कांग्रेस र माओवादी केन्द्रको सपथ, एमालेको बहिष्कार

किशोर खनाल, भरतपुर । भरतपुर महानगरपालिकामा एमालेबाहेक जननिर्वाचित प्रतिनिधिले सपथ लिएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट विजयी भएकी मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहलगायतले एमालेबाहेकका जननिर्वाचित प्रतिनिधिले सोमबार सपथ खाएका छन् । जिल्ला समन्वय समितिका सभाहलमा निर्वाचित भएका मेयर रेणु दाहाल र उपमेयर पार्वती शाह र वडाध्यक्षहरुलाई मुख्य निर्वाचित अधिकृत कविराज न्यौपानेले सपथ ग्रहण गराएका थिए ।

‘प्रचलित कानुनको अधिनमा रहेर मुलुक र जनताको सोझो चिताउँदै कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह र खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमान्दारीका साथ काम गर्नेछु’ भनी मेयर रेणु दाहाललगायत निर्वाचित प्रतिनिधिले सपथ लिएका थिए । जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो । सपथ लिएपछि मेयरमा निर्वाचित रेणु दाहालले साझा मेयर बनेर काम गर्ने बताइन् । उनले भनिन्, ‘म सम्पूर्ण नगरवासीको भावनको कदर गर्छु । व्यक्तिगत स्वार्थमा नलागी उत्कृष्ट नमुना महानगर बनाउन लाग्नेछु ।’

एमालेले आज सपथ लिने
नेकपा एमालले आइतबारको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको छ । मतपत्र च्यातेर विजयी हुनेहरुसँग कुममा कुम जोडेर सपथ ग्रहण नगर्ने भन्दै एमालले सपथ कार्यक्रम बहिष्कार गरेको हो । ‘जनमतको कदर नगरी मतपत्र च्यातेर जित्नेसँग कसरी एउटै मञ्चमा बसेर सपथ खाने ?’ भरतपुर–१० बाट निर्वाचित भएका एमालेका वडाध्यक्ष अरुणपीडित भण्डारीले भने, ‘हामी आज मंगलबार अलग्गै सपथ खान्छौँ र जनताको काममा लाग्छौँ ।’

एमालले आज भरतपुर–१० को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सहकारी डिभिजनको हलमा सपथ लिने भएको छ । मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले एमालेका निर्वाचित प्रतिनिधिहरुलाई सपथ खुवाउने छन् । ‘विकासका साझा कार्यक्रममा हाम्रो समर्थन हुन्छ’ १० का वडाध्यक्ष भण्डारीले भने, ‘भ्रष्टचार तथा अनियमितता, जनभावना विपरीत हुने कार्यक्रमहरुमा हाम्रो सधैँ खबरदारी रहनेछ ।’

रेणुको पहिलो निर्णय
भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहले सपथ ग्रहणपछि आइतबारै पदभार ग्रहण गरेका छन् । महानगरपालिकाका कर्मचारीहरुले मेयर उपमेयरलाई स्वागत गरेका थिए । ‘पदभारसँगै भरतपुर अस्पतालमा सम्पूर्ण महिलालाई ओपीडी टिकट निःशुल्क गर्ने निर्णय गरेका छौँ’ उपमेयर पार्वती शाहले भनिन् । उनले ६० वर्ष कटेका वृद्धवृद्धाहरुलाई पनि ओपीडी टिकट निःशुल्क गरेको जानकारी दिइन् । ‘बैठक बसेको छैन, पहिलो बैठकले हामी थप नयाँ कार्यक्रम ल्याउनेछौँ’ उपमेयर पार्वती शाहले भनिन् ।

कुन वडा कसले जित्यो
भरतपुर महानगरपालिकामा एमालेबाट ७० जना निर्वाचित जनप्रतिनिधि छन् । भरतपुर महानगरपालिका २९ वटा मध्ये १४ वटा वडा एमालेले जितेको हो । वडा २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ एमालेले जितेको हो । १२ वटा कांग्रेसले जितेको छ । ३ वटा वडा माओवादी केन्द्रले जितेको हो । कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्वर वडा जितेको हो । माओवादीले १३, २५ र २६ नम्वर वडा जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =