पुरानाे पार्टीसँग गच्छादारकाे लगनगाठाे गासिएन

असोज २९, काठमाडौँ । नेपाली काँग्रेस र फोरम लोकतान्त्रिकबीच हुने भनिएकाे पार्टी एकता तत्कालका लागि टरेको छ । यद्यपि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता नगरुन्जेलसम्म सहमतिको प्रयास जारी राख्न दुवै दल सहमत भएका छन् ।
आज बिहान पाँच बजेदेखि पार्टी एकताको विषयलाई टुंगोमा पुर्याउन नेपाली काँग्रेस र फोरम लोकतान्त्रिकका नेताहरूको संयुक्त बैठक बसेको थियो । तर, छलफल निष्कर्षविहीन भएपछि फोरम लोकतान्त्रिकका नेताहरू समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगको कार्यालय गएका थिए ।

फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले भने, ‘काँग्रेससँग एकताको कुरा नमिलेपछि वार्ता छाडेर हामी हाम्रै पार्टीको नामबाट समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोगमा आयौँ । यद्यपि प्रत्यक्ष निर्वाचनको उम्मेदवारी नदिँदासम्म यो वार्तालाई जारी राख्ने सहमति भएको उनले जानकारी दिए ।
काँग्रेसले आन्तरिक तयारी नगरेकाले एकतामा कुरा नमिलेको चौधरीले बताए । ‘कहाँ छाड्ने कहाँ दिने भन्नेमा उहाँहरू नै स्पष्ट हुनुहुन्न,’ चौधरीले भने, ‘यता सहमति पनि नहुने र बन्द सूची बुझाउने समय पनि घर्किने स्थिति देखेपछि हामी वार्ताबाट उठ्यौं ।’ चौधरीका अनुसार फोरम लोकतान्त्रिकले देशभरका लागि समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।








