बायोस्टाटिस्टिक्स र खडेबाबा

प्रा.डा. शम्भु प्रसाद पटेल
चिकित्सा क्षेत्रमा अचेल ‘खडेबाबा’ भन्ने शब्दको व्यापक चर्चा भएको पाइन्छ जुन फर्जी, नक्कली र मुकुण्डोधारी शिक्षकको पर्यायवाची बनेको छ । डा. गोविन्द केसीको मेडिकल आन्दोलन पश्चात् उत्पन्न खडेबाबाबारे बहस चलिरहँदा देशले उनीहरूबारे विस्तृत विश्लेषण खोजेको छ । उपाधि एक विषयमा र प्राध्यापन अर्को विषयमा गर्ने शिक्षकलाई अलराउन्डर वा खडेबाबाको दर्जा दिने हो भने अपवाद बाहेक धेरै कलेजहरूमा अलराउन्डर वा खडेबाबाहरूको बिगबिगी छ । प्राय:जसो मेडिकल कलेजहरूमा विशेषज्ञहरूको अभाव छ । यहाँ बायोस्टाटिस्टिक्स विषयका खडेबाबाहरूबारे मात्र चर्चा गरिएको छ । बायोस्टाटिस्टिक्स एक आधारभूत विज्ञान हो जुन चिकित्साशास्त्रको एमबिबिएस, बिडिएस, बिफार्मेसी, बिपिएच., बिएस्सी नर्सिङ, एमपिएच., एमएन. आदि कार्यक्रममा अनिवार्य विषयको रूपमा पठनपाठन गराइन्छ । चिकित्साशास्त्रमा गरिने अनुसन्धान र सो विषयको विकास विस्तारमा बायोस्टाटिस्टिक्सको महत्त्वपूर्ण भूमिका हुन्छ ।

‘उपाधि र विशेषता एक विषयमा र प्राध्यापन अर्को विषयमा गर्नु भनेको खसी झुन्डयाएर कुकुरको मासु बिक्री गर्नु जतिकै ठगी कार्य होइन र ?’

‘एउटा अन्धोले अर्को अन्धोलाई डोर्‍यायो भने के नतिजा आउँछ रु एउटा दन्त चिकित्सकले नेत्र चिकित्सकले गर्ने आँखाको शल्यक्रिया गर्‍यो भने के हुन्छ ?’

