बैङ्कको व्याजदर बढ्दा व्यवसायीहरु चौपट

किशोर खनाल, भरतपुर । बैङ्कबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दा बैङ्कको चर्को ब्याजले व्यवसायीहरु चौपट हुने अवस्थामा पुगेका छन् । व्यवसायीहरुले बैङ्क तथा वित्तीय संस्थाहरुसँग ऋण लिने क्रममा घोषणा गरिएको बैङ्कको व्याजदरमा पटकपटक वृद्धि भइरहँदा व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको बताउँछन् ।

‘बैंकहरुको मनोमानी बढेको छ, बैङ्कबाट ऋण लिएर व्यवसाय चलाउन निक्कै हम्मेहम्मे परेको छ । बैङ्कले ऋणीहरुको व्याजदर लगातार वृद्धि गरिरहेका छन्’ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन गौतमले भने, ‘ऋणीले ५ वर्षमा ऋण तिर्ने गरी आफ्नो व्यवसाय चलाइरहेको हुन्छ, एउटा कबुलमा महिनैपिच्छे व्याजदर तिर्छ, तर उसले सोचेजस्तो गरेर व्यवसाय चलाउन पाउँदैन । पटकपटक व्याजदर बढिरहन्छ ।’

अध्यक्ष गौतमले बैंकहरुको ब्याजले ऋणीहरुको ढाड सेकेको बताए । उनले भने, ‘राज्यले यसलाई नियन्त्रण गर्न सक्नुपर्ने हो, राज्य नै निरीहजस्तो बनिरहेको छ ।’ चितवन उद्योग सङ्घका अध्यक्ष भीमबहादुर पाण्डेले बैङ्क तथा वित्तीय संस्थाहरुबीच नै व्याजदर फरकफरक रहेको बताए । उनले भने, ‘पहिला ७/८ प्रतिशतका दरले ब्याज लिने गरेका थिए भने अहिले १२ देखि १६ सम्म व्याजदर लिइरहेका छन् । व्याजदर लगातार उकालो लागिरहेको छ ।’

रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मीले बैङ्क तथा वित्तीय संस्थाहरूले व्याजदर बढाइरहेको हुनाले यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले भने, ‘व्याजदर तिर्न नसकेर कयौँ व्यवसायीहरु विस्थापित भइरहेका छन् । यो समस्या कसले हल गर्ने ?’

नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रसाद पौडेलले मनलाग्दी ब्याज र मनलाग्दी कर लिने प्रचलन हट्नुपर्ने बताए । उनले भने, ‘५ प्रतिशतमा दिइने भनिएको कृषि ऋण हालसम्म पाइएको छैन ।’

‘व्यवसायले ऋण लिने क्रममा जे व्याजदर तोकिएको छ, त्यो बैङ्कले कायम राख्दैनन् । परिवर्तन गरिरहन्छन्’ चितवन नवलपुर राइस मिल समितिका निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेलले भने, ‘बैंकहरुले व्यवसायी विस्थापित हुने गरी ब्याज परिवर्तन गर्दा बैंकहरुले अकुत सम्पत्ति कमाउने र व्यवसायी टाट पल्टिने अवस्था सृजना भएको छ ।’

व्यवसायीको हितको निम्ति राज्य एवम् सम्बन्धित निकायलाई पहल गरी ऋण लिने क्रममा जे व्याजदर तोकिएको छ त्यो नै कायम गर्न उनले स्थानीय सरकारलाई आग्रह गरेका छन् । उनले बैङ्कले मनोमानी तरिकाले व्याजदर बढाउँदा व्यवसायीहरु विस्थापित हुनुपरेको बताए ।

बैकिङ प्रणालीमा लगानीयोग्य पुँजीको समस्या विद्यमान रहेकाले तत्कालै व्याजदर घट्ने सम्भावना नरहेको बैंकहरुले जनाएका छन् । गण्डकी विकास बैङ्क लायन्सचोकका शाखा प्रबन्धक मुकेश अधिकारीले बैंकहरुको निक्षेप लागत बढेको कारणले पनि व्याजदर बढेको बताए । उनले भने, ‘अहिले मुख्य कुरा त तरलताले नै व्याजदर बढको हो, यसलाई घटाउन सकिएको छैन ।’

बैङ्किङ विज्ञ कपिलदेव सुवेदीले राष्ट्र बैङ्कले मुद्रा प्रवाहमा नियन्त्रण गरेर पनि व्याजदर बढेको बताए । उनले भने, ‘बैंकहरुको निक्षेप कम छ, अझ वित्तीय संस्थाहरूको त निक्षेप झन् कम छ, अनि उनीहरूको लागत एकदम बढी छ । त्यस कारण पनि बैंकहरुको पनि व्याजदर बढेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =