मौसमी रुघाखोकीले सत्र जनाको मृत्यु

असाेज २६, काठमाडौँ । मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको हो ।

महाशाखाका निर्देशक डा भीम आचार्यका अनुसार मृत्यु भएकामध्ये नौ जनामा अन्य रोग पनि थियो । काठमाडौँ लगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको सङ्ख्या बढेको थियो । इन्फ्लुएन्जा भाइरस टाएप ए को (एच१एन१) भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको सङ्ख्या ८०६ थियो ।

निर्देशक आचार्य मौसमी रुघाखोकी कुनै पनि समय फैलन सक्ने भएकाले यसबाट हमेसा सतर्क रहनुपर्ने बताउनुहुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो सङ्क्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन उहाँले आग्रह गर्नुभयो ।

“सामान्य मौसमी रुघाखोकी भएकाले धेरै डराउनुपर्ने नभए पनि सतर्क हुनुपर्छ, जटिलता भएमा मृत्यु हुने खतरा बढी हुन्छ,” उहाँले भन्नुभयो । विगतमा सुँगुरबाट (एच१एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ ।

सिजनल इन्फ्लुएन्जा (एच१एन१) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुनले बताउनुभयो । केही वर्षयता एच१एन१ का बिरामीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ ।

“ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउनुपर्छ, अति आवश्यक काम नपरी भीडभाडमा नजाने, पोषिलो खानेकुरा खाने, सकेसम्म हात नमिलाउने, अंकमाल नगर्नेजस्ता सतर्कता अपनाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना रुघाखोकीेका बिरामी आउने गरेका छन् । डा पुनले एच १ एन १ भाइरसको जिनमा परिवर्तन आई कडा रूपमा देखिन थालेको बताउँदै ‘टेमी फ्लू’ नामक औषधि चलाउँदा पनि काम नगरेको जानकारी दिनुभयो । बिरामीमा निमोनिया देखिने गरेको छ ।

खास गरी, मौसम परिवर्तन हुने समय, गर्मी सकिएर बर्खा लाग्ने समय, बर्खा सकिएर शरद ऋतु लाग्ने समय, जाडो सकिएर वसन्त लाग्ने समयमा देखिने भए पनि पछिल्लो समयमा सिजनल इन्फ्लुएन्जा भाइरसका सङ्क्रमित देखिने गरेका छन् । क्षयरोग भएका, श्वासप्रश्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मिर्गौलाले काम गर्न छाडेका, डायलासिस गरिएका, ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति र पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, यस्ता समूहको उपचारमा खटिने स्वास्थ्यकर्मी सङ्क्रमणको उच्च जोखिममा रहेको निर्देशक आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =