कञ्चनजङ्घा (कविता)

हे ! कञ्चनजङ्घा !
मेरो उँचो शिर तिमी
कसैको नजर पर्ला भन्ने मेरो पीर तिमी
मैले सृष्टिबाट पाएको वरदान तिमी
मेरो अस्तित्व र व्यक्तित्वको प्रतिक तिमी ।
हे ! कञ्चनजङ्घा !
सूर्योदयको प्रथम प्रकाश ओढ्ने तिमी
हिमपातको पहिलो सफेद बर्को ओढ्ने तिमी
पहरा, लहराबाट छहरा बगाएर झरना झार्ने तिमी
इन्द्रेनीरुपी सप्तरङ्गी पहिरन पहिरने तिमी ।
हे ! कञ्चनजङ्घा !
सृष्टिकी सुन्दरी रानी तिमी
रातैरातै भएर सूर्यलाई स्वागत र विदाई गर्ने तिमी
शीतल मुहार मुस्कुराएर चन्द्रमालाई स्वागत गर्ने तिमी
सबैलाई मुग्ध पार्ने सुन्दरताको खानी तिमी ।
हे ! कञ्चनजङ्घा !
पापी नजर लगाउनेको आँखै फोडिदिउँदा
मिलिजुली सम्मान गर्नेलाई शान्ति बाँडिदिउँदा
नेपाली स्वाधिनताको प्रतिक तिमी
युगयुगभरिकी माता गुरु स्वतन्त्रताकी मौलो तिमी ।
हे ! कञ्चनजङ्घा !
नेपालीलाई समाई समाली राख है
मेरो प्यारो कञ्चनजङ्घा
मेरो प्यारो कञ्चनजङ्घा ।








