क्याटलोनिया डर्बीमा बार्सिलोना बराबरीमा राेकियाे

एजेन्सी । क्याटलोनिया डर्बीमा बार्सिलोना बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर बार्सिलोनाले स्पानियोलसँग १–१ को बराबरीमा रोकिएको हो ।
स्पानियोलको घरेलु मैदानमा भएको खेलमा भाल्भेल्र्डेले लिओनल मेस्सीलाई बेञ्चमा राखेका थिए । पहिलो हाफमा फिलिप काउटिन्होको प्रहार बारमा लागेर फर्कियो ।
खेलको ६६ औं मिनेटमा जेरार्ड मोरेनोको गोलबाट स्पानियोलले अग्रता लियो । तर, निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी छँदा बार्साका लागि जेरार्ड पीकेले गोल गरे । सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका लिओनल मेस्सीको फ्रि किकमा उनले हेडगोल गरेर क्लबलाई हारबाट जोगाए ।

भारी वर्षाका कारण बार्सालाई खेलमा फर्कन असहज भएको थियो । दोस्रो हाफको खेलका क्रममा भारी वर्षा भएको थियो । बराबरीसँगै बार्सिलोनाले २२ खेलको अपराजित क्लब रेकर्ड बनाएको छ । यसअघि पेप ग्वार्डिओला हुँदा २१ खेलमा अपराजित थियो ।
आइतबार नै भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई १–० ले हराउँदै बार्सिलोनासँगको अंक दुरी कम गरेको छ । एथ्लेटिको र बार्साको अङक दुरी ९ अंकमा झरेको छ । ला लालिगाको चौथो स्थानमा रहेको रियल मड्रिड भने १९ अंकले पछाडि छ ।
लिग लिडर बार्सिलोनाको २२ खेलबाट ५८ अंक छ । दोस्रो स्थानमा रहेको एथ्लेटिकोको ४९ अंक भएको छ भने ४० अंकसहित भ्यालेन्सिया तेस्रो र ३९ अंकसहित रियल मड्रिड चौथो स्थानमा छ । यद्यपि रियलले एक खेल कम खेलेको छ ।








