म रातमा बियर खाएका बेला काँग्रेसका उम्मेदवारहरु पैसाको झोला बोकेर हिँड्दा रहेछन्

कार्तिक २२, काठमाडाैं । मङ्सिर १० र २१ गते हुन लागिरहेकाे प्रदेश र प्रतिनिधि सभाकाे निर्वाचन नजिकिदै गर्दा गाउँ देखी सहरसम्म चुनावले तातेकाे छ । पहिलो चरणकाे निर्वाचन अन्तर्गत मनाङमा मङ्सिर १० गते निर्वाचन हुँदैछ । तर, विगतभन्दा यसपालि यहाँको निर्वाचन वातावरण फरक रहेको छ । आपराधिक पृष्ठभूमिबाट आएका दीपक मनाङेले मनाङबाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् । गएको महिना नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग टीका लगाएर उनी पार्टी प्रवेश गरेका थिए । पक्राउ पर्दै छुट्दै गरेका उनी राप्रपा छाडेर एमालेमा प्रवेश गरेका हुन् । सांसद बन्ने महत्वाकांक्षाले एमाले छिरेको भए पनि पार्टीले टिकट नदिएपछि उनले मनाङमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

जनसंख्याकाे हिसाबले सबैभन्दा कम रहेकाे मनाङमा प्रतिनिधि सभाका लागि एक मात्र क्षेत्र निधारण गरिएकाे छ भने प्रदेश सभाका लागि दुर्इ क्षेत्र छुट्याइएकाे छ । उनी प्रदेशसभाको ‘ख’ बाट स्वतन्त्र रूपमा चुनाव भिड्दैछन् । एमालेकी खण्डा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि उनको प्रतिस्पर्धा अब काँग्रेसका कर्मा गुरुङसँग हुनेछ ।

यसै बिच निर्वाचन तयारीका विषयमा दीपक मनाङेसँग दुर्गा दुलालले कुराकानी गरेका छन् ।

चुनाव प्रचार अभियान कस्तो हुँदैछ ?
प्रचार अभियान जोडदार रूपमा चलेको छ । म हरेक वडाका गाउँमा पुग्ने प्रयासमा छु । सबै गाउँलेलाई भेटेर मत मागिरहेको छु । तर, यहाँको चुनाव प्रचार अभियान फरक रहेछ । म दिउँसो प्रचार गर्दै भोट मागेर हिँडिरहेको छु, काँग्रेसका उम्मेदवारहरु भने रातमा पैसाको झोला बोकेर हिँड्दा रहेछन् । म रातमा बियर खाएर हिँड्ने समय उनीहरू प्रचारमा हिँडिरहेका भेटिन्छन् ।

तपाईँलाई नै जनताले किन भोट दिने ?
म मनाङमा जन्मेको मान्छे । मनाङका जनताले मनाङेलाई भोट नदिएर कसलाई दिन्छन् त ? नेवारलाई दिने, बाहुनलाई दिने कुरा आएन । मनाङेलाई नै दिनुपर्‍यो नि ।

मतदाताको राय चाहिँ के छ ?
मतदाताहरु स्थिर भएको पाएको छु मैले । म चुनाव लड्ने भनेर यहाँ आएपछि उत्साही भएको पाएको छु । म विगतमा बाहिर बाहिर समाजसेवा गर्दै आएको थिएँ अब आफ्नै जिल्लामा सेवा गर्न आएको हुँ । मलाई निर्वाचन लड्ने सोच थिएन तर जिल्लामा आएपछि यस्तो सोच बन्यो । राजनीति भनेको समाजसेवा हो, त्यही गर्न म यहाँ आएको हुँ । यहाँका जनता एकदम सिधा भएको पाएँ । उनीहरूलाई पार्टी र सिद्धान्त केही थाहा छैन । जसले जे भन्छ, त्यही पत्याउने खालका सोझा भएको मैले पाएको छु । अब यी सिधा जनतालाई झुक्याएर निर्वाचन जित्ने दिन सकिए भनेर मैले बुझाएको छु । यहाँ अहिले जसले काम गर्छ, उसलाई भोट दिने विचारमा मानिसहरू बसेका रहेछन् ।

यसअघि तपाईँलाई गुण्डा भन्थे नि, अहिले तपाईँ को हो ?
म विगतदेखि नै आत्मसम्मानका लागि लड्दै आएको मानिस हो । यहाँ एयरपोर्ट बेचेर खाने मानिस छन् । सबैभन्दा ठुलो अपराध त्यो हो । आत्मसम्मानका लागि अरू लड्न सक्नुपर्यो नि । मैले आत्मसम्मानका लागि लडेको हो । यसो गर्दा डन भइन्छ भने म डन नै हो ।

चुनाव जितेर के गर्नुहुन्छ ?
चुनाव जितेर धेरै गर्ने मेरो सोच छैन । म जिल्लाको सेवा गर्न आएको हुँ । कसरी सेवा हुन्छ, त्यही गर्ने हो । यहाँका जनताको धेरै गुनासो रहेको पाएको छु । यहाँका जनतालाई भगवानले बचाएका रहेछन् । यहाँ सरकारको उपस्थिति देखिनँ मैले । लामो समय काँग्रेसले शासन गर्योय तर केही गरेको रहेनछ । अब म केही गर्ने सोचका साथ आएको छु । मेरो परिवार र आफन्तको नेटवर्कका कारण सफल हुने विश्वास छ ।

कति मतले जित्नुहुन्छ ?
म यस क्षेत्रबाट स्वतन्त्र लडेका हुँदा यति नै मतले जित्छु भनेर दाबी गर्दिनँ । राजनीति भनेको अनुमान गर्ने मात्रै रहेछ । लामो समय गरेको अनुभव नभएकाले म यसै भन्न सक्ने अवस्थामा छैन ।

यदि तपाईँ विजयी हुनुभयो भने केही योजनाबारे सोच्नुभएको छ ?
यहाँ धेरै सम्भावना मैले देखेको छैन । दुई वट कुरा गर्ने मेरो सोच छ । एउटा, पर्यटक विकास गर्ने हो । अर्को हाइड्रोपारमा म केही गर्छु । यो क्षेत्र पर्यटकीय क्षेत्रको रूपमा चिनिएकाले अझ विस्तृत रूपमा योजनाबद्ध विकास गरिनुपर्छ । जलविद्युत्तमा यहाँ धेरै सम्भावना छ । रसुवाभन्दा ठुला योजना यहाँ सञ्चालन गर्न सकिने सम्भावना मैले देखेको छु । त्यसका लागि मसँग केही योजना छन् ।

समाजसेवाका क्षेत्रमा के गर्ने सोच छ ?
यहाँ जम्मा ६ हजार मानिस भएको ठाउँ हो । स्वास्थ्य र शिक्षामा केही गर्नुपर्ने देखिएको छ । शिक्षा पहिलो प्राथमिकता हुनुपर्छ । यहाँका सबै बच्चाहरू पोखरा र काठमाडौँमा पढ्ने रैछन् । त्यसका लागि मैले केही योजना बनाएको छु । चार सय मानिस मिलेर दुई थान हेलिकोप्टर किनेर पर्यटक र बिरामीका लागि प्रयोग गर्ने सोच बनाएको छु । एम्बुलेन्स चलाउने सम्भावना रहेनछ । बिरामीलाई सस्तोमा र पर्यटकलाई सेवा दिने हो भने यहाँको विकास हुन्छ । मेरो लक्ष्य पनि त्यही हो । म तीन महिना रक्सी नखाएर मनाङका जनताको सेवा गर्छु ।

स्रोत : पोखरेली न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =