समाज सेवासँगै धरानका प्रबलको व्यापार चकाचक

 

माघ ११, धरान । सुनसरीको धरान त्यसमा पनि व्यस्त बजार । धरान उपमहानगरपालिका–२ भानुचोकको सार्वजनिक शौचालयको पश्चिमपट्टि एउटा सानो कोठा छ । जसको बाहिरपट्टि हलेसी मोबाईल पसल लेखिएको बोर्ड देख्न सकिन्छ । 

कोठाभित्र मोबाइल चार्ज सेवा दिन लगाइएको मल्टिप्लक पनि देख्न सकिन्छ । तपाईंलाई लाग्ला मोबाइल चार्ज गरेको शुल्क लाग्न सक्छ । तर त्यहाँ सार्वजनिक टेलिफोन सेवाका साथै निःशुल्क मोबाइल चार्जिङको व्यवस्था गरिएको छ । 

null

खोटाङमा जन्मिएका प्रबल विश्वकर्मा । जो २०६४ सालमा पहिलो पटक धरान छिरे अनि टाई टेक प्रालिमा आईटी सिके । त्यसपछि मोबाईल मर्मतको कार्यमा लागे । भानुचौकस्थित आफ्नो मोबाइल पसल खोल्न उनी बिहानको ४ नै आइपुग्छन् । त्यही बिहानीसँग सुरु हुन्छ समाजसेवासँगै उनको व्यापारको थालनी । 

 

एकाबिहानै पसलमा भेटिएका विश्वकर्मा भन्छन्, ‘मोबाइल चार्जिङ सेवाले यात्रुका साथै बाहिरबाट धरान आउने आपतकालीन पर्यटकलाई टेवा पुग्छ भन्ने आशा लिएको छु । जसले गर्दा हतारमा घरबाट निस्केका तर मोबाईलमा चार्ज गर्न बिर्सेका व्यक्तिहरुलाई मेरो पसले केही भएपनि आपत्तकालीन सेवा पुर्याउन सकोस् ।’ 

उनको यही सोचाइले पनि होला सायद आज मोबाइल मर्मत सेन्टर समेत राम्रै चलेका छन् । उनीहरु त्यही सानो ठाउँ भएको पसलको करिब मासिक १५ हजार तिर्छन् । अरुलाई सेवा पनि दिन्छन्, आफू पनि राम्रै व्यापार गरेर मासिक राम्रै आम्दानी गर्छन् । 

 

‘पहिला–पहिला चार्जर माग्दा मलाई नराम्रो लाग्थ्यो, धरानमा मोबाइल चार्ज समेत गर्न नपाउँदा यात्रु लगायत अन्यमा निराशा छाएको पाएँ, र मैंले पहिलो पटक यो कामको शुरुवात गरेँ’, उनी भन्छन् । 

धरान वडा नं २ का वडा सदस्य डिवी (धर्म) तामाङले आफूहरुको व्यापारसँगै यस्तो सेवा दिनु राम्रो काम भएको बताए । 

‘मानिस ओहोर–दोहोर हुने भानुचोकमा मोबाइल चार्ज गर्न मिल्दैन ? भन्दै सोध्न आउने गर्थे, मेरो कोल्ड ड्रिङक् (पसल) मा यसरी दिनहँु सोध्न आउन थालेपछि मेरै पहलमा यहा यस्तो सुविधा दिइएको हो’, वडा सदस्य तामाङले खुलाए । 

यसअघि चार्ज गरिदिनुहोस् न भन्दै भानुचोकको पसल–पसल दर्गुदा पसलेले नगरिदिने, झन्झट मान्ने, झर्किने जस्ता कुरा सम्झिँदै पसलेले केही क्षण चार्ज गरेको १० रूपैयाँ लिने गरेको तितो यथार्थ पनि उनले सुनाए । 

‘त्यतिबेला म विचरा भन्थें’, उनले थपे, ‘त्यही भएर पनि यस्तो सेवा दिनुपर्छ भन्ने लागेको हो ।’ 

उनले अब यसको शुरुवात भइसकेपछि यात्रु, पर्यटक साथै यातायातका मजदुरले समेत झन्झट व्यहोर्नु नपर्ने ठोकुवा गरे । 

मोबाईल सेन्टरका सञ्चालक विश्वकर्मा भन्छन्, ‘रात्रीकालीन बसमा काठमाडौंबाट एकाबिहानै यात्रु झर्छन्, कोही पर्यटक, कोही सर्वसाधारण होलान् उनीहरूले धेरै दुःख पाएको मैँले महसुस गरेको छु, त्यसैले पनि यस्तो सेवाले उनीहरूलाई सहज होला भन्ने आशा छ ।’ उनले केही समयपछि थप चार्जर बक्स थपेर चार्ज उपलब्ध गराई सेवालाई थप विस्तार गर्ने योजना पनि सुनाउन भ्याए । 

यसरी धरान भित्रिने पर्यटक वा यात्रुको समस्या समाधान गर्ने अभिप्रायले सो कार्यको थालनी गरेका विश्वकर्माको खुलेर प्रशंसा गर्छन् यात्रुहरु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =