बदर मत घटाउन नमुना मतदान


भरतराज शर्मा(गोपाल), धरान । बदर मत कम गर्ने उदेश्यले धरानमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले आउँदो असार १४ गते हुने दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले मतदातादाई मदतान शिक्षा दिएको हो ।
स्थानीय पब्लीक उच्च माविमा आयोजित नमुना मतदान शिक्षा कार्यक्रममा स्थानीय दलका प्रतिनिधी र आम जनताको उल्लेख्य सहभागिता रहेको थियो । गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको मतदानमा धेरै बदर मत खसेकोले दोस्रो चरणमा बदर मत कम गर्नका मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमुना मतदान कार्यक्रम शुरु गरिएको जिल्ला निर्वाचन अधिकृत जानकी कर्णले बताईन् ।
नमुना मतदानमा ८९ वटा मत खसेको थियो । जसमा दुई वटा मत आंशिक रुपमा बदर भएको थियो ।
बदर मतमा उपमेयर, बडा अध्यक्ष, र महिला दलित सदस्यको भएकोमा एउटै मतपत्रका एउटै उम्मेद्धवारलाई दुई चोटी समेत मत दिईएको पाईएको अधिकृत कर्णले बताईन् ।
जिल्ला निर्वाचन कार्यालयले अन्य केही ठाउँमा समेत नमुना मतदान गरेको जनाएको छ । धरानमा निर्वाचन अधिकृत लगायत सरोकारवाला सहितको टोलीले मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन लगायतका विषयमा जानकारी गराएको थियो ।
नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिने र मतपत्र पट्याउने तरिका समेत सिकाइएको थियो ।








