनुशासनको कारवाही हुन्छ र हुनुपर्दछ ।’

प्रदेश नम्बर १ का माओवादी संयोजक सावित्रीकुमार काफ्लेकी श्रीमती विना पोखरेललाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाएपछि असन्तुष्टि चर्किएको थियो । सहिद परिवारलाई बेवास्ता गर्दै पोखरेललाई टिकट दिलाउन किरातीेले भूमिका खेलेको स्थानीय नेताहरुको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =