नयाँ सरकार फागुन ७ गते बन्छ : कानुनमन्त्री थापा

काठमाडौं, माघ २५  । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुनको ७ गते नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

रिपोर्टस् क्लबमा बिहिबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री थापाले हिजो सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको स्पष्ट पारे । उनले भने,‘फागुन ७ गतेको प्रजातन्त्र दिबस मनाएर हामी विदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ ।’

उनले भने,‘निर्वाचन सम्पन्न भयो, मैले त धेरै पहिले बोलेको थिएँ, कि नयाँ सरकार फागुणको ७ गते नै बन्छ भनेर, त्यतिवेला धेरै टिकाटिप्पणी भएको थियो, तर मैले हिसाबकिताब गरेर नै त्यो खुलासा गरेको थिएँ, अबको १० वा १२ दिनभित्रै यो कुरा प्रमाणित हुन्छ।’ मन्त्री थापाले एक दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा आउने पनि जनाए ।

उनले सरकारले आगामी मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिश गर्नेबारे छलफल गर्ने समेत विश्वास दिलाए ।

त्यस्तै उनले वर्तमान सरकारले महत्वपूर्ण निर्णयहरु गरेकोमा विरोध हुनु स्वभाविक भएको समेत स्पष्ट पारे । यद्धपी उनले सरकारले निर्णय गर्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । उनले भने,‘सरकारले निर्णय गर्दा सरकार बाहिर भएका दलहरुले विरोध गर्नु स्वभाविक हो नि।’

नेकपा एमालेका नेता एवम् प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले आफू प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् । उनले भने,‘सकेसम्म हामी सहमतिमै मुख्यमन्त्री चयन गर्छौ, यदि सहमति भएन भने निर्वाचनमार्फत अघि बढ्छौं, संसदीय दलको नेता चयन गर्नेबारे भोलि छलफल हुन्छ, भोलिको छलफलमा सहमति भयो भने ठिकै छ, नभए निर्वाचन हुन्छ, मेरो उम्मेद्धवारी हुन्छ, मुख्यमन्त्री मै बन्छु, अध्यक्ष केपी ओलीको पनि मलाई समर्थन छ।’

नेता पाण्डेले आफू ४ पटकसम्म संसदमा लगातार निर्वाचित भएर काम गरेको व्यक्ति भएको उल्लेख गर्दै भने,‘म ४ पटकसम्म लगातार संसदमा काम गरेको अनुभव छ, प्रमुख सचेतक भएर काम गरेको छु, संसदीय कार्यव्यवस्था समितिको सदस्य भैसकेको छु, यसरी संसदमा समेत लामो भूमिका निर्वाह गरेको अनुभव भएकोले म मुख्यमन्त्री लागि योग्य छु, सोही अनुसार मैले तयारी गरेको छु।’

उनले आफू मुख्यमन्त्रीमा निर्वाचित भएपछि यो प्रदेशको विकासको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाए । केन्द्र सरकारले अघि सारेका महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाहरु यही प्रदेशमा पर्ने भएकोले यीनीहरुलाई सम्पन्न गर्न आफू लागिपर्ने पाण्डेको विश्वास थियो ।

पाण्डेले भने,‘काठमाडौं–तराई फाष्ट ट्रयाक यही प्रदेशमा पर्छ, चीन हुँदै काठमाडौंबाट पोखरा हुँदै लुम्बिनी जाने रेल सेवाको परियोजना यही प्रदेशमा पर्छ, त्यस्तै चीन, रसुवागढी, गल्छीहुँदै चितवनको ठोरी भएर भारत जोडिने त्रि–देशीय सडकमार्ग पनि यही प्रदेशमा पर्छ, त्यस्तै १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको आधा हिस्सा यही प्रदेशमा पर्छ, जुन निर्माण सम्पन्न भयो भने मुलुकको आर्थिक विकासमा ठूलो प्रभाव पर्छ।’

 

फरक प्रसँगमा उनले एमाले र माओवादी केन्द्रवीच अब छिट्टै एकता हुने विश्वास दिलाए । उनले भने,‘केन्द्रिय सरकार अबको १२ दिनभित्रै बनिसक्छ, हाम्रो अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुहुन्छ, यसमा कुनै दुईमत छैन्।’ त्यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओली बसेर नै सबै कुरा टुँगो लगाउने स्पष्ट पारे ।

पाण्डेले भने,‘हिजो प्रचण्ड र ओली नै वाम गठबन्धन गर्नुभयो, निर्वाचनमा सर्वाधिक सफलता हात पर्यो, अब उहाँहरु मिलेर नै अब पार्टी एकता गर्नुहुन्छ, उहाँहरुले ध्यान दिनुहोला। कुन मोडालिटीमा एकता गर्नुहुन्छ, त्यो उहाँहरुको हातमा छ, तर एकता हुन्छ।’

नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अबको प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने ठोकुवा गरेका छन् । उनले भने,‘सकेसम्म सरकार गठन सँगसँगै नभए एक दुई दिनपछि भएपनि पार्टी एकता हुन्छ, एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै बन्नुहुन्छ।’

नेता विडारीले दुवै पार्टीको एउटै सिद्धान्त र विचार भएकोले परिवर्तनका संवाहकद्धय नेता ओली र प्रचण्ड एक/एक पदमा बस्ने भएकोले ओली प्रधानमन्त्री बन्दा प्रचण्ड अध्यक्ष बन्ने विश्वास दिलाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =