भत्किन थाले पोखरामा मापदण्ड विपरीतका संरचना

असोज २७, पोखरा । पोखरा लेखनाथ महानगरपालिका क्षेत्रमा सडक मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचनाहरू हटाउने अभियान फेरी सुरु गरिएको छ । सडक मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान अन्तरगत महानगरपालिकाले अभियानलाई पुनः सुरु गरेको हो ।

महानगरपालिकाले शुक्रवार लेकसाइड ६ जरेबरस्थित सडकको बिच भागमा रहेको चौतारी र प्रतिक्षालय डोजर लगाएर भत्काएको छ । त्यस ठाउँको बिच सडकमा चौतारी र प्रतिक्षालय रहेका कारण सडक साँधुरो हुँदा दैनिक सडक जाम र दुर्घटना हुने गरेको थियो । त्यसै गरी महानगरपालिकाले सडकको बिच भागमा रहेको अर्को नारेश्वर चौतारीको समेत केही भाग भत्काएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाले मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउनकोलागि बनाएको समितिका संयोजक एवं वडा नम्बर ४ का अध्यक्ष शङ्कर बास्तोलाको अगुवाईमा मापदण्ड विपरीत सडक किनारामा बनाईएका संरचनाहरू भत्काईएको हो । चौतारीको सडक तर्फको भाग हटाईएपनि रुख भने हटाईएको छैन । सडकको बिच भागमा चौतारी र ठुलो रुख रहेका कारण दैनिकरुपमा सडक जाम र दुर्घटना हुने गरेको थियो ।

सडकको बिच भागमै चौतारी र प्रतिक्षालय रहेका कारण सवारी आवागमनमा समस्या हुन थालेपछि महानगरपालिकाले चौतारीको आकार घटाएर सानो पारेको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले बताए । उनले सडक मापदण्ड विपरीतका संरचनाहरू हटाउन महानगरपालिकाले अभियान अगाडि बढाएको बताए । ‘अब, महानगरपालिकाको अभियान मापदण्डबिपरित निर्माण गरिएका संरचना हटाउन उन्मुख हुने छ’ उनले भने ।

पोखराका मुख्य पर्यटकीय क्षेत्र लेकसाईड, फिर्के खोला आसपासका क्षेत्र र पालिखेचोक लगायतका स्थानहरुमा मापदण्ड विपरीतका संरचना निर्माण गरिएका छन् । महानगरपालिकाले ती संरचना हटाउने तर्फ ध्यान नदिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =