पुनः मतदान नगर्न सर्वोच्चको आदेश


किशोर खनाल, भरतपुर । भरतपुर महानगरपालिका वडा नं– १९ मा पुनः मतदान नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । पुनः मतदान गराउन निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
निर्वाचन आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाई १९ नं वडाका खुला सदस्यका उम्मेदवार गुन्जमान विक र सोही वडाका अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय बदर गर्न माग गर्दै आइतबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । निवेदनमा ९० मतलाई बदर मतको सूचीमा राखी गणना कार्य गर्न/गराउन र पुनः मतदान गर्ने निर्णय बदर गर्न/गराउन माग गरिएको थियो ।
न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले भरतपुर महानगरपालिको वडा नं १९ मा जेठ २८ गतेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले बताए । यसअघि निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान गराउन प्रमुख निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । अब कम्तीमा ६ दिन मतदान र मतगणना दुबै नहुने भएको छ ।
न्यायाधीश जबराको एकल इजलासले रिटमाथि सुनुवाई गर्दै आयोगलाई २८ गते सर्वोच्च अदालतमा हाजिर हुन पनि आदेश दिएको छ ।
सर्वोच्च अदालतले वडा नं १९ को मतदान नगर्न भनी दिएको अन्तरिम आदेश केही सकारात्मक रहेको एमालेका जिल्ला उपाध्यक्ष खड्काले मकालु खबरलाई बताए । उनले भने, ‘सर्वोच्चको निर्णय केही हदसम्म सकारात्मक छ, तर यो पूर्ण छैन ।’
उपाध्यक्ष खड्काले सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय उल्टाएर पुनः मतगणना गराउने आफूलाई विश्वास भएको बताए । उनले भने, ‘सर्वोच्च जस्तो निकायले आयोगको निर्णयलाई सदर गर्लाजस्तो मलाई लाग्दैन । आयोगको निर्णय सर्वोच्चले उल्टाउन सक्ने मलाई लाग्छ ।’
उनले यदी आयोगको निर्णय नै सर्वोच्च अदालतले पनि सदर ग¥यो भने एमाले निर्वाचनबाट नभाग्ने बताए । ‘एमाले लोकतन्त्रमा विश्वास गर्ने र जनमतको कदर गर्ने पार्टी हो । सर्वोच्चले आयोगको निर्णय मान्यो भने एमाले आफ्नो धारणा लिएर जनतामाझ जानेछ ।’ उनले भने ।
मतदानको मिति तोक्न एमालेबाट अस्वीकार

भरतपुर । भरतपुर महानगरपालिकाको वडा नं १९ को निर्वाचनको मिति तोक्न एमाले चितवनले अस्वीकार गरेको छ । प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं १९ को महानगरको निर्वाचनको मिति तोक्न सोमबार राजनीतिक दलहरुको बैठक बोलाएका थिए । बैठकमा एमालेले अदालतको आदेश पर्खन र हतार गरेर निर्वाचनको मिति घोषणा नगर्न आग्रह गरिएको थियो ।
बैठकमा एमालेका चितवन उपाध्यक्ष तेजेन्द्र खड्का, मेयर उम्मेदवार देवी ज्ञवाली र अधिवक्ता जगन्नाथ भण्डारी उपस्थित थिए । ‘बैठकमा प्रमुख निर्वाचन अधिकृतले भरतपुर महानगर वडा नं १९ को मिति तोक्न प्रस्ताव राख्नुभएको थियो’ उपाध्यक्ष खड्काले भने, ‘हामीले अस्वीकार ग¥यौँ ।’
उपाध्यक्ष खड्काले सर्वोच्च अदालतको फैसला नआएसम्म पुनः निर्वाचनको मिति नतोक्न प्रमुख निर्वाचन अधिकृतलाई आग्रह गरिएको बताए । एमालेले सहमति नजनाएपछि वडा नं १९ को पुनः मतदानको मिति तोकिएको छैन । निर्वाचन आयोगले प्रमुख निर्वाचन अधिकृतलाई नै निर्वाचनको मिति तोक्न निर्देशन दिएको छ । माओवादी केन्द्रबाट नेता नारायण दाहाल सहभागी भएका थिए । नेता दाहालले बैठकमा हामीले आयोगबाट जे निर्देशन भएको छ त्यही अनुसार नै अगाडि बढ्नुपर्छ भन्ने सल्लाह दिएको बताए । उनले भने, ‘हामी आयोगको निर्णयअनुसार निर्वाचन घोषणा गर्नुपर्छ भनेर बैठकबाट निस्केका थियौँ ।’
आयोगले वडा नं १९ को सम्पूर्ण मतपत्र अवैध भनेको छ । मतगणनाको क्रममा भरतपुर १९ को मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सो वडाको पुनः मतदान गर्न प्रमुख निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।