आधुनिक चिकित्साशास्त्र गफमा आधारित विज्ञान होइन, यो ज्ञान, धारणा, सीप, अभ्यास र आचारसंहिताले भरिपूर्ण तथ्यमा आधारित विज्ञान हो । प्रत्येक दिन नवीनतम ज्ञान र प्रविधिको विकास भइरहेको परिवेशमा उच्च शिक्षाको अन्य क्षेत्रमा जस्तै चिकित्साशास्त्रमा पनि विशेषज्ञ जनशक्तिको व्यवस्था भएको पाइन्छ । शिक्षकको नियुक्ति र पदोन्नति खुला विज्ञापन तथा उसको योग्यता, विशिष्टता, ज्येष्ठता, सृजनशीलताको आधारमा हुने गर्दछ । बायोस्टाटिस्टिक्स प्राध्यापन गर्नको लागि विश्वविद्यालयले तथ्याड्ढशास्त्र लिएर कम्तिमा स्नातकोत्तर उपाधि उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ट मापदण्ड निर्धारित गरी दरबन्दीसमेत किटान गरेको छ तर यो मापदण्ड कागजमा मात्र सीमित छ । अपवादबाहेक अधिकांश सम्बन्धन प्राप्त मेडिकल कलेजहरूमा कमर्स वा गणितका शिक्षकहरू बायोस्टाटिस्टिक्स प्राध्यापन गराइरहेको पाइन्छ । हामी कहाँ अझै पनि नियुक्ति र पदोन्नति योग्यताको आधारमा होइन, राजनीतिक भागबन्डा, भौतिक हस्तक्षेप, चाकडी–चापलुसी र जातपातको आधारमा भएको पाइन्छ । सरकारले उच्च शिक्षामा स्पष्ट नीति निर्माण र अवलम्बन गर्न नसक्दा र सरोकारवालाहरू जागरुक नहुँदा खडेबाबा संस्कृति फस्टाएको छ । फलस्वरूप एकातिर बायोस्टाटिस्टिक्सको विषयगत अस्मिता र पहिचान अपहरित भएको छ, प्राज्ञिक प्राध्यापकहरूको भविष्य धरापमा परेको छ भने अर्कोतिर विषयगत शिक्षकको अभावमा चिकित्साशास्त्रका विद्यार्थीहरू शैक्षिक कुपोषणको शिकार बनेका छन् । अचेल चिकित्सकहरूको आचारण, योग्यता, कार्य सम्पादन क्षमतालगायतबारे गम्भीर प्रश्न उठ्ने गरेको छ । चिकित्सक, स्वास्थ्यकर्मी र संस्थामाथि गालीगलौज, भौतिक आक्रमण दिन प्रतिदिन बढ्दो छ । मेडिकल काउन्सिलद्वारा लिइने योग्यता परीक्षामा चिकित्सकहरू पटकपटक अनुत्तीर्ण भएको खबर सुनिन्छ । स्वदेशी चिकित्सकहरूको साख, कैरियर र भरोसामाथि आशड्ढा उठेको छ । शायद यसै कारणले होला, अलिकति हुनेखाने स्वदेशमा उपचार गराउन चाहँदैनन्, विदेशमा उपचार गराउन मन पराउँछन् । तर सर्वसाधारण जनता पीडित छ ।
यस सन्दर्भमा बायोस्टाटिस्टिक्सको विषयगत अस्मिता तथा पहिचान र चिकित्सकहरूको भविष्यसित सम्बन्धित प्रश्नहरूको खोजी आवश्यक हुन्छ । आफूले नपढेको वा उपाधि र विशेषता हासिल नगरेको विषयमा प्राध्यापन गर्नु अन्य विषयको अस्मिता र पहिचानको अपहरण होइन र ? उपाधि र विशेषता एक विषयमा र प्राध्यापन अर्को विषयमा गर्नु भनेको खसी झुन्डयाएर कुकुरको मासु बिक्री गर्नु जतिकै ठगी कार्य होइन र ? एउटा अन्धोले अर्को अन्धोलाई डोर्‍यायो भने के नतिजा आउँछ रु एउटा दन्त चिकित्सकले नेत्र चिकित्सकले गर्ने आँखाको शल्यक्रिया गर्‍यो भने के हुन्छ ?  उत्तर स्पष्ट छ– दुर्घटना हुन्छ । स्मरण रहोस् त्रिभुवन विश्वविद्यालयलले विगत चार दशकदेखि यस विषयको स्नातकोत्तर तह र विद्यावारिधि तहको दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । स्वदेशमैंं बायोस्टाटिस्टिक्स विषयका विशेषज्ञ जनशक्ति हुँदाहुँदै सो विषयमा एमबिएस, एमबिए वा गणितका शिक्षकबाट प्राध्यापन हुनु मुख हुँदाहुँदै नाकबाट दूध खानु जस्तै मूढता भएन र ?
मुलुकलाई विषयगत शिक्षक र योग्य चिकित्सकको ठूलो खाँचो छ । एक्काइसौं शताब्दीमा विश्व प्रतिस्पर्धामा उत्रन सक्ने दक्ष चिकित्सक उत्पादन गर्नको लागि प्रत्येक विषयको प्राध्यापन सम्बन्धित विषयकै विशेषज्ञबाट हुनु आवश्यक छ, पुरातन शिक्षा प्रणालीका अवशेषहरूलाई त्याग्नु आवश्यक छ र सुशासन र कानुनविपरीत क्रियाकलापलाई निरुत्साहित गर्नु आवश्यक छ । मेडिकल क्षेत्रमा देखा परेको खडेबाबा र अलराउन्डर संस्कृतिलाई निरुत्साहित गरिएन भने यसले निश्चय नै चिकित्साशास्त्रको सम्पूर्ण गरिमा ध्वस्त हुन्छ ।
(लेखक त्रिभुवन विश्वविद्यालय, ठाकुर राम बहुमुखी क्याम्पसमा तथ्याड्ढशास्त्रका प्राध्यापक हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =