सर्वसत्तावाद र अधिनायकवादको सशक्त प्रतिवाद गर्छाै : प्रकाशमान

पोखरा, माघ २१ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनले सर्वसत्तावाद र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । कांग्रेसविरुद्ध वाम गठबन्धनले गोयबल्स शैलीमा गलत प्रचार गरिरहेको भन्दै उनले त्यसको प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।
आइतबार कास्की कांग्रेसले पार्टी कार्यालयमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘गोयबल्स शैलीको प्रचार छँदैछ, झुठ कुरा हजारचोटि भनेपछि त्यही सत्य ठानिन्छ, यहाँ कम्युनिष्टहरुले पनि त्यही गर्छन् ।’ सिंहले अगाडी थपे ‘कम्युनिष्टले चार्ज लगाउँछ हामी चाहिँ प्रतिवाद के गरिराख्ने भनेर भद्रभलादमी भएर बस्छौं ।’

कांग्रेसले कुनै प्रकारको सर्वसत्तावाद र अधिनायकवादको सशक्त प्रकारले प्रजातान्त्रिक प्रकारले प्रतिवाद गर्ने उनको भनाइ छ । कम्युनिष्टहरुले कांग्रेसलाई गलत आरोप लगाउने गरेको र कांग्रेस नेताहरु भद्रभलादमी बनेर बसेको टिप्पणी उनले गरे ।
कम्युनिष्टहरुले कांग्रेस सत्ताको लोभी बनेको भनेर गलत आरोप लगाएको उनको भनाइ थियो । ‘कांग्रेस खाली सत्तामा बस्ने पार्टी हो भनिन्छ । २००३ सालमा स्थापना भएको पार्टी कति वर्ष सत्तामा बस्यो ?’ उनले प्रश्न गर्दै भने, ‘संविधानसभाको निर्वाचनपछि पनि सबैभन्दा बढी सरकारको नेतृत्व त वामपन्थीले नै गरेको छ त ।’
उनले पार्टी सभापति शेरबहादुर देउवा विधान विपरित चलेको आरोप लगाए । पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्दा पार्टी फुटाउन खोज्यो भन्ने आरोप लाग्ने गरेको गुनासो उनले गरे ।
‘आफू चयन भएको विधानलाई उहाँले (शेरबहादुर देउवाले० लागू गर्नुपर्ने कि नपर्ने ? यहाँ कुरा उठायो भने ठूलठूला कुरा गर्न लाग्यो यसले भन्छन् । तर कुरा नउठाएर पनि के गर्ने ?’ नेता सिंहले भने, ‘आधारभूत कुराहरु त गर्नुपर्यो नी । पार्टीलाई संस्थागत रुपमा चलाउनुपर्यो भन्दाखेरि पार्टीभित्र फुट ल्याउन खोज्यो भनेर चार्ज लगाउने गरिएको छ ।’








