देउवाले हट भन्दा अटेर गरेकाे माअाेवादीले सरकार छाड्दै

कात्तिक ६, काठमाडाैं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुनिश्चिता नभएसम्म सरकार नछाड्ने निर्णय गरेको माओवादी केन्द्रले जिम्मेवारीबाट हटाइएका आफ्ना विनाविभागीय मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले शीर्ष नेता र केही मन्त्रीहरु मनोनयन दर्ताका लागि जिल्ला पुगेकाले फर्किए लगतै सरकारबाट बाहिरिएको औपचारिक निर्णय गरिने बताइन् ।
प्रवक्ता भुसालले भनिन्, ‘शीर्ष नेताहरू काठमाडौँ बाहिर हुनुहुन्छ । मन्त्रीहरु पनि जिल्लामा मनोनयनका लागि पुग्नु भएको छ । सबै काठमाडौँ फर्किएपछि सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउँछौं ।’

उनले आफूहरूले निर्वाचनको सुनिश्चितता नभएको भन्दै सरकारमै रहने निर्णय यसअघि गरे पनि अब निर्वाचन हुने पक्का भइसकेकाले सरकारबाट बाहिरिन लागेको स्पष्ट पारिन् । भुसालले सबै शीर्ष नेता र मन्त्री काठमाडौँ आइपुगेपछि सम्भव भएसम्म सोमबारै नभए मङ्गलवारसम्म सरकारबाट मन्त्री फिर्ता बोलाइने बताइन् । ‘सरकारबाट मन्त्री फिर्ता बोलाउने निष्कर्षमा हामी पहिले नै पुगेका हौँ । तर, निर्वाचन सार्न लागेको भन्ने गोप्य सूचना आएपछि सरकार छोडेका होइनौं । अब सरकारमा बस्न हामीलाई एक मिनेट पनि मन छैन । बैठक आजै बसे आजै नत्र भोलिसम्म सरकार छोड्छौं,’उनले भनिन् ।
सरकारको प्रमुख घटक माओवादी केन्द्र प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेसँग चुनावी गठबन्धन गरेर जाने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाडेर सहयोग गर्न आग्रह गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रको समर्थन अब आफूलाई आवश्यक नरहेको भन्दै सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउन भनेका थिए । प्रचण्डले सरकारबाट मन्त्री फिर्ता बोलाउने प्रतिबद्धता प्रधानमन्त्री देउवासँगको भेटमा जनाएपनि निर्वाचन सार्न लागेको गोप्य सूचना पाएको भन्दै माओवादीले सरकार नछोड्ने निर्णय लिएको थियो ।
पटक–पटक सरकार छाड्न आग्रह गरे पनि अटेर गरेपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए । विनाविभागीय मन्त्रीको जिम्मेवारीमा रहेका माओवादी केन्द्रका मन्त्रीहरु मन्त्रिपरिषद बैठकमा भने सहभागी भएका थिए ।
सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकमा विनाविभागीय मन्त्रीहरु टेकबहादुर बस्नेत, सन्तकुमार थारु र प्रभु साह उपस्थित थिए । सरकारबाट बाहिरिने तयारी गरेको माओवादी केन्द्र चुनाव सार्ने गोप्य सूचना आएको भन्दै निर्वाचनको सुनिश्चितता नभएसम्म सरकार नछोड्ने निर्णय गरेको थियो । सरकार नछाडेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर विनाविभागीय बनाएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद बैठकमा माओवादी केन्द्रका विनाविभागीय तीन मन्त्री उपस्थित भएका हुन् ।
विनाविभागीय मन्त्रीले मन्त्रिपरिषद बैठकमा कुनै प्रस्ताव लैजान मिल्दैन । तर, पनि विनाविभागीय मन्त्रीको हैसियतमै माओवादी केन्द्रका मन्त्री बैठकमा उपस्थित भएका हुन् ।








