जंगली हात्ती आतङ्क, बाँच्ने ठेगान नभएका बाहुनडाँगी बासी


भरतराज शर्मा(गोपाल) झापा
झापाको साबिकको बाहुनडाँगी गाविस तथा हालको मेचीनगर नगरपालिका–२ बाहुनडाँगीमा जंगली हात्तीले आतङ्क मच्चाउँदा खेतीयोग्य जमिन समेत बाँझो बन्दै गएको छ ।
छिमेकी मुलुक भारतबाट आएका हात्तीले किसानहरूले लगाएको बाली खानुका साथै नष्ट गरिदिनाले बाहुनडाँगीमा बर्सेनि खेती योग्य जमिनमा खेती गर्ने शैली घट्दै गएको हो ।
किसानले लगाएको अन्नबाली र तरकारी नष्ट गर्ने क्रमसँगै उब्जाउ हुने थुप्रै जमिन किसानले बाँझो राख्न बाध्य भएको स्थानीय ७६ वर्षीय केदारनाथ पोखरेल बताए ।
बाहुनडाँगीमा हुलका हुल आउने हात्तीले अन्नबाली राखेन’, उनले भने, ‘बाली भित्र्याउनु भन्दा अघि नै हात्तीले खाइदिन्छ ।’ अन्न र तरकारी मात्र नभई हात्तीले फलफुलका बोटविरुबा खाने, कुल्चने, उखाल्ने र फाल्ने गरेको उनले बताए ।
पहिला पहाडबाट तराई झरियो धान, मकै, कोदो, सागसब्जी सबै खाले तरकारी राम्रो उब्जाउ हुन्थ्यो तर, अहिले हात्तीले अन्नबाली लगाउन नदिने मात्र होइन, बेलुका सुतेपछि बिहानसम्म बाँचिन्छ कि बाँचिन्दैन भन्ने त्राही छ’, उनले बिलौना सुनाए, ‘कतै राति नै हात्तीले मार्छ कि भन्ने डरले सधैँ सताउँछ ।’ पोखरेलले भने ।

त्यस्तै, अर्का स्थानीय ६७ वर्षीय डिल्लीराम निरौलाले हात्तीको आक्रमणमा परेको घटना सुनाउँदै भने, ‘गाउँभन्दा तलबाट वर्षामा खान भनेर ८/१० क्वीटल धान घरमा जम्मा गरेका थियौँ गत सोमबार राति करिब १० बजेको थियो होला, गाउँमा हात्ती आयो भन्ने हल्ला सुनियो । टारबाट बाहिर हेरेको त आफू सुतेको टारलाई नै पो हात्तीले आक्रमण ग¥र्यो । हात्तीले घरको अर्को तीरको झ्याल भत्काएर दुई बोरा धान लगेछ ।’ उनले भने ।
त्यति मात्र नभएर हात्तीका कारण बाली भित्र्याउन नपाएपछि अधिकांश खेतीयोग्य जमिन बाँझो राखेर यहाँका स्थानीय दैनिक ज्यालादारी र वैदेशिक रोजगारमा जाने गर्दछन् भने कतिपय पुरुषहरुलाई अन्य स्थानका मानिसहरूले छोरी चेली दिन पनि डराउने गरेका छन् । ‘सरकारले पनि अनुदान र सहुलियतमा ऋण दिएको छ, राम्ररी खेतीपाती गरौँन त भन्दा हात्तीले दिएन’, ७५ वर्षीय टंकप्रसाद सुवेदीले भने ।
यहीले यहाँका किसान अन्न र तरकारी बालीमा हात्तीले क्षति गर्न थालेपछि वैकल्पिक खेतीका रूपमा सुपारी र नरिवल लगाउन थालेका छन् । धान, मकै, कोदो, सागसब्जी, गेडागुडी राम्रो फल्ने भए पनि हात्तीको आतङ्कले बैकल्पिक कृषि गर्नु परेको किसानहरूको भनाई छ । ‘कसैको घर भत्कायो, सुपारीको रुख भाँचिदिएछ, कसैको घरमा राखेको धान निकालेर खाएछ ।’ ६३ वर्षीय पूर्णकुमारी निरौला भन्छिन् ।
उता झापामा पछिल्लो साढे छ वर्षयता हात्तीको आक्रणमबाट ३० जनाले ज्यान गुमाइसकेको जिल्ला वन कार्यालय झापाले जनाएको छ । चालू आर्थिक वर्ष २०७३/७४ को हालसम्ममा ५ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, हात्तीको आक्रमणबाट आव ०६८/६९ मा ९ जना, ०६९/७० मा ८ जना, ०७०/७१ मा ३ जना, ०७१/७२ मा १ जना र आव ०७२/७३ मा ४ जनाले ज्यान गुमाएको जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए । झापामा पछिल्लो साढे पाँच वर्षयता बर्सेनि हात्ती पीडितको सङ्ख्या बढ्दै छ । झापाको महेशपुर, जलथल, पृथ्वीनगर, गरामनी, दुहागढी, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, शनिश्चरे, अर्जुनधारा, शिवसताक्षी, तोपगाछी लगायतका स्थान हात्ती प्रभावित क्षेत्र हुन् ।
सरकारी तथा गैर सरकारी निकायले हात्ती नियन्त्रणका लागि पक्की मचान निर्माण, मौरीपालन, हात्ती बार, सुरुङ्गबार, विद्युतीय तारबारका उपायहरू यहाँ अवलम्बन गरिसकेका छन् । सोका लागि करोडौँ बजेट खर्चिए पनि भारतबाट आउने हात्तीलाई नेपाल प्रवेशमा छेक्न सकिएको छैन । किसानलाई राज्यले हात्तीको त्रासबाट मुक्ति दिनुपर्ने बाहुनडाँगीबासीको माग समेत रहेको छ ।








